नेपालमा ४,३२२ बालबालिका कोरोना संक्रमित, ४ जनाको मृत्यु

नेपालमा ४,३२२ बालबालिका कोरोना संक्रमित, ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर चार हजार तीन सय २२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एक हजार चार बालिका र तीन हजार तीन सय १५ बालक रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

संक्रमित हुनेमा १५ देखि १८ वर्ष उमेर समूहका धेरै छन् । कोरोनाबाट चार बालबालिकाले ज्यान गुमाएका छन् । ‘अहिलेसम्म संक्रमणको तुलनामा बालबालिकाको मृत्युदर कम छ,’ प्रवक्ता डा. अधिकारीले भने, ‘उनीहरूले अन्य दीर्घरोगी र बालबालिकालाई सार्ने जोखिमचाहिँ धेरै उच्च हुन्छ ।’

समुदायस्तरमा संक्रमण फैलिने क्रममा रहेकाले बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बालरोग विशेषज्ञ डा. आरपी चौधरी बताउँछन् । ‘बच्चाहरू आफैँले वयस्कको जस्तो सावधानी अपनाउन जान्दैनन्, स्कुल पनि बन्द छन्,’ डा. चौधरी भन्छन्, ‘उनीहरू घरमा हुँदा पनि भित्र–बाहिर गरिरहन्छन्, खेल्ने, चकचक गर्ने बालबालिकाको स्वभाव नै हो, त्यसैले अभिभावकले खास ध्यान नपुर्‍याउने हो भने बालबालिकामा संक्रमण भयावह हुन सक्छ ।’

काममा गएर फर्किने अभिभावक भएको घर तथा डेरामा बस्ने बालबालिका झनै जोखिममा रहेको उनले बताए । ‘बालबालिकामा एउटा संक्रमण भए, अर्कोलाई सार्न धेरै समय लाग्दैन । उनीहरूले भौतिक दूरी पनि जान्दैनन्, त्यसैले यस्तो बेला अभिभावकले विशेष ध्यान दिनु जरुरी हुन्छ,’ डा. चौधरी भन्छन् । बालबालिकालाई खानपान र पोषणका कुरामा पनि ध्यान पुर्‍याउनु पर्ने उनको सुझाब छ । नयाँ पत्रिकाबाट

Logo