के नेपालीहरुमा रोग प्रतिरोधी क्षमता साँच्चै बलियो हो त ? यसो भन्छन् विज्ञहरू

के नेपालीहरुमा रोग प्रतिरोधी क्षमता साँच्चै बलियो हो त ? यसो भन्छन् विज्ञहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) ले यतिबेला विश्वलाई आतंकित बनाएको छ । यसको संक्रमणको कारणले दिनप्रतिदिन मृत्यु हुनेहरु पनि बढिरहेका छन् । कोरोनाले यतिबेला विश्वका आर्थिक तथा स्वास्थ्य क्षेत्रमा बलिया र शक्तिशाली मानिएका देशहरुमा नै नियन्त्रण भन्दा बाहिर गएर भयावह स्थिति आएको छ भने कतिपय मुलुकले यसको रोकथाम गर्न सफल पनि भएका छन् ।

यो महामारीबाट नेपाल पनि अछुतो छैन । कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा पनि करिब तीन महिनादेखि लकडाउन रहेको छ तर पनि पछिल्लो १५ दिनदेखि दिनप्रतिदिन कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । यसरी बढ्दै जानुमा पछिल्लो समय भारतमा काम गर्ने नेपाली नागरिकहरु नेपालमा भित्रिनु रहेको छ । भारतमा यति बेला कोरोना रोकथाम तथा नियन्त्रण भन्दा बाहिर जान लागेकाले खतरा बढिरहेको छ । तर, भारतमा रोजगारीको लागि लाखौं नेपाली युवा जनशक्ति गएका र उनीहरु नेपाल फर्कने क्रम बढेको छ ।

यसरी उनीहरु नेपाल आए पश्चात् कोरोना संक्रमण देखिएकाले पनि नेपालमा संक्रमितको सङ्ख्या बढेको विज्ञहरूको भनाइ छ। यहि अवस्थाले गर्दा अब नेपालमा पनि भयावह स्थिति नआउला भन्न नसकिने उनीहरुले बताएका छन् । अबको १५ दिनमा २५ हजार भन्दा बढी कोरोना संक्रमित पुग्ने तथा मृत्युदर पनि बढ्ने आंकलन विज्ञहरूको छ।

तर, बुधबार संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालीहरूको रोग प्रतिरोधी क्षमता अद्भुत छ’ भन्ने अभिव्यक्ति दिएपछि यसले धेरै चर्चा पाएको छ । संसदमा बुधबार नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले नेपालीको रोगसँग लड्ने प्रतिरोधी क्षमता रहेको छ भनेर कसले भनेको र यो तर्कको आधार के हो भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्रीले सांसद गगन थापाले सोधेको प्रश्नमा जवाफ दिँदै ‘प्रतिरोधी क्षमता राम्रो छ भनेर मैले भनेको हो ।’ यदि कुनै डाक्टर वा वैज्ञानिकबाट चुनौती आएमा आफूले स्विकार्ने समेत उनले बताएका थिए ।

यसमा प्रधानमन्त्रीले रोग प्रतिरोधात्मक क्षमता मात्रै राम्रो भनेनन् , उनले पछिल्लो समय नेपालमा कोरोनाका कारण मृत्यु भएका १५ जनाको मृत्यु कोरोनाको संक्रमणका कारणले भन्दा पनि अन्य स्वास्थ्य समस्याका कारण भएको भन्ने तर्क समेत दिएका छन् । तर, प्रधानमन्त्रीको यो भनाइलाई जनस्वास्थ्य विज्ञहरुले भने प्रधानमन्त्रीले बोली अनुसार कोरोना टेष्टिङको दायरा बढाएर तथा पिसिआर टेष्टलाई बढाएर रोकथाम गरेर धेरै मानिसको मृत्यु हुनबाट बचाएमा उनको भनाइ सान्दर्भिक हुने नत्र अन्य मुलुकका मानिसको तुलनामा नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्नु आधारहीन तर्क भएको बताएका छन् । ‘नेपालमा अहिलेसम्म कसैले पनि नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर अनुसन्धान गरेका छैनन् ।

‘मान्छे नमरी स्वर्ग देखिंदैन’, त्यसैले प्रधानमन्त्रीले नेपालमा नै उत्पादन भएको अर्गानिक दालभात, तरकारीसँग ढिँडो खाएकाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेका आधारमा मात्रै पनि नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए । उनका अनुसार गरिब र बुढाबुढी भन्दा पनि बलिया तथा युवा जनशक्ति भारतमा काम गर्न गएका र उनीहरु नै नेपाल फर्केकाले कोरोना संक्रमण देखिए पनि मृत्यु नै भइहाल्ने स्थिति कम हुने विज्ञहरुको पनि आंकलन छ ।

