गण्डकी प्रदेशमा १९९ जना कोरोना सङ्क्रमित, १६ जना निको भए

गण्डकी प्रदेशमा १९९ जना कोरोना सङ्क्रमित, १६ जना निको भए

केन्द्रबिन्दु
0
Shares

कास्की ।
गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।

सङ्क्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।

१६ जना निको भए

प्रदेशमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । शनिबार नवलपरासीस्थित मध्यविन्दु अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कावासोती नगरपालिका–१२ का २६ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी बागलुङको धवलागिरि अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–३ का २१ वर्षका दुई पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशक शर्माले जानकारी दिए। काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार गरिरहेका पोखरा महानगरपालिका–८ का ६० वर्षका एक पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको सङ्क्रमण पुष्टि भई उपचार गराइरहेका गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ का २५ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ ।

स्याङ्जाका एक सङ्क्रमितको भने पोखरामा उपचारको क्रममा गत हप्ता मृत्यु भएको थियो । प्रदेशमा आठ हजार १५० को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकामा पाँच हजार ४३१ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये दुई हजार ५२२ को नतिजा आउन बाँकी रहेको बताइएको छ ।रासस

Logo