सफल उद्यमी बन्दै महिलाहरूः भन्छन्, ‘घरव्यवहार चलाउन श्रीमानकै भर पर्नु पर्दैन’

सफल उद्यमी बन्दै महिलाहरूः भन्छन्, ‘घरव्यवहार चलाउन श्रीमानकै भर पर्नु पर्दैन’

केन्द्रबिन्दु
0
Shares

चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरू उद्यमी बन्ने क्रम बढ्दो छ। केही महिलाहरू उद्यम गरेर आत्मनिर्भर भई अहिले सम्मानपूर्वक जीवन व्यतित गरिरहेका छन्।

उदाहरण बनेकी छिन्–लमजुङको क्होलासोंथर गाउँपालिका–३ कि पार्वती गुरुङ। विशाल अल्लो तथा ढाका उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गरेकी पार्वती विगत नौ वर्षदेखि अल्लो तथा ढाका उद्योग सञ्चालन गर्दै आएकी छन्। पार्वती हाल सफल उद्यमी मात्र बनेकी छैनन्, थप ६ जनालाई रोजगारसमेत दिएकी छन्।

लमजुङको सदरमुकामस्थित अल्लो तथा ढाका उद्याेग व्यवसाय सञ्चालन गदै आएकी पार्वती मासिक ६०/७० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछिन्। घरेलु तथा साना उद्योगमार्फत तीन महिना अल्लोको कपडा र ढाकाको कपडा बुन्ने तालिम सिकेकी पार्वती यसै व्यवसायमार्फत सफल उद्यमी बनेको बताउँछिन्। 

‘घरव्यवहार चलाउन श्रीमानकै भर पर्नु पर्दैन,’ उनले भनिन्, ‘सीप सिक्दा आत्मनिर्भर बन्ने बाटो खुलेको हो।’ वनमा खेर गइरहेको अल्लोलाई सदुपयोग गरेको उनले बताइन्। 

कक्षा ५ सम्म अध्ययन गरेकी पार्वतीले आफू आत्मनिर्भर भएपछि अरुको भर पर्नु नपर्ने र सम्मानपूर्वक जीवन व्यतित गर्ने सकिने बताइन्। पार्वती जस्तै बेसीशहर नगरपालिका ८ कि पुन्यकुमारी सिलवाल पनि सफल उद्यमी बनेकी छिन्। 

उनले सिलवाल हस्तकला तथा झिलिङ्गा उद्योग दर्ता गरी व्यवसाय सञ्चालन गरेकी छन्। उनी सिलाइकटाइ व्यवसायमार्फत आत्मनिर्रभर र सफल उद्यमी बनेको बताउँछिन्।

सानैबाट सिलाइकटाइ व्यवसायी बन्ने सोच बनाएकी सिलवाल अहिले सफल उद्यमी बनेकोमा गर्व महसुस हुने बताउँछिन्। ‘अहिले मासिक २५ हजार रुपैयाँसम्म कमाउँछु, सजिलै घर व्यवहार चलाएकी छु’, उनले भनिन्। उनले घर व्यवहारमात्र चलाएकी छैनन्, एकल महिला, असहाय र गरिब १३ जनालाई रोजगारीसमेत दिएको बताउँछिन्। उनी पनि घरेलु तथा साना उद्योग विकास समितिले दिएको तालिमबाट आफू उद्यमी बनेको बताउँछिन्।

यी प्रतिनिधी पात्रहरू हुन्। पछिल्लो समयमा थुप्रै महिलाहरू सफल उद्यमी बनिरहेका छन्। जागिरभन्दा उद्योग सञ्चालन गर्न कम शिक्षाले पनि सजिलै गर्न सकिने भएका कारण पनि उद्यम प्रति महिलाहरूको आर्कषण बढ्दो छ। 

उनीहरूमात्र होइन सुन्दरबजार नगरपालिका ६ मा कालिका आमा समूह ढाका उद्योग दर्ता गरी पाँचजना महिलाको समूहले एक वर्षदेखि व्यावसायिक रूपमा ढाका उद्योग सञ्चालन गरेका छन्। 

उनीहरूले सञ्चालन गरेको उद्योगबाट हाल १० जना महिलाले रोजगार पाएका छन्। ‘मासिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ’, समूहकी धनकुमारी गुरुङले भनिन्। उनले घरेलुले ढाका बुन्ने तालिमसँगै सात थान तान प्राप्त गरेको बताइन्।

Logo