उनले भने, ‘यसरी नै मृत्युदर कम भएमा उहाँको भनाइ केहि हदसम्म सहि होला । नत्र प्रधानमन्त्रीले यसरी बोलिहाल्नु पर्ने होइन । उहाँको बोलिले गर्दा जनमानसमा नकारात्मक असर पर्ने र अहिले सरकारको नियम उल्लंघन बढ्ने देखिन्छ ।’ प्रधानमन्त्रीको भनाइले बाहिर नकारात्मक सन्देश जाने देखिएको छ। यो भनाइले मानिसहरुले हामी त बलियो रहेछौं हामीलाई कोरोनाले छुँदैन भन्दै नियम पालना नहुने अर्को खतरा बढ्ने देखिन्छ । पछिल्लो समय बिसिजी खोप लगाएका देशमा कोरोना कम संक्रमण भएको तथ्य बाहिरिएको थियो । अहिले फेरि भिटामिन डि प्राप्त भएमा पनि कम लाग्ने कुरा आएको तर प्रधानमन्त्रीले भनेकोले चाहिँ अहिलेसम्म केही तथ्य नआएको उनको भनाइ रहेको छ।

त्यस्तै, सरुवा रोग विशेषज्ञ डा.अनूप सुवेदीले हामीले पहिला देखि नै यस्ता कुराले केही नहुने भन्दै आएको तर उल्टै प्रधानमन्त्रीबाट गाली खाएकाले अब प्रधानमन्त्रीको भनाइमा उहाँ आफैंले पुष्टि गरि प्रमाण ल्याउनु पर्ने बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीको भनाइ अनुसार विज्ञहरुले पनि नेपालमा अन्य मुलुकको तुलनामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या कम हुने आंकलन गरेका छन् ।

उनले भने, ‘नेपालमा कोरोनाले मृत्यु कम हुने कारणमा नेपालको सरदर आयु कम भएकाले, दीर्घरोगीहरुको भार कम रहेको र यसले पनि मृत्युदरमा कमि हुन्छ कि भनने भनाइ हुन सक्छ।’ तर अहिले हामीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि मौका र अवसर सबै गुमाउँदै गएकाले यसो भनेर बस्ने स्थिति रहेको छैन । नेपालमा पनि बङलादेश, पाकिस्तानमा जस्तै कोरोनाले मृत्यु हुने सम्भावना बढिरहेको छ । यसले गर्दा अब सरकारले गफ भन्दा पनि कन्ट्याक्ट ट्रेसिङको दायरा बढाएर जानू पर्ने उनको भनाइ छ।

तर, प्रधानमन्त्री ओलीले संसदमा बोल्दै, ‘दुनियाँका शक्तिशाली मुलुकमा पनि असर परिरहेकाले हामी कहाँ असर हुनु नौलो नभएको बताएका छन् । त्यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले प्रभावकारी काम गरेकैले मृत्यु हुनेको संख्या नबढेको पनि बताएका छन् ।

यतिबेला पूरै विश्वमा कोरोनाले एकै किसिमले असर गरेको छैन । यो विभिन्न देशको विवरण हेर्दा पनि आंकलन गर्न सकिन्छ । विभिन्न देशले अख्तियार गरेका नीतिहरू अनुसार यसको प्रभाव पनि फरक स्थानमा फरक नै देखिएको छ । कोरोना भाइरसको उदगमस्थल चीनमै करिब ८४ हजार जनामा मात्रै यो संक्रमण देखिएको छ । तर, चीनमा देखिएको लगभग एक महिनापछि मात्रै संक्रमित भेटिएको अमेरिकामा करिब २१ लाख मानिसलाई संक्रमण देखिएको पुष्टि भएको छ भने १ लाख १६ हजार जनाको मृत्यु नै भइसकेको छ ।

विश्वमा नै कोरोना भाइरसका कारण मृत्यु हुने दर औसतमा ०.५१ प्रतिशत छ भने नेपालको अहिलेको अवस्था हेर्दा यहाँ मृत्युदर कम हुने कुनै कारण देखिँदैन । ‘नेपालमा अहिले भर्खर केही मानिस मर्न सुरु गरेका डा.सुवेदीले बताएका छन् । विज्ञहरुका अनुसार नेपालमा नाम मात्रैको क्वारेन्टाइन हुँदा र कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुँदा संक्रमण कुन चरणमा छ भन्ने यकिन गर्न पनि कठिन भएको हो । यस्तै, प्रधानमन्त्री ओलीले सरकारले अपेक्षा गरेभन्दा बढी नै मानिस सीमामा आइपुगेकाले विश्व स्वास्थ्य संगठनले तोके बमोजिमको क्वारेन्टाइन बनाउन नसकिएको गुनासो गरेका छन् ।

Logo