कोरोनाबाट नेपालभर मत्यु हुनेको संख्या १९ पुग्यो, गुल्मीमा थपिए एक जना

कोरोनाबाट नेपालभर मत्यु हुनेको संख्या १९ पुग्यो, गुल्मीमा थपिए एक जना

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।
गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालभर मत्यु हुनेको संख्या १९ पुगेकाे छ ।

उनी जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यस लगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए । उनलाई थप उपचारका लागि बुटबल लैजानु पर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो ।

जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन् । अझै विभिन्न क्वारेन्टाइनमध्ये रेसुङ्गा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा एक, एक सङ्क्रमित छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।रासस

Logo