चाडवार्डमा कस्ता खानेकुरामा ध्यान दिने ? (भिडियाेसहित)

चाडवार्डमा कस्ता खानेकुरामा ध्यान दिने ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालीहरुको महान् चाड दशैं नजिकिदैछ । हिन्दू धर्मावलम्बीले दशैँलाई निकै महत्वका साथ लिने गर्छन् । दशैँको अवसरमा हिन्दू धर्मावलम्बीहरूले घरको पूजाकोठामा राखेको जमरामा खसी, बोका, हाँस, कुखुरा, राँगा आदिको बलि दिने चलन छ । सामान्यतया दशैँलाई आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्याधिक खानपान गर्ने चाडका रूपमा पनि लिइन्छ ।

दशैँमा जस्तोसुकै आर्थिक हैसियत भएका मानिसले पनि क्षमता अनुसार मीठो–मसिनो खानेकुरा र मासुको जोहो गर्ने गर्छन् । मानिसहरु कस्ता परिकार खाने, कस्ता पेयपदार्थ पिउने र कसरी पर्वलाई रमाइलो बनाउने भनेर योजना समेत बनाउन थालिसकेका छन् । तर, अत्यधिक बढी मदिरा, मासु तथा अन्य मसलेदार परिकार खाएर दशैँ मनाउँदा स्वास्थ्यमा हानी पनि पुग्ने गरेको छ ।

दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने गर्दछ । अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजो जस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुने जस्ता समस्या देखा पर्दछ । खानपानमा ध्यान नदिदा सामान्य व्यक्ति पनि रोगी हुन सक्ने हुनाले सन्तुलित खाना खान आवश्यक छ ।

चाडबार्डको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्य लगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नु परेको छ ।

कसरी खाने चाडपर्वमा स्वस्थ भोजन ?

चाडबार्डको बेलामा मासुको कुरा धेरै आउँछ । दशैं मा हामी अझै बढी मासु खान्छौँ । बोसोयुक्त लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु भने खानु हुदैन । घरमा आफैँले मासु तयार पार्दा सरसफाइमा ध्यान दिन आवश्यक छ । विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने, मासुको दैनिक प्रयोग नगर्ने तथा मासु खानेबित्तिकै आइसक्रिम, दही तथा क्रिमका परिकार खानु राम्रो हुदैन ।

यस्तै मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन । जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटोपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ । चाडपर्वमा आफन्तहरुसँग भेटघाट, रमाइलो सबै मिलेर बस्ने–खाने गर्छौ तर खानपिनमा व्यालेन्स हुनु भने जरुरी छ । त्यसैले चाडबार्डको बेलामा हरियो तरकारीलाई पनि उत्तिकै ध्यानमा राख्नु पर्छ । स्वास्थ्यका हिसाबले मासु नखाने बाटोमा लाग्नु उपयुक्त हो तर खाँदा भने प्रशस्त हरियो सागसब्जी र सलाद गाजर, फलफूल पनि त्यत्तिकै मात्रामा चाहिन्छ । यसले उच्च रक्तचाप घटाउने, मुटुरोग कम गर्ने, केही क्यान्सरलाई कम गर्ने र पाचन प्रणाली बलियो बनाउने गर्छ ।

धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन । यसले शरीरलाई असर गर्छ । चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ । पेयपदार्थ (कोल्ड ड्रिंक्स) मा चिनीको मात्रा धेरै हुन्छ । १ गिलास (२५० एमएल) कोकमा २७ ग्राम चिनी हुन्छ । एक दिनमा चिनीको मात्रा जसमा क्यालोरिनको १० प्रतिशत अथवा २० ग्राम चाहिन्छ । चिनीको मात्रा धेरै प्रयोग गर्नाले मधुमेह हुन सक्ने सम्भावना हुन्छ ।

त्यस्तै चाडबार्डको बेलामा मदिराको खपत धेरै हुन्छ । दिनहुँ मदिरा सेवन गर्नु गलत हो । मदिराको सेवनबाट उच्च रक्तचाप, कलेजोमा खराबी तथा क्यान्सर जस्ता रोग लाग्न सक्छ । त्यसैले स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन । रातो मासु खानु राम्रो होईन । यसले युरिक एसिड उत्पन्न गराउँछ । कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै– छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खान सकिन्छ । यसले शरीरलाई आवश्यक मात्रामा प्रोटिन प्रदान गर्छ । तर, स्वस्थ व्यक्तिले पनि माछा मासु धेरै खानु राम्रो होइन ।

खानेकुरा खाने बेलामा स्वादको पछि लाग्नु राम्रो होइन । खाना जीवन निर्वाहका लागि खाने हो । तर, अचेल मानिस मिठो र जिब्राको स्वादको पछि दौडिरहेका छन् । रंगविरंगका विज्ञापन र कृतिम चिजमा मानिसहरु भुलेका छन् ।

बजारमा पाइने अधिकांश तयारी खाजा र जंक फुड मैदाबाट बनेका हुन्छन् । मैदामा शरीरको पाचन क्रियालाई चाहिने छोक्राबोक्रा हुँदैन । त्यसैले यस्ता चिज खाँदा कब्जियत हुने त्यसमाथि त्यस्ता खानामा प्रयोग हुने रसायन प्रिजरभेटिभ हानिकारक हुन्छ । त्यसैगरी धेरै चिल्लो, पिरो, अमिलो र तारे, भुटेका खानेकुरा पनि खानु उपयुक्त मानिदैन । पकाएर खाने खानेकुरामा पनि नुन खुर्सानी मसला र चिल्लो जस्ता चिजहरु कम राखेर पकाउनु उचित हुन्छ ।

