वर्ष २०८०ः चलचित्रको पर्दामा देखिएका नयाँ अनुहार

वर्ष २०८०ः चलचित्रको पर्दामा देखिएका नयाँ अनुहार

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । वर्ष २०८० मा नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार देखिए । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि यो वर्ष केही नयाँ कलाकारले सम्भावना देखाएका छन् ।

यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गरे । व्यावसायिक रुपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारका रुपमा हेरियो । आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलो पटक निर्देशक विकासराज आचार्य यसपटक भने असफल भए ।

असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा अभिनेत्री प्रमिला कार्की उदाइन् । टेलिभिजनकर्मीका रुपमा परिचित अभिनेत्री कार्की पनि स्थापित कलाकार सरोज खनाल, करिश्मा मानन्धरसँगै पर्दामा देखिएका थिए । अभिनेता खनालले नै निर्देशन गरेकाे चलचित्रले स्वदेश र विदेशको प्रदर्शनमार्फत लगानी सुरक्षित गरेको निर्माण पक्षको दाबी छ ।

अभिनेत्री कार्कीले कलाकार नै निर्देशक हुँदा आफ्नो यात्रा सुरुआत सहज भएको बताइन् । “टेलिभिजनमा काम गरेका पनि क्यामेरासँग सहज थिएँ, अभिनयलाई गर्ने तरिका कलाकारकै शैलीमा बुझेपछि मैले पात्रलाई अपनाए, त्यसपछि मलाई निकै सहज भयो”, उनले भनिन् ।

मङ्सिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गरे । अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेसनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत हुन् । अभिनेत्री गिरी मोडलिङ हुँदै चलचित्रको पर्दामा आइपुगेकी हुन् ।

“अभिनयलाई सरल रुपमा लिनु हुन्न भन्ने मैले महसुस गरे, यहाँ मेहनत निकै आवश्यक छ”, अभिनेत्री गिरीले भनिन्, “आफ्नो अभिनयबाट दर्शकको मन जित्न मैले सक्दो कोसिस गरेकी छु, मैले पाइरहेको प्रतिक्रिया निकै सकारात्मक छ ।”

माघे सङ्क्रान्ति लक्षित गर्दै पुसको अन्तिम साता प्रदर्शन गरिएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गरे । दीपक श्रेष्ठले निर्देशन गरेकाे चलचित्रमार्फत सुरुआत गर्न पाउँदा उनीहरू दुवै हर्षित छन् । मण्डला नाटकघरबाट चलचित्रमा आइपुगेका अभिनेता श्रेष्ठले अन्य केही चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

“पहिलोपटक पर्दामा देख्न पाउँदाको अनुभव व्यक्त गर्न सक्दिन, यो समयका लागि मैले सङ्घर्ष गरेको छु, यो अवसरमार्फत मैले अन्य मौका सृजना गर्ने कोसिस गरेको छु”, अभिनेता श्रेष्ठले भने, “आफूभन्दा अग्रज कलाकारसँग अभिनय गर्दा सुरूमा केही असहजता भएको थियो, उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरे ।”

पुसमै प्रदर्शन भएको चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरु गरे । यद्यपि उनलाई व्यावसायिक रुपमा सफलता प्राप्त भएन । फागुनको दोस्रो साता प्रदर्शन गरिएको चलचित्र ‘गोर्खा वारियर’ मार्फत अभिनयको सुरुआत गर्नुभएका रितेश चाम्स पूर्व सैनिक पनि हुन् ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्रमा अभिनय गर्ने कलाकार सैनिक देखिनुपर्ने भएकाले अभिनेता चाम्सलाई अवसर दिएको निर्देशक मिलन चाम्सले बताए ।

उनले भने, “रितेश आफैँमा अभिनय सिकिरहनुभएको कलाकार हो, उहाँलाई लिएपछि मैले सैनिक देखाउन मेहनत गर्नु परेन, उहाँले ब्रिटिस सेनामा हुँदा युद्ध नै लडिसक्नुभएको छ, उहाँको भविष्य अन्य पात्रमा पनि उज्ज्वल नै छ ।” चलचित्र वितरक करण श्रेष्ठले वितरण गरेका अधिकांश चलचित्रमा नयाँ अनुहार छन् । नयाँ चलचित्रका बारेमा सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाह्रो नहुने होइन । यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने वितरक श्रेष्ठले बताए ।

“नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो, त्यसैले उनीहरूलाई सघाउनै पर्छ, म नयाँ अनुहार भएका चलचित्रकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु, यसले चलचित्रसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ”, वितरक श्रेष्ठले भने, “चलचित्र भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्वपूर्ण भएता पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ ।”

जोखिम उठाउन चाहने चलचित्रकर्मीले नयाँ अनुहारलाई लिएको पाइन्छ । किनकि स्थापित अनुहारले केही हदसम्म लगानी सुरक्षित गर्न मदत गर्ने विश्वास छ । यस वर्ष पर्दामा देखिएका नयाँ अनुहारले अभिनयमा सम्भावना देखाए पनि अधिकांशले निर्माताको लगानी सुरक्षित गर्न सकेनन् । यद्यपि जोखिम नमोल्ने हो भने नयाँले अवसर पाउँदैनन् ।

आउँदो वर्ष विसं २०८१ मा चलचित्र ‘११ः५५’ मार्फत सागर खनाल, चलचित्र ‘फर्की फर्की’ मार्फत रवि काफ्ले र समृद्धि अर्याल, चलचित्र ‘बलिदान’ मार्फत अभिनेता विराज भट्टका छोरा समीर भट्टलगायत सम्भावना बोकेका नयाँ अनुहारले अभिनयमा पाइला टेक्दै छन् । उनीहरूले पाएको अवसरलाई निरन्तरता कसरी दिन्छन् यो भने आउँदो समयले नै थाहा दिनेछ ।

Logo