चितवनमा ४४ नयाँ संक्रमित थपिए, बाँकेमा एक संक्रमितको मृत्यु

चितवनमा ४४ नयाँ संक्रमित थपिए, बाँकेमा एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

आज भरतपुर महानगरपालिकाका ३६ सहित चितवनमा थप ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गए राति गरिएको परीक्षणमा भरतपुर महानगरका ३६ जना, रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ४ जना अन्य जिल्लाका रहेका छन् । प्रयोगशालाका अनुसार नवलपुर, रुपन्द्रेही, धनुषा र तनहुँका १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रस्वासमा समस्या भएपछि भदौ ८ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती व्यक्तिलाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण देखिएको थियो ।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दा गर्दै गए राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निधनप्रति दुःख व्यक्त गर्दै मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यस अघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

Logo