‘नेपालमा कोरोना शुरुवाती चरणमा’ : विश्व स्वास्थ्य संगठन

‘नेपालमा कोरोना शुरुवाती चरणमा’ : विश्व स्वास्थ्य संगठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताएका हुन् ।

उनले नेपालमा अझै संक्रमितको संख्या वृद्धि भई जटिल परिस्थिति आउने बताए । भेन्डिलियरले नेपालमा शुरुका दिनमा विदेशबाट आएका व्यक्तिबाट संक्रमण देखिएको तर अहिले ज्येष्ठ नागरिक, युवा, बालबालिकामा समेत संक्रमण फैलिसकेको बताए।

उनले संघीयतामा समन्वय र सहकार्य महत्वपूर्ण रहेको भन्दै महामारीका बेला केन्द्रीय सरकारले मात्रै समाधान गर्न नसक्ने र यसका लागि स्थानीय सरकारको साथ, सहयोग र सहकार्य जरुरी रहेको बताए। यस्तो समयमा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालहरुको भूमिका पर्याप्त हुन नसक्नु प्रमुख चुनौती रहेको उनले बताए ।

भेन्डिलियरले नेपालमा अधिकांश अस्पताल कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

आम नेपाली लगायत नेपालमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुले अनिवार्यरुपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरीको कायम, बेलाबेलामा साबुन पानीले हात धुने लगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराए । व्यावहारिकरुपमा परिवर्तन अपरिहार्य भएकाले हरेक व्यक्तिले आफ्नो सुरक्षाका लागि जतिसुकै अप्ठ्यारो लागे पनि व्यवहार परिवर्तन गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भएका छन् भने १ सय ६४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।नेपाल समाचारपत्रबाट

Logo