‘मेरो उम्मेदवारी विदेशीने युवालाई रोक्न हो’: जंगबहादुर मल्ल

‘मेरो उम्मेदवारी विदेशीने युवालाई रोक्न हो’: जंगबहादुर मल्ल

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । यही माघ ५ गते हुन गईरकेको १६ औं कार्य समितिको चुनावी माहोल तातेको छ । चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरु प्रचार प्रसारमा सक्रिय भएका छन् ।

चुनावको लागि उद्योग वाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्ल, वर्तमान अध्यक्ष गणेशदत्त जोशी र व्यवसायी सन्जिव चन्द्र भट्ट अध्यक्षका दावेदार मानिएका छन् ।

उनीहरुमध्ये अध्यक्ष जोशी पछि हटेको भन्ने अनुमान गरिएको छ । अब मल्ल र भट्टबीच प्रतिस्पर्धा हुने उद्योग व्यवसायीहरुको आकलन छ । २०५८ सालदेखि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहदैं आएका व्यक्ति हुन जंगबहादुर मल्ल । उनले १६ औं कार्यकारिणी समितिमा अध्यक्षको घोषणा गरिसकेका छन् ।

उद्योग वाणिज्य संघमा बसेर लामो अनुभव बटुलेका मल्ल यो पटक बलियो उम्मेदवार मानिन्छन् । तिनै मल्लसँग केन्द्रविन्दुका डेस्क प्रमुख कृष्णसिंह धामीले गरेको कुराकानीः

१) तपाईले अध्यक्षको उम्मेदवार घोषणा गर्नुभएको छ । तपाईको उम्मेदवार किन ?

युवाहरुलाई स्वरोजगारमा कन्भर्ट गर्नुपर्छ र यो क्षेत्रको समग्र विकासको लागि अब पश्चिमबाट सूर्य उदाउनुपर्छ । अब खुल्ला नाकाको सिमानालाई जोडेर हेर्नुपर्दा यहाँ उद्योगको एउटा सम्भावना हुँदाहुँदै राज्यले हामीलाई जहिल्यै पछाडि पारिएको छ । स्थानिय सरकार बलियो भईरहेको अवस्थामा अब यहाँ उद्योगमैत्री वातावरण सृजना गरेर उद्योग स्थापना गर्नुपर्छ र नीजि क्षेत्रले पहल गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

२) विगत लामो समयदेखि उद्योग वाणिज्य संघको कार्यसमिति रहेर तपाईले के–के गर्नुभयो ?

२०५८ सालदेखि अहिले सम्म वाणिज्य संघमा रहँदा विभिन्न पदको जिम्मेवारी पाएको छु । अहिले म वरिष्ठ उपाध्यक्ष भईरहँदा पनि दुईवटा अन्तर्राष्ट्रिय मेलाहरु सम्पन्न गर्न सफल भएका छौं । जो नीजि क्षेत्रको पहिलो प्रतिनिधित्व हो र कञ्चनपुरको पहिलो वाणिज्य र नेपालको नीजि क्षेत्रलाई पहिचानमा पुर्‍याएर नेपालमा लुकेर बसेका कला संस्कृतिदेखि, जडिबुटीसम्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बजारिकरण गर्न सफल भयौं ।

योसँगै कञ्चनपुरसँग जोडिएको भारतीय राज्य उतराखण्ड र त्यहाँको व्यवसायी सेक्टर र यहाँको व्यवसायी सेक्टरको समुधुर सम्बन्ध हामीले जोड्न सफल भयौं । हामीले बिगत २०५२ साल देखि कञ्चनपुर वाणिज्य संघले पहिलो एजेन्डाको रुपमा उठाईरहेको उद्योग स्थापनाको लागि पहल भईरहेको छ । त्यसको लागी भूमिको व्यवस्थापन भईसकेको छ ।

