प्लाज्मा थेरापी कोरोनाका बिरामीलाई कति प्रभावकारी ?

प्लाज्मा थेरापी कोरोनाका बिरामीलाई कति प्रभावकारी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाल नेपालमा पनि डढेलो झै फैलिरहेको छ । आठ महिना बितिसक्दा पनि यस भाइरसको कुनै पनि औषधी बन्न नसक्दा प्लाज्मा थेरापी उपचार पद्धति संक्रमितका लागि बिकल्पको रुपमा लिइएको छ ।

नेपालको सन्दर्भमा धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक प्लाज्मा थेरापी गरि उपचार गरिरहेको अवस्थामा मृत्यु भयो । उनलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि प्लाज्मा थेरापी बाट उपचार गरिएको थियो ।

त्यस्तै दोस्रो प्लाज्मा थेरापी धरान–१५ का ६७ वर्षीय पुरुषको पनि गरिएको थियो । तर, साउन २७ गते उपचारको क्रममा उनको पनि मृत्यु भएको थियो । काठमाडौं कीर्तिपुर २ का ६३ वर्षीय पुरुष संक्रमित मृतकको पनि प्लाज्मा थेरापी गरिएको थियो । मेडिसिटी अस्पतालमा उनको पनि उपचार गर्दा गर्दै साउन २७ गते मृत्यु भएको थियो ।

पहिलोपटक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएको थियो । उनको उपचार प्रक्रिया सफल भएपछि कोरोना संक्रमितमा आशा जगाएको थियो । पछिल्लो समय संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने कामले तिव्रता पाएको छ । यतिखेर कोभिड संक्रमितका उपचार गराइरहेका अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार विधि प्रक्रिया अघि बढाइएको छ । संक्रमितमा प्लाज्मा थेरापी उपचार विधि सफल नहुँदा केही संक्रमितको मृत्यु पनि भइसकेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको र उपत्यका बाहिरका केही कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिने प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको छ । संक्रमितको अवस्था गम्भीर भएपछि यस उपचार विधि अपनाउने गरिएको छ । कोरोना संक्रमितलाई उपचार गरिने विभिन्न माध्यम मध्ये प्लाज्मा थेरापीलाई पनि प्रयोगमा ल्याइएको हो । कोरोना संक्रमितको उपचारको लागि यो विधि अन्तिम भने होइन । यो उपचार विधि सबैभन्दा पुरानो रहेको चिकित्सकहरु बताउँछन् ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म ७ जनाको प्लाज्मा थेरापीको माध्यमबाट उपचार विधि अगाडि बढाइ सकिएको प्रतिष्ठानका निर्देशक डा. रवि शाक्य बताउँछन् । संक्रमितको अवस्थालाई हेरेर प्लाज्मा थेरापीको प्रयोग गरिरहेको उनले बताए । डा. शाक्यका भन्छन्, ‘प्लाज्मा थेरापीले संक्रमितमा केही राहत महसुस दिनको लागि यसले सहयोग गर्छ तर यो कोरोना भाइरसको उपचार विधि भने हैन थेरापी गरेपछि निको भइहाल्ने भन्ने होइन । रगत उपलब्धताका लागि विभिन्न ब्लड बैंकबाट ल्याइ थेरापीको काम भइरहेको छ ।’ संक्रमितको थेरापी गर्नलाई अस्पतालको छुट्टै टिम लागेर काम गरिरहेको उनले जानकारी दिए ।

‘प्लाज्मा थेरापी विधि सबैभन्दा पुरानो विधि हो । संक्रमितलाई गाह्रो भइसकेपछि यस विधिबाट उपचार गरिन्छ ।’ केही संक्रमित निको भए भन्दैमा उत्साहीत भइ हाल्नु पर्ने अवस्था नभएको धरानस्थित विपी प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटा बताउँछन् । शरीरको इम्युनिटी पावर जसको धेरै छ उसको शरीरमा मात्र प्लाज्मा थेरापीले काम गर्ने उनको भनाइ छ ।

‘कोरोनाको प्लाज्मा थेरापी अन्तिम औषधि होइन’ शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेका केही संक्रमितमा पनि प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी बताउँछन् । अस्पतालमा २ जना संक्रमितको यही विधि अपनाइ उपचार गरिएको भण्डारीले जानकारी दिए । निर्देशक राजभण्डारीले भने, ‘यो उपचार विधिबाट सबै जना निको हुन्छन् भन्ने छैन । यो थेरापी विधि प्रयोग मात्र हो । यसबाट निको हुने ५० प्रतिशत सम्भावना छ । जुन दिन ८० देखि ९० प्रतिशत निको हुने सम्भावना बढ्छ तब यसमा विश्वास हुन्छ ।’

नेपालमा गम्भीर अवस्थाका १५ जना कोरोना संक्रमितमा प्लाज्मा थेरापीको विधिबाट उपचार प्रक्रिया अगाडि बढाइएको संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइराला बताउँछन् । संक्रमितलाई उपचार गर्दा अक्सिजनको साहारामा यो विधिबाट उपचार गराइने उनले बताए । ‘यो विधिबाट उपचार गराइएको सबैलाई निको पार्दैन । भेन्टिलेटर र आइसियुमा रहेका मानिसलाई विशेष गरी विधिको उपचार अपनाइन्छ ।’

कोरोना लागेको मानिसको रगतबाट उपचार गराइन्छ । शरीरमा यसले एन्टीबडीको विकास गर्छ । यसले भाइरससँग लड्ने क्षमताको विकास गर्छ । विदेशमा गरिएको एक अध्ययन अनुसार, प्लाज्मा थेरापीबाट ३० प्रतिशत मानिसको मृत्यु हुनबाट बचाउने गरेको कोइरालाले जानकारी दिए । नेपालमा स्वास्थ्य मन्त्रालयले बनाएको गाइडलाइन अनुसार उपचार गरिरहेको पनि उनले जानकारी दिए । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा प्लाज्मा थेरापीबाट २ जनाको उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालका अनुसार ‘गम्भीर अवस्थाका बिरामीमा यो विधिबाट उपचार गरिन्छ ।’

उनीहरुका अनुसार प्लाज्मा थेरापी उपचार विधि मात्र हो यसमा बढी ढुक्क हुनुपर्ने अवस्था नभएको बुझिन्छ । धेरै मानिसहरु यसबाट निको पनि हुन्छन् भने केही मानिसमा यसले सहयोग पनि गरेको छ ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असर हीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टीबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्णरूपले निको हुन्छ ।

Logo