माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधका संरचनामा क्षति

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधका संरचनामा क्षति

केन्द्रबिन्दु
224
Shares

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुगेको छ ।

माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएको छ ।

बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी र बाँधबाट डिस्याण्डरसम्म पानी पुगाउने नहरमा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताए ।

गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्‍याएको अनुमान गरिएको उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । नियन्त्रण कक्षमा रहेका दुई कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा चार सय ६१ क्युमेक छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव दुई सय ५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने छ ।

शुक्रबार अपराह्न ४ बजेपछिबाट पानीको बहाव दुई सय ५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो ।

Logo