यस्तै पानीको पनि उचित प्रयोग गर्नुपर्छ । हामीले खानासँगै कहिल्यै पनि पानी पिउनु हुँदैन । खानासँगै पानी पिएमा पाचन प्रक्रिया गडबडी भएर समस्या हुन्छ । त्यसैले खाना खानु भन्दा कम्तिमा एक घन्टा अघि र खाना खाएको एक घन्टा पछि मात्र पानी पिउनु पर्छ । पानीको उचित प्रयोगले मात्र पनि धेरै समस्याबाट बच्न सकिन्छ ।

दशैंको खानामा यी पाँच सन्तुलित आहार समावेश गर्नु उचित हुन्छ
१.खाद्यान्न समूह
२. तरकारी र गेडागुडी समूह
३. माछा, मासु, अण्डा अथवा गेडागुडी समूह
४. दूध अथवा दूधबाट बनेका परिकारका समूह
५.फलफूलका समूह

एउटा वयष्क मानिसले खाना कति मात्रामा खाने भनेर उसको उमेर, उचाइ, जीवनशैली, शारीरिक परिश्रम अनुसार फरक हुन्छ । मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ । हाम्रो शरीरको लागि एक दिनमा ५० देखि ६५ ग्राम प्रोटिन आवश्यक पर्छ । प्रोटिनले शरीरको वृद्धि र विकास गर्छ ।

दशैँमा हामीले धेरै मासु सेवन गर्छौं । यसले गर्दा हाम्रो शरीरमा अवश्यकताभन्दा बढी प्रोटिन जम्मा हुन्छ । प्रोटिनको मात्रा बढी हुँदा कलेजो र मृगौलालाई अनावश्यक दबाब पर्छ र तिनीहरूमा हानि पुग्न सक्छ । हाम्रो शरीरलाई दैनिक १० देखि २० ग्राम बोसो भए पुग्छ । छाला र बोसोमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ । त्यसैले मासु पकाउनु अघि नै छाला र बोसो हटाएमा सो मासु खान स्वास्थ्यका लागि राम्रो हुन्छ । चिल्लोले उच्च रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड बढाउँछ ।

नेपालका मासु पसल तथा घरमा मासु काट्दा उचित ध्यान पुर्याउन नसकेका कारण पनि मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने गरेका तथ्य यस अघि सार्वजनिक भैसकेका छन् । मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरु सर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

जसका कारण दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि बढ्ने गरेको छ । यसका लागि मासु खाँदा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ । मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी भई फुड प्वाइजेनिक हुन पुग्छ । जसले गर्दा मासु तथा खाना खाएको केही समयभित्रै पेट दुख्ने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन थाल्छन् ।

मासुबाट शरिरमा रोग सर्ने कारणः

मासु काट्ने स्थान, काट्ने हतियार सफा नभएमा,
मासुको परिकार तयार गर्ने व्यक्ति स्वस्थ नभएमा,
बत्ती नभएका बेला फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा,
सडे गलेको मासु सेवन गरेमा,
राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा,
रसायनयुक्त मासुको प्रयोगबारे सचेत नभएमा रोगहरु हाम्रो शरीरमा सर्दछन् ।

स्वस्थ्य मासु कसरी छान्ने ?

मासु हल्का गुलाबी, हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, अन्य बेलाको मासुको भन्दा फरक किसिमको गन्ध आएको भए त्यो पनि अयोग्य हुन्छ ।

मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनु पर्छ । मासु किन्ने पसल, मासु काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका सफा भए नभएको हेर्नु पर्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ । बासी तथा खुला स्थानमा राखेको मासु नखाने ।
काँचो मासुको परिकार कुनै पनि हालतमा खानु हुदैन ।
पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो ।
राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासु मात्र खाने ।
विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने ।
बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने ।

मासु भण्डारण गर्ने तरीका

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा राख्नु हुदैन । सामान्यतया ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । मासुलाई फ्रिजमा छोपेर मात्र राख्नु पर्छ । काँचो मासु र पाकेको मासु एकै ठाउँमा कहिल्यै राख्नु हुदैन ।

दैनिक व्यायाम गर्ने

दशैँमा धेरै दिन बिदा हुने भएकाले मानिसहरू घरैमा बसेर खाने, तास खेल्ने, टिभी हेर्ने, चङ्गा उडाउने गर्छन् । कतै जानु परे पनि सवारीसाधनको प्रयोग गर्छन् । तर यस्तो बेलामा व्यायाम गर्न भने छोड्नु हुँदैन । बिहानै उठेर १० हजार पाइला पसिना निकालेर हिँडेमा खाएको खाना पचाउन मद्दत पुग्छ । कमसेकम आधा घण्टादेखि एक घण्टा व्यायम गर्नुपर्छ । धेरै खाएर आराम गर्दा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । यसकारण चाडबार्ड भए पनि व्यायाम गर्न नभुलौं ।

Skip This
Logo