कोरियोग्राफर रोजिन शाक्यको फेसबुकमार्फत ‘लाइभ टक शो’ संचालनमा

कोरियोग्राफर रोजिन शाक्यको फेसबुकमार्फत ‘लाइभ टक शो’ संचालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सामाजिक संजालको प्लेटफर्मलाई प्रयोग गर्दै आफ्नो फेसबुक पेजमा ‘लाइभ टक शो’ संचालनमा ल्याएका छन् ।

पछिल्ला दिनहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापन लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका उनले आफ्नो फेसबुक पेजमा लाइभ टक शो संचालनमा ल्याएका हुन् ।

‘स्पीक टू मी’ नाम दिइएको उक्त टक शो विगत ५ साताबाट नियमित रुपमा शुक्रबार र शनिबार साँझ ४ बजेबाट करिब एक घण्टा संचालन हुने गरेको छ । विशेषतः फेसन, मोडलिङ, ब्युटी, संचार, अभिनय तथा सौन्दर्य प्रतियोगिता क्षेत्रमा उपलब्धी हासिल गरेका व्यक्तित्वहरुको उपलब्धी, उनीहरुको क्यारिएर, व्यवसायिक यात्राको विभिन्न पाटोसँगै व्यक्तिगत जीवनका रमाइला पक्षहरुको सेरोफेरोमा सो कार्यक्रम केन्द्रीत रहेको छ ।

कार्यक्रमको प्रारम्भिक चरणमा उल्लेखित क्षेत्रका व्यक्तिहरुमा केन्द्रीत रहेता पनि विस्तारै यसको स्वरुपमा समाजका अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका युवाहरुलाई पनि समेटिने छ । हालसम्म रोजिनले संचालन गर्दै आएको ‘स्पीक टू मी’ मा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामा, मोडल एवं मिस इको इन्टरनेसनल नेपाल २०१९ मुना गौचन, मोडल एवं अभिनेत्री सुमी मोक्तान, मोडल तथा मिष्टर ओसियन नेपाल २०१७ विवेक खड्का, मोडल एवं अभिनेता एसराज गराच, मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ प्रितान्शा थापा, मेकअप आर्टिष्ट स्वस्तिका राजभण्डारी, फेसन डिजाइनर मनिश राई लगायतका प्रस्तुतीहरु प्रस्तुत भइसकेका छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा यसअघि वि.सं. २०५८ सालमा च्यानल नेपालको पर्दामा नेपाली चलचित्र सम्बन्धीत दुई वटा कार्यक्रमहरु सप्तरंगी र सिनेबाइट्स संचालन गरेका रोजिन ०६० सालमा एनटिभि टुमा प्रवेश गरेका थिए । त्यहाँ उनले करिब ६ वर्षसम्म फेसन सम्बन्धी कार्यक्रम फेसन बज र चलचित्र सम्बन्धी कार्यक्रम सिने सिज्लर नामक कार्यक्रमको प्रस्तोता एवं निर्माताको रुपमा भूमिका निर्वाह गरेका थिए । यसैगरी केही समय अगाडि ईमेज टेलिभिजनबाट प्रशारण भएको अभियन सम्बन्धी टेलिभिजन रियालिटी शो नेसनल एक्टिङ कम्पीटिसनको संचालनको जिम्मेवारी पनि उनले निर्वाह गरेका थिए । विगत १२ वर्ष यताबाट रोजिन नेपाल भाषाको समाचार वाचकका रुपमा प्रस्तुत हुँदै आएका छन् ।

Logo