यस्तो छ प्रधानमन्त्रीको कोरोना भविष्यवाणी, कहिले के हुन्छ ? (भिडियाेसहित )

यस्तो छ प्रधानमन्त्रीको कोरोना भविष्यवाणी, कहिले के हुन्छ ? (भिडियाेसहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले आगामी फागुन सम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन् ।

राष्ट्रियसभाको विहिबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले फागुनसम्ममा नेपालमा कोरोना नियन्त्रण हुने बताएका हुन् । उनले श्रावण महिनाको अन्त्य तिर कोरोना संक्रमणको दर उच्च विन्दुमा पुग्ने र त्यसपछि ओरालो लाग्ने बताए । उनले दशै, तिहार र छठ जस्ता चाडले संक्रमण बढाउने खतरा रहेकाले मंसिर महिनापछि फेरी संक्रमणको दर बढ्ने भएकाले पूर्ण नियन्त्रणमा आउन फागुन सम्म लाग्ने बताए ।

कोरोनाको आतंंकले मान्छेलाई डिप्रेशनमा लैजान सक्ने भएकाले आतंकित नभई सर्तक हुन पनि उनले आग्रह गरे । उनले लकडाउनको समयमा आत्महत्याका घटना बढ्नुमा कोरोनाको योगदान रहेको टिप्पणी गरे । कोरोनाका कारण उत्पन्न विभिन्न परिस्थितिका कारण मान्छेहरु डिप्रेशनमा गएको बताएका प्रधानमन्त्रीले नेपालीहरुमा रोग प्रतिरोधी क्षमता बढी भएको भन्दै उपचार पद्धतिको साथै केही टिप्स पनि दिए ।

उनले उपचार विधि र प्रतिरोध क्षमता आदिको कारणले कोरोनाका कारण निधन हुनेको संख्या निकै कम भएको र संक्रमणको दर पनि अन्य देशको तुलनामा नेपालको स्थिति राम्रो रहेको बताए । उनले नेपालमा प्रति १० लाखमा ० दशमलब ७ प्रतिशत संक्रमित रहकोे बताए । उनले संक्रमितहरु बढ्दै गएको देखिए पनि समुदायमा संक्रमण कमी नै रहेको बताए । उनले नेपालमा बाहिरबाट आउनेको संख्यासँगै संक्रमित भएर आउनेहरुको संख्या पनि ठूलो भएकाले एकै पटक उनीहरुको व्यवस्थापन गर्नु कम चुनौतिपूर्ण नभएको बताए । उनले चैतदेखि भारतबाट नेपाल आउने नागरिकहरुको संख्या नै बढी भएकाले समस्या भएको बताए । उनले ठूलो संख्यामा बाढी जसरी आएकाका लागि व्यवस्थित क्वारेन्टाइन र तत्काल परीक्षण लगायतको व्यवस्था मिलाउनु चुनौतिपूर्ण कार्य रहेको बताए ।

प्रधानमन्त्रीले सदनलाई गराएको जानकारी अनुसार , चैत महिनामा १२ हजार ६ सय ५७ जना र बैशाखमा ११ हजार ७ सय ९९ , जेठमा २ लाख ४१ हजार ८ सय ६२ जना नेपाल आएका छन् । त्यसैगरी असार ३ गते सम्म ७ हजार बढी नेपाल आएका छन् । असार १ गते १ हजार ४ सय १० जना , २ गते ४ हजार ८० जना र ३ गते २ हजार १२ जना नेपाल आएका हुन् । विदेशमा रहेका नेपालीलाई ल्याउन सजिलो नभएको भन्दै उनले हल्लाका पछाडि नलाग्न आग्रह गरे ।

