डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

केन्द्रबिन्दु
0
Shares

डोटी ।
जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्डमा रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ ।

अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताए । उनले भने, “सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।”

सङ्क्रमित युवकलाई जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो । दुवैको नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ ।

नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौँ लगियो

यसैबीच दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ ।

उनी भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ता अघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ ।

चिकित्सकको सल्लाह अनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए।रासस

Logo