वीरगञ्जबाट दोब्बरले बढ्यो मोटरसाइकल आयात, साउनमा आइपुगे ७ हजार १५० थान

वीरगञ्जबाट दोब्बरले बढ्यो मोटरसाइकल आयात, साउनमा आइपुगे ७ हजार १५० थान

केन्द्रबिन्दु
98
Shares

पर्सा । वीरगञ्ज नाकाबाट मोटरसाइकल आयातमा दोब्बरले वृद्धि भएको छ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षको साउन महिनामा ४६ करोड ७७ लाख रुपैयाँका ३ हजार ५ सय ७१ थान मोटरसाइकल आयात भएको थियो । जबकि चालू आवको साउनमा भने ९४ करोड ४८ लाख रुपैयाँका ७ हजार १ सय ५० थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए ।

भन्सार नाकाले गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो । चालू आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

तर सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमि आएको छ । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका १ सय २७ थान जिप र कार आयात भएका थिए भने चालू आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताएका छन् ।

Logo