डा. बालकृष्ण साह ।  विवाहपछि सन्तान जन्मनु सामान्य कुरा हो तर कति वटा सन्तान जन्माउने र कति फरकमा जन्माउने बिषयमा छलफल गर्नु आवश्यक हुन्छ । "/>

परिवार नियोजनका साधन के पो रोज्ने ?

परिवार नियोजनका साधन के पो रोज्ने ?

केन्द्रबिन्दु
0
Shares

डा. बालकृष्ण साह । विवाहपछि सन्तान जन्मनु सामान्य कुरा हो तर कति वटा सन्तान जन्माउने र कति फरकमा जन्माउने बिषयमा छलफल गर्नु आवश्यक हुन्छ । विवाहको लगतै नयाँ जीवनशैलीको शुरुवातमा तथा पटक पटक वा धेरै पटक गर्भवती हुने रहर धेरैको नहुनसक्छ ।

स्वस्थ्य सन्तान जन्माउनका लागि शारिरिक, मानसिक एवं आर्थिक रुपमा दम्पती तयार हुनु आवश्यक छ । त्यसैगरी दोस्रो सन्तान र पहिलो सन्तानको बीचमा कति जन्मान्तर गर्ने बारेमा पनि सोच्नु आवश्यक हुन्छ ।

विवाहपछि केही समय मनोरञ्जन एवं घुमघामै ब्यस्त हुन्छ, नवदम्पती । यस्तो बेला गर्भवती हुने चाहना धेरैको हुँदैन् । चाहाना नहुँदैमा गर्भ नरहने भन्ने हुदैन । त्यसैले यस्तो बेला परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ । हुनतः बजारमा विभिन्न थरीका परिवार नियोजनका साधनहरु पाइन्छन । तर नव दम्पत्तीका लागि कस्तो साधन प्रयोग गर्ने ? निर्णय गर्न सजिलो छैन । नवदम्पतीहरुले मुख्य रुपमा कण्डम तथा प्राकृतिक विधि अपनाएको पाइन्छ ।

कण्डम परिवार नियोजनको लागी प्रभावकारी साधन हो यो विभिन्न ब्राण्डका अनि विभिन्न सुगन्धका साथ बजारमा पाईन्छ । हाल बजारमा विभिन्न लग्जरियस, भाईब्रेटिङ्ग कण्डमहरु प्नि सजिलै उपलब्ध हुने गरेकाले, नवदम्पतिहरुले रोजेकै कण्डम प्रयोग गर्न सक्छन् । आजभोलि अति आधुनिक ब्राण्डका कण्डमहरु नवदम्पतीहरुलाई उपहार दिने चलन पनि छ ।

कुनै पनि दम्पत्तिहरुलाई लामो समयसम्म कण्डम प्रयोग गर्न तथा सहि तरिकाले फाल्न झन्झटिलो हुन्छ । त्यसैले यसलाई लामो समय सम्म रुचाउदैनन् र बिकल्प खोज्नु पर्ने हुन्छ । नवदम्पत्तीले प्रयोग गर्ने अर्को उपाय हो प्राकृतिक विधि ।

क्यालेन्डर विधि तथा विर्य बाहिर स्खलन गर्ने दुवै प्राकृतिक उपाय हुन । यी दुवै विधि झन्झटीलो छन् । क्यालेण्डर विधि अपनाउन श्रीमतीको महिनावारी नियमित हुने गरेको हुनुपर्छ । महिनावारी नियमित भएका महिलाको अण्ड निष्काशन हुने प्रक्रिया पनि नियमित हुनसक्छ । त्यसैले त्यस्ता महिलाहरुले अण्ड निष्काशन अर्थात ओभुलेसनको समयमा संसर्ग नगरे गर्भ रहदैन भन्ने मान्यता छ ।

अण्ड निष्काशन हुनु अर्थात ओभुलेशनको समय पत्ता लगाउन कठिन भएपनि नियमित महिनावारी हुने महिलामा यो लगभग आठदेखी उन्नाइस दिनभित्र हुन्छ । त्यसैले महिनावारी भएको पहिलो दिनदेखी आठ दिनसम्म तथा उन्नाइस दिनपछिको समयलाई सुरक्षित समय अर्थात सेफ पिरियड भनिन्छ ।

त्यस्तै यौनसम्पर्क गर्दा बीर्य स्खलन यौनीमार्गमा नगरेर बाहिर गरेको खण्डमा पनि गर्भ रहने कुरा हुदैन । यो अर्को प्राकृतिक उपाय हो । तर यसका लागि श्रीमान् श्रीमती बिच राम्रो समझदारी तथा आत्मनियन्त्रण चाहिन्छ ।

नवदम्पतिलाई यो उपाय अपनाउन अप्ठयारो हुन सक्छ । यी दुवै प्राकृतिक विधिको फेलियर रेट अर्थात असफलता दर धेरै भएकाले यसमा पूर्णरुपमा विश्वस्त हुन सकिदैन । धेरै जसो दम्पतिले यो बिधि अपनाउँदा अपनाउँदैं पनि गर्भ रहन सक्छ ।

