भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर नेगेटिभ

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको हो ।

सुत्केरी भए लगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखिएको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइएको उनले जानकारी दिइन् । रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टाइनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिइन् ।

अस्पताल आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएकाले कोरोना सङ्क्रमणको आशङ्का गरे पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गए राति एक र आज दुई गरी तीनपटक परीक्षण गरी पठाएको रिपोर्टमा मृतक सुत्केरीमा कोरोना सङ्क्रमण नेगेटिभ आएको उनले जानकारी दिइन् ।रासस

Logo