तीन वर्षभित्रमा छालाजन्य वस्तुमा नेपाल आत्मनिर्भर हुने

तीन वर्षभित्रमा छालाजन्य वस्तुमा नेपाल आत्मनिर्भर हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल छालाजन्य वस्तुमा आत्मनिर्भर हुने बताउनु भएको छ ।

पुस १३ गतेदेखि भृकुटीमण्डपम शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै उहाँले मागको ६० प्रतिशत अहिले नै धान्ने गरेकाले आगामी तीन वर्षभित्र सबै माग धान्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले हरेक सरकारी कार्यालय तथा संस्थान र सरकारी विद्यालयमा काम गर्ने कर्मचारी र विद्यार्थीलाई अनिवार्यरुपमा नेपाली जुत्ता प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । आयुक्त बाँस्कोटाले ७५३ वटै स्थानीय तहले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत हरेक वर्ष बजेटमा नै छालाजन्य वस्तु उत्पादनका लागि युवाका लागि तालीम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुयाँलले उक्त व्यवसाय प्रवद्र्धनका लागि सरकारले निर्माणको लागि कच्चापदार्थ उत्पादन र निर्माणका लागि नयाँ प्रविधि ल्याउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

मेलाको मुख्य उद्देश्य अर्थ सङ्कलन गर्नुभन्दा पनि स्वदेशमा उत्पादन भएका छालाजन्य वस्तुका बारेमा नागरिकलाई जानकारी गराउनु रहेको आयोजक संस्थाले जानकारी गराएको छ । बिहीबारसम्म रहने मेलामा राखिएका जुनसुकै सामग्री खरीद गर्दा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । नेपालमा ३५ अर्बका छालाजन्य वस्तुको कारोबार हुने गरेको छ । अहिले एक हजार ५०० छाला जुत्ताका उद्योग सञ्चालनमा छन् ।
रासस

Logo