नेपालमा आज थपिए ४४८ कोरोना संक्रमित, कूल संख्या ५,०६२ पुग्यो

नेपालमा आज थपिए ४४८ कोरोना संक्रमित, कूल संख्या ५,०६२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । आज ४ सय ४८ जना थपिएका छन् । बिहिबार २ सय ५० जना नयाँ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ८७७ पुगेको छ । आज १६ जना निको भएका छन् । विहिबार १८७ जना निको भएका थिए । मृत्यु भएकाको संख्या १६ रहेको छ । विहिबार कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीका ५७ वर्षिय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो । जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो ।

जेठ २९ मा भैरहवामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको अर्घाखाँचीमै अन्त्यष्टि गरिने जनाइएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । प्रवक्ता गौतमका अनुसार शुक्रबार एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो । जसमा ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् । विराटनगर अस्पतामा गरिएको परीक्षणमा ९, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १०, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ८ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१, कोसी अस्पतालमा गरिएको परीक्षणमा १७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा ८, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङमा ८, प्रदेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा कोरोना पुष्टि भएको छ । भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ४१ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ९ सय २५ र आरडीटी विधिबाट ९ हजार ९ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख २१ हजार ८ सय ६२ र आरडीटी विधिबाट १ लाख ८८ हजार ५२ परीक्षण गरिएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख ५८ हजार ५० जना रहेका छन् भने आइसोलेसनमा ४ हजार १ सय ६९ जना रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म देशभर ८ सय ७७ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशका ७२ जिल्लामा संक्रमण पुष्टि भएकाे छ ।

Logo