नवदम्पत्तीले कण्डम तथा प्राकृतिक विधि दुवै उपाय उपयोग गर्न सक्छन । असुरक्षित समय अर्थात आठदेखी उन्नाइस दिनसम्म कण्डम प्रयोग गर्ने र बाकी दिनमा केही प्रयोग नगर्ने । तर परिवार नियोजनका यी विधिहरु अपनाउन सजिलो भए पनि यसलाई प्रभावकारी विधि भने मान्न सकिदैन ।

जन्मान्तरका लागि महिलाहरुले प्रयोग गर्न सक्ने अर्को एउटा राम्रो उपाय हो खाने चक्की । निलोकन हवाइट, सुनौलो गुलाब, ओके पिल्स, ओभेलोन, माला–एल, ओभरल आदी मध्ये कुनै एक खानेचक्की प्रयोग गर्न सकिन्छ ।

पिल्सले महिनावारी सम्बन्धी अन्य समस्या जस्तै धेरै रगत जाने, नियमित नहुने, अध्यधिक पेट दुख्ने, समस्या कम गर्ने तथा यौनाङ्गमा हुने संक्रमण (पिआइडी) बाट पनि केही हदसम्म जोगाउने भएकाले खानेचक्कीलाई राम्रो मानिन्छ ।

कतिपय दम्पत्तीले खानेचक्कीले पछि गएर बच्चा नहुने हो की भन्ने शंका गर्छन तर नब्बे प्रतिशत महिलामा खानेचक्की छोडेको तीन महिनाभित्रै गर्भ रहने गरेको तथ्यांकले देखाएको छ । तर यस्ता चक्की खानुअधि स्वास्थ्य परामर्श लिनु आवश्यक हुन्छ । दिर्घरोगी, मुटुको रोगी, उच्च रक्तचाप कलेजोका रोगीहरुले खानेचक्की प्रयोग गर्नुहुदैन ।

खानेचक्की प्रयोग गर्न थालेपछि केहि सामान्य असरहरु जस्तै बान्ता हुन खोज्ने, बान्ता हुने, टाउको दुख्ने, जीउ दुख्ने, थकान महशुस गर्ने, तौल बढ्ने, अनुहारमा पोतो आउने आदि समस्या देखापर्न सक्छन । खाने चक्कि प्रयोग गर्ने केहि महिलाहरुले यसको असरलाई सहन गर्न सक्दैनन् । त्यस्तो अवस्थामा यसको बिकल्प खोज्नुपर्ने हुन्छ ।

परिवार नियोजनको अर्को साधन हो, तीन महिने सुई । जन्मान्तरका लागि महिलाहरुले तीन महिने सुई लिन सक्छन् । डिपो, सगिंनी आदि बजारमा सजिलै पाउने तीन महिने सुई हो । यसको आफ्नै फाईदा तथा बेफाईदा छ । तर तीन महिने सुई लिएका महिलाले सुई लिन छाडेको चारदेखी आठ महिनासम्म पनि गर्भ नरहन सक्छ ।

ढिलो सम्म पनि गर्भ नरहने भएकाले नवदम्पतीका लागि यो उपयुक्त उपाय मानिदैन । यसले कति महिलाहरुको महिनावारीमा गडवडी गराउने गर्न सक्छ । तर यो एक पटक लगाए ३ महिना सम्म ढुक्क हुने भएकोले अधिकांश महिलाहरुको रोजाईमा पर्नेगर्छ ।

नरप्लान्ट र कपर टी लामो समयसम्म गर्भ रोक्ने अस्थायी साधन हो । नरप्लान्ट महिलाहरुको पाखुराका राख्ने गरिन्छ । यो पाखुराको छाला मुनि राखिने भएकोले सबैले सजिलै लगाउन सक्दैनन् । त्यस्तै कपर टी महिलाहरुको पाठेघरमा दक्ष स्वास्थ्यकर्मीद्धारा राखिन्छ ।

यस्ले १२ वर्ष सम्म गर्भ हुन नदिने हुन्छ, तर आवश्यता अनुसार यसलाई झिक्न सकिन्छ । तर यसले भित्रि यौनाङ्गको संक्रमण अर्थात पिआइडी गराउन सक्छ । यसमा हर्मोन प्रयोग नगरिएको हुनाले यसले महिनावारीको गडबडी गराउदैन ।

सन्तानका रहर पुगिसकेका दम्पतीहरुले स्थायी परिवार नियोजन (बन्ध्याकरण) गर्न सक्छन् । महिलाहरुले मिनिल्याप तथा पुरुषहरुले भ्यासेक्टोमी गर्न सक्छन् ।

परिवार नियोजनका साधन रोज्न हतार गर्नुहुदैन । आफुलाई उपयुक्त हुने साधन अनि त्यसको फाइदा–बेफाइदाका सम्बन्धमा राम्रो जानकारी लिनुपर्छ । यसबारेमा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य कार्यकर्तासंग परामर्श लिन सकिन्छ ।

उचित परामर्श पछि मात्र यसको सेवन वा प्रयोग गर्नुपर्छ तर परिवार नियोजनका साधारहरु प्रयोग गर्न अप्ठ्यारो मानेर, डर वा चिन्ता लिएर गर्भ रहन दिनु हुदैन । परिवार नियोजनका साधनका लागि परामर्श तथा सेवा दुवै सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ ।

 

Logo