प्रदेश नं १ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

प्रदेश नं १ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

केन्द्रबिन्दु
0
Shares

मोरङ।

कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ ।

सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै ४५० शैयाको आइसोलेसन उपचार केन्द्र निर्माणकार्यलाई तीव्र पारेको छ । कोरोना सङ्क्रमित वृद्धि भएसँगै उनीहरुको वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु गरिएको छ । प्रदेशमा यस अघि कोभिड–१९ उपचार केन्द्रका रूपमा विराटनगर र सुनसरीको धरानमा सञ्चालन गरिसकेको छ । यस्तै मेची अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार शुरु गरिँदैछ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी ४५० बेडको आइसोलेसन उपचार केन्द्र तयार गर्ने काम भइरहेको जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीको मङ्गलबार भएको अनलाइन संवादमा मन्त्री घिमिरेले सो जानकारी दिएका हुन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको उपचारलाई वर्गीकरण गर्ने तयारी गरिएको उनले बताए । मन्त्री घिमिरेले भने, “कोरोना लक्षण देखिएकालाई अस्पतालमा र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन उपचार केन्द्रमा राखिनेछ । सङ्क्रमितको उपचार वर्गीकरण गरेर गर्ने गरी आवश्यक मार्गदर्शन र निर्देशिका प्रदेश सरकारले तयार गरिसकेको उनले बताए । प्रदेशमा पुल विधिबाट कोरोना परीक्षणको काम शुरु भएको जानकारी दिँदै परीक्षणको क्षमता बढेसँगै आवश्यक सामग्रीको भने अभाव भएको उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशमा जेठ र असार भित्रमा ७० हजारको पिसीआर परीक्षण गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री घिमिरेको जानकारी दिए । उनले ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने तयारी शुरु गरिएको र पिसीआर परीक्षणको क्षमता बढाएसँगै किट अभाव भएको बताए। प्रदेशमा कन्टयाक्ट टेसिङ, टेष्टिङ र ट्रिटमेन्ट गर्ने टिम अलर्ट रहेको मन्त्री घिमिरे बताउँदै कोरोना सङ्क्रमितको उपचार कोभिड अस्पतालबाट केन्द्रित गर्दा सरकारी अस्पतालले नियमित सेवा दिन सकेको उनले बताए।रासस

Logo