एक दशकपछि नयाँ एल्बम ल्याउँदै कर्मा ब्याण्ड

एक दशकपछि नयाँ एल्बम ल्याउँदै कर्मा ब्याण्ड

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एल्बममा आठ गीत हुनेछन् ।

यस एल्बममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ ।

कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिरहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत(सिइओ) विजय अधिकारीका अनुसार व्याण्डको एल्बमको गीतहरुको रेकर्ड पुरा गरेर हाल धमाधम भिडियो निर्माणको काम भइरहेको छ । ‘भिडियो निर्माणको काम सकेपछि औपचारिक रुपमा एल्बम सार्वजनिक गर्नेछौं’, उनले भने ।

कर्माको ‘हेर’ छैटौं एल्बम हो । यसअघि ब्याण्डले सन् १९९९ मा पहिलो एलबम ‘सहर तिम्रो’, सन् २००० मा दोस्रो एलबम ‘हुक्का’, सन् २००३ मा ‘एसएमएस’, सन् २००७ मा ‘कर्मा’ र सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम बजारमा ल्याएको थियो ।

केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको ब्याण्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ । ‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा श्रोताहरूले मनपराउनुभएको छ,’ ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । त्यसकारण श्रोता तथा दर्शकहरूमाझ पुग्न यसपटक नयाँ एलबम ल्याउँदैछौं ।’

ब्यान्डको ‘हुक्का मेरो’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’ गीत हिट छन् । ब्याण्डले गत वर्ष ‘कारबारी छाता’ सार्वजनिक गरेको थियो । ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्राचार्य र रिग्जिन वाङ्देल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले छन् ।

Logo