क्वारेन्टाइनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरियो

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरियो

केन्द्रबिन्दु
0
Shares

बाजुरा ।

खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।

गैरे नेतृत्वमा गएको जिल्लाको टोलीले धेरै दिन शव राख्दा गन्हाउने र थप दुर्गन्ध फैलिने भएकाले दमको रोगी भएको भन्ने स्वास्थ्यकर्मीको जानकारीमा भएकाले शवलाई व्यवस्थापन संयन्त्रकै सक्रियतामा व्यवस्थापन गरिएको हो । स्वाब सङ्कलन गरेर धनगढी पठाइएको र त्यसको रिपोर्टपछि अन्यको स्वाब सङ्कलन गर्ने नगर्ने भन्नेबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

वृद्धसँगै अन्य सात जना आएका पनि क्वारेन्टाइनमा नै बसिरहेका छन् । उनीहरुको टोली भारतको हिमाञ्चल प्रदेश हुँदै नेपाल प्रवेश गरेको हो । पिसिआर जाँचपछि आएको रिपोर्टका आधारमा थप प्रक्रिया अगाडि बढाउने सहमति भएको खप्तड छेडेदह– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । हाल खप्तड छेडेदहमा ६०० बढी सर्वसाधारण क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा अधिकांश भारतबाट आएका मात्र बसिरहेका छन् ।

कारागारमा कैदीको मृत्यु

कपिलवस्तु कारागारका एक कैदीको शनिबार मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।

बिहान १० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताए । गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन ।रासस

Logo