कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९, दैलेखमा मात्र ३०१

कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९, दैलेखमा मात्र ३०१

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरडिटी, पिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएकामा दैलेखका दुल्लु नगरपालिकाका २७ र महाबु गाउँपालिकाका ६४ जना भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार महाबु –२ मा मात्र दुई महिलासहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी जुम्ला, चन्दननाथ नगरपालिकाका तीन, हुम्ला चंखेली गाउँपालिकाको एक, सुर्खेत पञ्चपुरी नगरपालिकाको एक, जाजरकोट भेरी नगरपालिकाको एक, दोलखा तामाकोशी गाउँपालिकाको एक, रामेछाप दोरोम्बा गाउँपालिकाको एक र गोरखा, आरुघाट गाउँपालिकाको एक गरी १०० जनामा संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले जनाए ।

हुम्ला र जाजरकोटमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीका डोल्पा र रुकुम (पश्चिम) बाहेक आठ जिल्लामा यसको संक्रमण फैलिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । शुक्रबार ९१ जना थपिएसँगै दैलेख जिल्लामा मात्र कोरोना संक्रमित हुने ३०१ पुगेको बताइएको छ ।रासस

Logo