जेठ २१ देखि असार १ गतेसम्म भारत वाहेकका विभिन्न मुलुकबाट १ हजार १ सय १७ जनालाई नेपाल ल्याईएको जानकारी उनले दिए । प्रधानमन्त्रीले सदनलाई गराएको जानकारी अनुसार, जापानबाट १३ जना , मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, युएईबाट १ सय ६९ जना अष्ट्रेलियाबाट ११ जना, कुवेतबाट ४ सय ४८, अफगानिस्तानबाट १८ जना, बंगलादेशबाट २ सय ५८ जना , हङकङबाट ७ जना , ओमनबाट १ सय ६६ जना ल्याईएको हो । १ हजार १ सय १७ जनालाई क्वारेन्टाईन बनाउनु पनि सहज विषय नभएको उनले बताए । उनले क्वारेन्टाइन, आइसोलेसन र अस्पतालमा बस्नेहरुको विवरण पनि दिए ।

काम छोडेर हिसाब किताब

प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न छोडेर हिसाबकिताव खोजेर बस्ने गरेको भन्दै प्रतिपक्षी दलप्रति परिस्थिति प्रति गम्भीर नबनेको आरोप लगाए । उनले केही मान्छेहरु असहज अवस्थामा काम गर्नेहरुको प्रशंसा गर्नु भन्दा १÷ १ रुपैयाँको हिसाब किताब खोजेर बस्ने गरेको बताएका हुन् । असहज परिस्थितिमा जनप्रतिनिधिहरुले निकै दुखका साथ कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका कामहरु गरेकोमा गुन मान्नुको सट्टा अपमान र आलोचना गर्ने गरिएको गुनासो गरे ।

उनले सरकारले जे गर्दा पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता देखिएको उल्लेख गर्र्दै देश पीडीत भएका बेला पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तालाई कडा सजायँ गरिने प्रतिवद्धता दोहोर्याए ।

इनअफ इज इनअफ के हो त्यो ?

प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रण र रोकथाम प्रभावकारी नभएको, सामना खरिदमा भ्रष्टाचार भएको तथा परीक्षण सम्बन्धी सरकारको कार्यनीतिको विरोधमा हुदै आएको विरोध प्रर्दशन प्रति पनि कटाक्ष गरे ।

रुकुम घटना

उनले रुकुमपश्चिमको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने काम भएको भन्दै सो घटनालाई लिएर सरकारको आलोचना गर्नुपर्ने अवस्था नरहेको बताए ।

क्वारेन्टाइनमा महिला बलात्कार हुनु

प्रधानमन्त्री ओलीले सुरक्षार्थ राखिएकै बाट क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार हुनु निन्दनीय घटना भएको भन्दै घटनामा संलग्नलाई हदै सम्मको कारवाही गर्ने प्रतिवद्धता जनाए । सुरक्षाका लागि खटिएकै बाट कुकर्म भएको भन्दै उनले अक्षम्य घटनाका दोषीलाई क्षमा गर्न नसकिने बताए ।

प्रधानमन्त्री आफै शक्तिशाली

उनले प्रधानमन्त्री आफैमा शक्तिशाली भएकाले कुनै विभाग ल्याएर थप शक्ति केन्द्रीत गर्नु आवश्यक नरहेको स्पष्ट पारे । उनले प्रधानमन्त्री कार्यालय मातहत कुनै पनि शिर्षकमा अनुपयुक्त बजेट विनियोजन नगरिएको स्पष्ट पारे । उनले विगत २ बर्षमा सरकारले असाधारण र अभूतपुर्व प्रगती गरेको पनि दोहोर्याए ।

राष्ट्रिय एकताका लागि धन्यवाद

उनले राष्ट्रियसभाले अतिक्रमित भुभाग समेटीएको नक्सा अनुसार निशान छाप संशोधनका लागि सरकारले ल्याएको संविधान दोश्रो संशोधन विधेयकमा व्यापक राष्ट्रिय सहमति र एैक्यवद्धता देखिएकोमा धन्यवाद दिए । राष्ट्रिय महत्वको विषयमा सदनले देखाएको अभूतपुर्वक एकताले देशलाई परेको बेला नेपाल र नेपालीहरु एक ठाउँमा उभिन्छन् भन्ने संदेश दिएको उल्लेख गरे ।

Logo