कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु , संक्रमितको संख्या ४८९

कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु , संक्रमितको संख्या ४८९

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक/एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए । उनको यही जेठ १७ गते क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।

यस्तै कोरोनाको सङ्क्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिए । भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब सङ्कलन गरी जुम्ला प्रतिष्ठानमा पिसिआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा रावलले बताए ।

सुर्खेतबाट जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टाइनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टाइनमा राखिएको अवस्थामा जेठ २१ गते मृत्यु भएको थियो । कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ भने दैलेखमा मात्र ३०१ जना रहेका छन् ।रासस

Logo