झापाको अर्जुनधारामा पहिलो पटक २ युवामा कोरोना पुष्टि

झापाको अर्जुनधारामा पहिलो पटक २ युवामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

झापा ।

झापाको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा आज कोरोना पुष्टि भएको छ । यो नगरपालिकामा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका दुई युवामा कोरोना पुष्टि भएको हो ।

शनिबार बिहान पीसीआर परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरी कोशी अस्पताल विराटनगर पठाइएको थियो । कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँमा रहेको आइसोलेसनमा पठाउने तयारी भएको छ । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ ।

उनीहरु दिल्लीबाट पाँच पहिले काँकडभिट्टा हुँदै नेपाल आएका थिए । यस क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर हाल ५८ जना छन् ।

‘एकका लागि एक अभियान’

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जनस्तरबाट स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गर्न शुरु गरिएको छ । ‘एकका लागि एक’ अभियान, मेची अभियान र अन्तर्राष्ट्रिय झापाली समाजले जिल्लाका १५ स्थानीय तहलाई कोरोना परीक्षणका लागि भिटिएम किट (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा कवच (पिपिइ), स्यानिटाइजर र एन–९५ मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

सो अभियानसँगको सहकार्यमा अन्तर्राष्ट्रिय झापाली समाजले सबै स्थानीय तहलाई एक हजार ५०० भिटिएम किट उपलब्ध गारएको छ भने मेची अभियानले छ पालिकालाई भिटिएम किटसहित पिपिइ, स्यानिटाइजर र एन–९५ मास्क उपलब्ध गराएको छ ।

सो समाजका उपाध्यक्ष नवीन पोखरेलले सो अभियानसँग सहकार्य गर्दै सबै स्थानीय तहमा पुगेर एक हजार ५०० थान भाइरल ट्रान्सपोर्ट मिडिया उपलब्ध गराए। पहिलो चरणमा आफूहरुले आवश्यकताका आधारमा भिटिएम किट उपलब्ध गराएको बताउँदै स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग छलफलपछि समाजले दोस्रो चरणको सहयोग गर्ने उपाध्यक्ष पोखरेलले बताए । “अहिले हामी छलफलकै क्रममा छौँ”, उनले भने,, सबै पालिकाले कोरोना परीक्षणका लागि ल्याब स्थापनाको कुरा गरिरहनुभएको छ, अभियानसँग छलफल गर्दै ल्याब स्थापनाका लागि समाजले रु २५ लाखसम्म सहयोग गर्ने सोच बनाएको छ ।

विपन्न परिवारलाई सहयोगका लागि सञ्चालन गरिएको सो अभियानले रु एक करोड २५ लाख लागतमा कोरोना परीक्षण गर्ने ल्याब स्थापनार्थ पहल गरिरहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । मेची अभियानले कोरोना सङ्क्रमण देखिएका तथा सीमावर्ती पालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । अभियानका संयोजक विजय डालमियाँका अनुसार आठवटा पालिकाका प्रमुख तथा उपप्रमुखलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

उनका अनुसार पहिलो चरण अन्तर्गत बुद्धशान्ति गाउँपालिकालाई १०० थान भिटिएम, पाँच थान पिपिइ, १०० थान एन–९५ मास्क, एक कार्टुन स्यानिटाइजर उपलब्ध गराइएको छ । भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०–५० थान भिटिएम, पाँच–पाँच थान पिपिइ, १०० थान एन–९५ मास्क, एक कार्टुन स्यानिटाइजर उपलब्ध गराइएको छ ।

त्यस्तै मेचीनगर र गौरादह नगरपालिकालाई सोही बराबरको सामान उपलब्ध गराइएको उनले जानकारी दिए । दोस्रो चरणमा आवश्यकता हेरेर १५ वटै पालिकालाई आवश्यक सामग्री उपलब्ध गराइने अभियानका सदस्य तथा काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए।

सामान हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भुर्तेल, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, कचनकवल अध्यक्ष अन्जार आलम, बाह्रदशी अध्यक्ष खड्गप्रसाद राजवंशी, झापा अध्यक्ष जयनारायण साह र गौरीगञ्ज अध्यक्ष बाबुराजा श्रेष्ठले अभियानले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कोरोनासँग जुध्न सहयोग गरेको बताएका थिए ।

जनस्तरबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्रीले कोरोनासँग जुध्न र समयसापेक्ष भएको जनप्रतिनिधिको भनाइ छ । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाबाट बच्न सर्तक हुनुभन्दा अर्को उपाय नरहेको बताए । उनले भने, “बन्दाबन्दीको समयमा सचेत रहँदै सरकारको अभियानलाई सहयोग पुर्याउन म सबैलाई आग्रह गर्छु ।”

Logo