सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका नागरिक

केन्द्रबिन्दु
0
Shares

धनगढी,

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये झण्डै ९२.८५ प्रतिशत नागरिक भारतबाट फर्किएका रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये दुईजनाको मृत्यु र २६ जना निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीका अनुसार सङ्क्रमितमध्ये २३४ जना भारतबाट फर्किएकाहरुमा देखिएको छ ।

त्यसैगरी सुदूरपश्चिममा भारतबाट बाहेक एकजना दुबईबाट फर्किएका धनगढीका युवकमा यहाँ पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् । “अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारी चालकमा समेत सङ्क्रमण देखिएको छ” निर्देशनालयका तथ्याङ्क सहायक गिरीले भने, “सङ्क्रमितमध्ये ९२.८५ प्रतिशत भारतबाट फर्किएकाहरुमा देखिन्छ ।”

त्यसैगरी सुदूरपश्चिम घर भई अन्यत्र जिल्लामा रहेकाहरुमा समेत कोरोना सङ्क्रमण देखिएर यहाँ उपचार भइरहेको छ । “डडेल्धुराका एक कर्मचारी, एक कैलालीका वडाध्यक्ष, बाँके, काठमाडौँ, वीरगञ्ज र इटहरीबाट आएका एक÷एकजनामा समेत सङ्क्रमण देखिएको छ” उनले भने, “सङ्क्रमितहरुको उपचार भइरहेको छ ।”

भारतबाट आएर कोरोना सङ्क्रमण पुष्टि हुनेमा अधिकांश यहाँका क्वारेन्टाइनमै बसेको अवस्थामा देखिएको छ । यहाँका ८८ वटा स्थानीय तहमा सञ्चालनमा रहेको क्वारेन्टाइनमा नौ हजार ९४७ महिला र ४९ हजार ४८५ पुरुष गरी ५९ हजार ४३२ जना रहेका छन् । शनिबारसम्म सुदूरपश्चिम प्रदेशको कैलालीमा ८३, कञ्चनपुरमा ५४, डडेल्धुरा ३९, बाजुरा २०, अछाम १५, बझाङमा १४, दार्चुलामा १२, डोटीमा नौ र बैतडीमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी तोकिएको समयसम्म क्वारेन्टाइन बसेर सुदूरपश्चिमबाट २२ हजार ७८ जना घर फर्किएका छन् । गत चैत महिनामा सुदूरपश्चिमका नाकाहरुबाट भारतबाट एक लाख ४३ हजार नागरिक स्वदेश फर्किएका थिए भने जेठ महिनामा एक लाख १० हजारभन्दा बढी नागरिक भारतबाट फर्किएको स्थानीय प्रशासनको भनाइ छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट जेठमा २८ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका मध्ये अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । “भारतबाट आउनेहरुको सीमामा लगत सङ्कलन गर्नाका साथै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने विषयमा हामीले समन्वय गरिरहेका छौँ” कञ्चनपुरका सहायक प्रजिअ गोकर्णप्रसाद उपाध्यायले भने, “भारतबाट आउनेको सङ्ख्या घटिरहेको छ ।”

त्यसैगरी कैलालीको त्रिनगर भन्सारबाट जेठमा ८५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । यहाँबाट भित्रिनेहरु भारतको विभिन्न स्थानबाट मजदूरी गरेर फर्किनेहरु बढी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी यहाँको पहाडी जिल्ला दार्चुला र बैतडीको सीमा क्षेत्रबाट पनि भित्रिने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म परीक्षणको दायरा पनि साँघुरो नै रहेको छ । यहाँ पिसिआर विधिबाट आठ हजार ६७८ जनाको कोरोना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा बसिरहेकाहरुले १४ दिन पूरा गरिसक्दा पनि सङ्क्रमण जाँच नहुँदा आक्रोश व्यक्तसमेत गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण उच्च माविमा क्वारेन्टाइन बसिरहेका लक्ष्मण चौधरीले समयमा जाँच हुनुपर्ने बताए । “लालाबालासहित परिवारकै १६ जना भारतको गुजरातबाट आएर यहाँ क्वारेन्टाइन बसिरहेका छौँ”, उनले भने, “यहाँ त अरू व्यवस्थापन त परै जाओस् लामखुट्टेले टोकेर हैरान बनाएको छ । यसैले अर्को रोग लाग्ला भन्ने डर छ ।” नगरपालिकाभित्र आरडिटी पोजेटिभ देखिएका सबैलाई यहाँ ल्याएर राखिरहेकाले खाना, पानी सबै एउटैमा हुँदा सङ्क्रमणको जोखिम झन् बढेको उनको भनाइ छ ।

क्वारेन्टाइनबाट कोरोना परीक्षण नगरी घर पठाइएका ११ जनामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा सङ्क्रमण देखिएको थियो । लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकले परीक्षणका लागि किट अभाव रहेको बताए । उनले गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए।रासस

Logo