अब कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा परिमार्जित गर्नुपर्छ भनेर कुरा उठिरहेको छ । अहिले ड्राई पोर्टको कुरा अगाडि बढाएका छौं । महाकाली नदिमा पुल निर्माणको काम पनि भईरहेको छ । योसँगै अब यसलाई जैविक मार्गका रुपमा पनि विकास गरेर कञ्चनपुरको विकासतर्फ लागेका छौं ।

३) कञचनपुरलाई त्रिदेशीय नाका बनाउनुपर्ने कुरा लामो समयदेखि उठिरहेको छ । तपाईले यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

नीजि क्षेत्रले एउटा सम्भावना देखेको छ । राज्यले यसको लागि पहल गर्नुपर्छ । स्थानीय सरकार पनि जुर्मुराएको छ । हिजो दैनिक ४ घण्टा खुल्ने महाकाली नदिको पुल अहिले ७ घण्टा खुल्ने भएको छ । अब २४ घण्टाको लागि पहल गर्नेछौं । नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्न नसकेको काम कञ्चनपुर उद्योग वाणिज्य संघले गर्दै आएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले २ वटा अन्तर्राष्ट्रिय मेलाको आयोजना सम्पन्न गरेको छ । कञ्चनपुरमा छरिएर रहेका जतिपनि व्यवसायी छौं सबैलाई उद्योग क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्छौ । महाकालीको निकारै किनार भएर दार्चुलाको ताक्लाकोट जाने सडक निर्माणको लागि स्थानीय र केन्द्र सरकारसँग पहल गर्छौ ।

४) दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कुरा धेरै समयदेखि उठिरहेको छ । तपाई अध्यक्षमा निर्वाचित भए त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

२०५२ सालमा कञ्चनपुर उद्योग वाणिज्य संघले दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुनुपर्छ भन्ने माग गरेको थियो । अहिले पनि ठूलो बजेट त्यो क्षेत्रको लागि छुट्याईएको छ । २ सय ९३ विघा क्षेत्रफल छुट्याएर रेखांकन गर्ने काम पनि सकिएको छ । म निर्वाचित भएमा यो क्षेत्रफललाई बढाएर ८÷९ सय विघामा फैलाउन योजना बनाएको छु । त्यसको लागि मैले अग्रणी भूमिका खेल्नेछु ।

५) आम उद्योगी तथा मतदातासँग के आधारमा भोट माग्नुहुन्छ ?

सर्वप्रथम त उहाँहरुले अहिलेसम्म जुन विभिन्न पदमा जिम्मेवारी दिनुभएको छ । त्यो जिम्मेवारी बोध हुनेगरी काम गर्दै आएको छु । आज व्यवसायलाई नीजि क्षेत्रको प्रतिनिधित्व हुने संस्थाको मात्र राज्यसँग समन्वय हुनुहुन्न भन्ने मेरो मान्यता छ । एउटा आम सर्वसाधारण व्यक्ति, व्यवसायले पनि राज्यसँग करका कुराहरु, अनेकौ कुराहरु राख्न सक्नेगरी पहिचान गराउनुपर्छ । खुल्ला सिमानामा पहाडबाट बाहिरिने क्रम जारी छ ।

अब नीजि क्षेत्रले स्थानीय सरकारसँग सहकार्य गरेर उनीहरुलाई यहि बसेर स्वरोजगार बनाउने वातावरण बनाउँन पहल गरिनेछ । अब युवाहरुले बाहिरिनुपर्दैन् । रेमिट्यान्स भित्र्याउँदैंमा ठूलो अर्थतन्त्र आउँछ भन्ने होईन् रेमिट्यान्स यहि जन्माउनुपर्छ, यहि स्वरोजगारी बनेर व्यवसायी बन्नुपर्छ । कञ्चनपुरको पहिचान भनेकै स्वरोजगारमुखी पहिचान हो । अब हामीले धार्मिक पर्यटकीय, जडिबुटी, लगायतको प्रचुर सम्भावनाहरु छन्, जसलाई हामी यो क्षेत्रमा प्रोत्साहन गर्ने काम गर्छौ ।

Logo