ऊर्जा मन्त्रीसँग एडिबी प्रतिनिधिमण्डलको भेटवार्ता, विभिन्न आयोजनाका विषयमा छलफल

ऊर्जा मन्त्रीसँग एडिबी प्रतिनिधिमण्डलको भेटवार्ता, विभिन्न आयोजनाका विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक(एडिबी)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा एडिबीको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेका विभिन्न आयोजनाका विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ।
 
एडिबीका देशीय निर्देशक अर्नाउड काउकोजस्को नेतृत्वको  प्रतिनिधिमण्डलले जलस्रोत र सिँचाइका विभिन्न तटबन्ध निर्माण, राजपुर सिँचाइ आयोजना र जलस्रोत ऐनका विषयमा चासो राखेको थियो। ती आयोजनाको खर्चका बारेमा चासो राख्दै देशीय निर्देशक अर्नाउडले कोभिडका बाबजुद पनि राम्रो काम भएको र अझै छिटो काम सकाउन आग्रह गरेको थियो।
 
त्यसैगरी वाग्मती नदी सुधार परियोजनाको बाँध निर्माणसम्बन्धी विषयमा मूल कुरा उठाएको र जलस्रोत ऐन चाँडो बनाउन पनि आग्रह गरेको थियो। बैंकको सहयोगका नै शिवपुरीमा प्राकृतिक जलाशय निर्माण भइरहेको छ। विदेशी निकायले सहयोग गर्ने आधारका लागि पनि सो ऐन आवश्यक भएको एडिबीको भनाइ थियो। ऐन निर्माणका लागि थप प्राविधिक सहयोग आवश्यक परेकामा आफूहरू सहयोग गर्न तयार गरेको प्रतिनिधिमण्डलले बताएको थियो। त्यसैगरी ऊर्जातर्फ ऊर्जा ऐन, प्रशारण लाइन निर्माण, ठूला जलाशय आयोजनाका विषयमा पनि एडिबीले चासो राखेको थियो।
 
जवाफमा मन्त्री भुसालले ऐन निर्माणमा आफूहरू सक्षम रहेको उल्लेख गर्दै भनिन्, “जलस्रोत ऐन हामी आफैँ बनाउँछौँ।” उनले जलस्रोत ऐनको मस्यौदा तयार भइरहेको र जलविद्युत् ऐन संसदमा रहेको उल्लेख गर्दै उनले ऊर्जा तथा सिँचाइ क्षेत्रको विकासका लागि आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सहयोग आवश्यकताका आधारमा नेपालेले प्रस्ताव गर्ने स्पष्ट पारिन्। सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।

Logo