प्रदेश ५ समाचार : अर्घाखाँचीमा क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ

प्रदेश ५ समाचार : अर्घाखाँचीमा क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची ।
जिल्लाको भूमिकास्थानको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान–१ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेकाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गथ जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

यस्तै जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए ।

रुकुमपूर्व कोरोना सङ्क्रमणमुक्त
स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि (रुकुमपूर्व) कोरोना सङ्क्रमणमुक्त भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए।

दाङमा कोरोना संक्रमण तीव्र
दाङमा मंगलबार थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती प्रतिष्ठानमा गरिएको परीक्षणमा यहाँका ४६ पुरुष र १० महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ ।

पुष्टि भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यससँगै जिल्लाभर २४३ जनामा सङ्क्रमण भएको छ । प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै चार हजार आठ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ ।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टाइनमा खटिएका भान्छे र स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्युठानमा थप २० मा कोरोना
प्युठानमा मंगलबार थप २० व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १९ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्कल श्रेष्ठले बताए। सङ्क्रमितलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन केन्द्रमा राखिने जनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमित ५५ जना पुगेका छन् ।रासस

Logo