असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसदमा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए ।

मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणको पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।

नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उनले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले अहिलेको बन्दाबन्दी (लकडाउन) लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताए। मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ ।

उनले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गरे । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाए ।

निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताए । भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उनले बताए ।

स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने उनको भनाइ थियो । चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उनले जानकारी दिए। प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने उनले बताए । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालले बताए ।रासस

Logo