रामेछापमा क्वारेन्टाइनबाट बिदा भएपछि कोरोना पुष्टि, संक्रमित एक युवक फरार

रामेछापमा क्वारेन्टाइनबाट बिदा भएपछि कोरोना पुष्टि, संक्रमित एक युवक फरार

केन्द्रबिन्दु
0
Shares

रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको गोकुलगंगा अस्पतालको क्वारेन्टाइनमा ७ दिनदेखि बसेका ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। तर क्वारेन्टाइनमा बसेकालाई शुक्रबार कोरोना परिक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै गाउँपालिकाको क्वारेन्टाइनबाट पालिका अध्यक्षले घर पठाएका थिए ।

घर पठाएको केही घण्टापछि क्वारेन्टाइनमा बसेका ११ जनालाई स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेको थियो । त्यसपछि संक्रमणको जानकारी पाउनासाथ पालिका अध्यक्ष खड्गबहादुर सुनुवारले क्‍वारेन्टाइनबाट बिदाई गरेका व्यक्तिहरुलाई फेरि फर्कनका लागि फोन गरेका र यातायातका साधन पठाएका थिए । ११ जनामा १० जना गाडी चढेर फेरि क्वारेन्टाइन फर्के भने वडा ४ बेताली घर भएका एक युवक भने भागेका छन् ।

अहिले उनको खोजीमा बेताली अस्थायी प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए । उनका अनुसार अहिले संक्रमित १० जनालाई उपचारका लागि रामेछाप जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।

अध्यक्ष सुनुवार पनि संक्रमणको जोखिममा

अध्यक्षले कोरोना पुष्टि भएका ११ जनालाई गोकुलगंगा अस्पतालको क्वारेन्टाइनबाट स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै युवासहितका व्यक्तिहरुलाई हात मिलाएर बिदा गरेका थिए । क्वारेन्टाइनबाट बिदाइ भएकाले खुसियाली मनाउँदै गोकुलगंगाको वडा ४ बेताली बजारमा विभिन्न सामान किनमेल गरि घर गएका र घरका परिवारसँग पनि भेटघाट गरेको खुल्नमा आएको छ।

रामेछापमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गोकुलगंगा गाउँपालिकाका ११ र लिखु तामाकोसी गाउँपालिकाका ६ जना रहेका छन् । लिखुबाट समेत संक्रमित जिल्ला अस्पताल पठाइएको छ । भारतबाट केही दिन अघि आएका उनीहरु सबै क्वारेन्टाइनमा थिए । चार दिन अघि उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

Logo