कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढे पनि स्वास्थ्य सामग्रीको अभाव नहुने

कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढे पनि स्वास्थ्य सामग्रीको अभाव नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा पछिल्लो समय दिनप्रतिदिन कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ । यसरी दिनप्रतिदिन कोरोना संक्रमितको सङ्ख्या बढ्दै जाँदा सरकारसँग परिक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त छन् कि छैनन् भन्ने जिज्ञासा बढेको छ । कतिपय स्थानमा स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य सामग्रीको अभाव भएकाले भारतबाट आएका नागरिकहरुको परिक्षण गर्न नपाएको गुनासो आउन थालेका छन् ।

पछिल्ला केही हप्तादेखि भारतमा अलपत्र परेका वा नेपाल आउन चाहनेको लागि सीमा खुल्ला गरेको छ । सीमा खुल्ला गरे देखि दैनिक १७ हजार भन्दा बढि नेपाली नागरिक नेपाल प्रवेश गर्ने गरेका छन् । यसरी भारतबाट आउने मानिसहरुको स्वास्थ्य परिक्षण गर्दा दैनिक नेपालभरिमा ३ सय भन्दा बढी संक्रमित थपिंदै गएका छन् ।

सरकारले करिव दुई महिनासम्म कुनै पनि भारतीय सीमाबाट आवातजावतमा रोक लगाएको थियो । यसरी रोक लगाए पनि काली नदीमा पौडिएर आउनेदेखि लुकिछिपी आउने गरेकाले कोरोना संक्रमण बढेको थियो । तर अहिले त सरकारले नै आउन खुल्ला गरेसँगै कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ।

यता सरकारले पनि कोरोना टेष्टिङ पनि विस्तार गरेको छ। कोरोना टेष्ट बढाएकाले पनि संक्रमितको संख्या बढेको छ। सरकारले देशको कुल जनसंख्याको २ प्रतिशतलाई कोरोना परिक्षण गर्ने बताएको छ । यसको लागि सरकारले स्वास्थ्य सामग्रीको पनि अभाव हुन नदिने गरि योजना बनाइरहेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार यो कोरोना महामारीको रुपमा फैलिंदै गएकाले यसको रोकथाम तथा नियन्त्रण र उपचारको लागि चाहिने स्वास्थ्य सामग्रीको अभाव भने हुन नदिने गरि तयारी अवस्थामा सरकार रहेको छ।

जति नै कोरोना संक्रमित बढे पनि स्वास्थ्य सामग्रीको अभाव हुन नदिने तथा सामग्री आयातको लागि पनि तयारी अवस्थामा स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्कीले बताए । उनका अनुसार सरकारले दुई पटक खरिद गरेको स्वास्थ्य सामग्रीमा अझै आरडिटी ४५ हजार भन्दा बढी तथा पिसिआर टेष्ट परिक्षण गर्ने सामग्री करिव ५० हजार रहेको छ । उनले भने, ‘हामीसँग अहिले करिव दुई हप्तालाई पुग्ने स्वास्थ्य सामग्री रहेको छ । त्यसैले तत्कालै अभाव हुँदैन । यदि अभाव हुन लागेमा तत्काल आयात गर्ने बलियो अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको छ।’

अब कोरोना टेष्टको लागि पहिलाको जस्तो स्रोत र साधन तथा स्वास्थ्य सामग्रीको अभाव हुँदैन, यहि हप्तामा करिव ५० हजार परिक्षण किष्ट आउन लागेकोले कुनै पनि स्वास्थ्य सामग्रीको अभाव झेल्नु पर्ने स्थिति नरहेको डा. कार्कीको भनाइ छ। त्यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पनि अहिले जति पनि भारत तथा विदेशबाट ल्याएका नागरिकको तथा शङ्का लागेका नागरिकको स्वास्थ्य परिक्षण व्यापक बनाउने वा स्वास्थ्य परिक्षणको दायरा बढाउने गरि सरकार अगाडि बढेको बताए ।

उनले अहिले कुनै पनि स्वास्थ्य सामग्रीको अभाव नहुने तथा अहिलेको अवस्थालाई चाहिने पर्याप्त सामग्री रहेको बताए । बरु यसलाई व्यवस्थित रुपमा परिक्षण गर्ने तथा यसलाई नियन्त्रण तथा रोकथाम गरि जीवन रक्षाको लागि सबै सचेत हुनु पर्ने अवस्था रहेको उनले बताए ।

