पाश्चात्य जगतले स्वीकारेपछि मात्र ओशोको पहिचान व्यापक हुन्छः स्वामी आनन्द अरुण

पाश्चात्य जगतले स्वीकारेपछि मात्र ओशोको पहिचान व्यापक हुन्छः स्वामी आनन्द अरुण

केन्द्रबिन्दु
0
Shares

मार्च २१ अर्थात् ओशोले ‘इन्लाइटेनमेन्ट’ प्राप्त गरेको दिन। काठमाडौं नागार्जुनस्थित  ओशो तपोवनमा ‘ओशो इन्लाइटेनमेन्ट डे’ मनाउने गरिन्छ। 

यसै सन्दर्भमा ओशोका अनुयायी तथा तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आफ्ना गुरु ओशोलाई एक विलक्षण व्यक्तिका रूपमा सम्झिएका छन्। 

केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा उनले संस्कृत वाक्यांश सम्झँदै भने, ‘न भूतो, न भविष्यते’ अर्थात् ओशो यस्ता व्यक्ति हुन् जो, न यसअघि जन्मिएका थिए र, न अब जन्मनेछन्।’

‘भविष्य कसैलाई थाहा छैन र, भविष्यवाणीका लागि कुनै अधिकार पनि हामीसँग छैन। त्यसैले कुनै कालखण्डमा अरु कोही आइदेला कि ! तर, यति भन्छु ओशोजस्तो मनुष्य इतिहासमा जन्मिएको छैन,’ उनले भने।

स्वामी अरुणले ओशोको मूल्यांकन अझै नभएको भन्दै गुनासोसमेत पोखेका छन्, ‘ओशोको मूल्यांकन उनको जीवनकालमा त भएन नै, अहिले सम्म पनि भएको छैन। र, यो पनि सत्य हो कि, कुनै पनि गुरुको मूल्यांकन जीवनकालमा हुँदैन।’

पछिल्लो समय ओशोका अनुयायीको संख्या बढ्दै गएको र यसले विस्तारै गति लिने स्वामी अरुणको भनाइ छ। जिसस क्राइस्टको उदाहरण दिँदै उनले सुरुमा जिससले आफ्नो अनुयायी बन्न आग्रह गर्दा जम्मा ११ जना मात्र भएका तर, हाल आएर विश्व जनसंख्याको एक तिहाई संख्या क्रिश्चियन भएको उल्लेख गरे। ओशोको पनि त्यो दिन आउने उनले विश्वास व्यक्त गरे।

पछिल्लो समय नेपालमा १ लाखभन्दा बढीले घरमा ओशोका तस्बिर राख्ने गरेका प्रसंग उल्लेख गर्दै लाखभन्दा बढी ओशोका अनुयायी भइसकेका उनको भनाइ छ ।

‘ओशोको व्यक्तित्व, शिव, कृष्ण र बुद्धको जस्तो थियो त्यस्तै नै हो, तर उहाँलाई चिनाउन अझै बाँकी छ, चिन्न बाँकी छ,’ स्वामी आनन्द अरुणले भने, ‘जसरी रामकृष्णलाई चिनाउन विवेकानन्द आए, त्यसरी नै ओशोका विवेकानन्दहरू पनि आउने छन्।’

५१ वर्षदेखि ओशोका विचारको प्रचारमा आफू क्रियाशिल रहेको बताउँदै स्वामी आनन्दले यहाँ ओशोको प्रतिष्ठा उच्च रहेको बताए। पाश्चात्य मुलुकमा धर्म, योग ध्यानको महत्व अहिले बढ्दै गएकाले पनि त्यहाँ यसको प्रचारप्रसार बढ्ने सके व्यापकता पाउने उनको भनाइ छ। 

‘भौतिक सुखले मानिस सुखी हुन्छ भन्ने अवधारणा भए पनि  पाश्चात्य मुलुकमा आत्ध्यामिक शिक्षाको अभाव खड्किएको छ,’ उनले भने, ‘त्यसैले जुन दिन आफूजस्तै ओशोका अन्धभक्त पाश्चात्य मुलुकमा जन्मिन्छन् त्यही बेलाबाट ओशोको परिचयले व्यापकता पाउँछ।’ 

जब पश्चिमी जगतले कुनै पनि कुराको आदर गर्छ अनि मात्र हामी त्यसको नक्कल गर्न उद्धत हुने भन्दै स्वामी अरुणले त्यस बेलादेखि मात्र ओशोको वास्तविक पहिचान संसारभर खुल्ने बताए।

 

Skip This
Logo