बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने वृद्धि

बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै तिलगङ्गा आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्न थालेको छ । गत सातासम्म दैनिक १५० जनाको हाराहारीमा अस्पताल आउने गरेकामा यो सङ्ख्या अहिले २५० पुगेको छ ।

बन्दाबन्दीले यातायात साधनको अभावमा धेरै जना अस्पताल आउन नसके पनि अहिले निजी सवारीसाधन खुलेकाले अस्पतालमा आउनेको सङ्ख्या बढेको अस्पताल निर्देशक डा रोहित सैँजुले बताए । अस्पतालले अपेक्षा गरे अनुसार भने सङ्ख्या बढिसकेको छैन । उपत्यकामा पनि आफ्नो साधन नभएकाहरु आउन सकेका छैनन् । उनले भने, “अहिलेसम्म जटिल अवस्थाका बिरामी मात्रै आइरहेका छन् ।”

सामान्य अवस्थामा काठमाडौँ उपत्यका भन्दा बाहिरबाट बढी बिरामी आउने गरेका थिए । अहिले बाहिरबाट आउन नसकेकाले बिरामी कम भएको हुन सक्ने निर्देशक सैँजुले बताए । उपत्यका बाहिरबाट जटिल अवस्थाका बिरामी एम्बुलेन्सबाट आइरहेका छन् । सामान्य अवस्थामा सबैभन्दा बढी तराईबाट बिरामी आउँथे । उनले भने, “तराईमा जनसङ्ख्या बढी भएकाले होला बिरामी पनि त्यहींबाट आउने गरेका छन् ।” अस्पतालले बन्दाबन्दीमा यहाँ कार्यरत २० विशेषज्ञको टेलिफोन नम्बर उपलब्ध गराएको छ । कुनै बिरामीले पहिले समस्या हुँदा सोही नम्बरमा सम्पर्क गरेर आइरहेको निर्देशक डा सैजुले बताए। कतिपय बिरामीले पहिले औषधि खाइरहेकामा त्यसलाई थप गर्ने कि नगर्ने भनी टेलिफोनबाट सल्लाह दिइने उनले बताए । उनले भने, “अहिले पनि आठदेखि १० जनाले टेलिफोनबाटै परामर्श लिइरहेका छन् ।”

अस्पतालमा बन्दाबन्दीको समयमा शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात कुनै समस्या आइपरेका बिरामी आउने गरेका थिए । बन्दाबन्दी शुरु हुनासाथ परिवार नै आँखा जचाँउन आउँदा अस्पतालमा भीडभाड भएको निर्देशक डा सैँजुले बताए । सबैको बिदाको समय भएकाले त्यसको सदुपयोग गरेर आँखा जचाँउन आउने धेरै थिए । कोभिड–१९ सङ्क्रमण फैलिने हुनाले अस्पतालले यसलाई कम गरेको उनले बताए ।

सामान्य अवस्थामा अस्पतालमा दैनिक ६० देखि एक सय जनासम्मको शल्यक्रिया हुन्छ । अहिले त्यो सङ्ख्या पाँच छ जना मात्रै रहेको छ । टेलिफोनबाट समस्या सुनेर सल्लाह दिँदा चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको छ । अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउनु पर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ ।रासस

Logo