अब कोरोना परिक्षणको दायरा कति बढाउने, अझ संक्रमितको सङ्ख्या बढ्दै जाँदा कसरी अगाडि बढ्ने, टेष्टिङलाई कसरी गुणस्तरीय ढङगमा काम गर्ने र अब कति स्वास्थ्य सामग्रीको आवश्यकता पर्ने तथा कसरी यो महामारीसँग लड्नेदेखि स्रोत साधनको परिचालन विषयमा कसरी जाने भनेर छलफलमा जुटेको स्वास्थ्य सेवा विभागका नवनियुक्त डा. रमेश कुमार खरेलले जानकारी दिए ।

ओम्नि समूह र नेपाली सेना गरि दुई पटक स्वास्थ्य सामग्री आयात

सरकारले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री पहिलो पटक ओम्नि बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिद्वारा र दोस्रो पटक नेपाली सेनामार्फत चीनबाट आयात गरेको थियो ।

ओम्नि समुहले करिव एक अर्ब २४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद सम्झौता गरेर चैत १६ गते आधा मात्रै स्वास्थ्य सामग्री ल्यायो । तर ओम्नि समुहले सम्झौता गरेको समय भन्दा ढिला तथा आधा मात्रै सामान ल्याएको र सामान खरिदमा भष्टाचार गरेको आरोप लागेपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको थियो । त्यसपछि सरकारका मन्त्री नै स्वास्थ्य सामग्री खरिद विवादमा समेत परेका छन् । पछि सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनाले पाएको थियो ।

स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का पाएको नेपाली सेनाले सामग्री खरिदका लागि उसले चीन सरकारसँग सम्झौता गरि ‘जीटुजी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपैयाँ (एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर) को सम्झौता गरिएको थियो । यहि सम्झौता अनुसार चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गरि चीनबाट ३४२ टन स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो । यसमा हवाईमार्ग तथा स्थलमार्ग हुँदै सामान काठमाडौं ल्याएको थियो । यो सामग्री तथा विभिन्न संघसंस्था तथा अन्य देशले सहयोग गरेको स्वास्थ्य सामग्रीले काम गरिएको छ।

क्वारेन्टाइन व्यवस्थित बनाउन तथा नीजि अस्पताललाई पनि परिक्षणमा ल्याउन विज्ञहरुको सुझाव

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जनसंख्या विज्ञहरुसँग अहिलेको कोरोना भाइरसले संक्रमितको अवस्था र लकडाउनलाई कसरी हेर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीले अब यसरी अर्को पटक चिकित्सकहरूको छुट्टै समुह बनाएर स्पेशल छलफल गर्ने तथा छुट्टै स्वास्थ्य विज्ञहरुको समूह बनाइ सम्भव भएका तथा आवश्यक सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।

विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनलाई खुकुलो पार्नु पर्ने तथा सरकारी अस्पताललाई कोरोना स्वास्थ्य परिक्षण भ्याईनभ्याई भएकोले अब सरकारले निजी अस्पताललाई पनि कोरोना परिक्षणमा ल्याउनको लागि सुझाव दिएका छन् । सरकारले परिक्षणको दायरा बढाउन नीजि र गैरसरकारीलाई नल्याइ नहुने सुझाव दिएका थिए । कोरोना संक्रमण नियन्त्रणमा सरकारले गर्न नसकेकाले यस्तो छलफल गरिरहनु पर्ने विज्ञहरुको भनाइ रहेको थियो ।

त्यस्तै, क्वारेन्टाइनमा धेरै मान्छेहरु मरिरहेकाले यसलाई व्यवस्थित बनाउन पनि सुझाव दिएका छन् । मानिसहरु क्वारेन्टाइनमा बाँच्न जाने हो तर मान्छे मर्न गए जस्तो भएकाले सरकारको ध्यान यतातिर जानू पर्ने सुझाव दिएका छन्। क्वारेन्टाइन र आइसोलेसनलाई सँगैसँगै राख्नुपर्ने ठाउँमा घर वा अन्य कुनै ठाउँमा राखेर गर्न सकिने सुझाव पनि दिइएका छन् ।

Logo