कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचार पश्चात् घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतका रहेका छन् ।

कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् ।

एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा स्वाब सङ्कलन स्थगित

सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको हो ।

पिसीआर प्रयोगशालाको दैनिक जाँच क्षमता २५० मात्रै छ । परीक्षणका लागि आएका स्वाबका एक हजार ८३ नमूना परीक्षण गर्न बाँकी छन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक गुणराज अवस्थीका अनुसार दैनिक स्वाब सङ्कलन कार्य भइरहेको छ ।

यसरी नै स्वाब सङ्कलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले पाँच दिनका लागि स्थगन गरिएको छ । प्रयोगशालमा परीक्षण गर्न बाँकी नमूना परीक्षणको कार्य सकिएपछि मात्रै स्वाब सङ्कलनको कार्य शुरु गरिने बताइएको छ ।रासस

Logo