आज भूपी शेरचनकाे ८४ ‍‍औं जन्म जयन्ती

आज भूपी शेरचनकाे ८४ ‍‍औं जन्म जयन्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छौँ’ गीतका रचयिता भूपी शेरचनको आज ८४ औँ जन्म जयन्ती हो भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२ गते मुस्ताङको टुकुचे भन्ने गाउँमा भएको हो ।

सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास नाम भूपेन्द्रमान शेरचन हो । भूपेन्द्रमान शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रहमार्फत आफूलाई भूपि शेरचन भनेर आपूmलाई चिनाएका हुन् ।

भूपि पाँच वर्षका हुँदा उनकी आमाको मृत्यु भएकाले र उनका दिदीबैनी नभएकाले उनी मातृजातिको स्नेहबाट वञ्चित भएको उल्लेख छ । त्यति मात्र नभएर छोरीको आशमा छोरा भइदिएकोले पारिवारिक उपेक्षामा उनको बाल्यकाल बितेका थिए ।

यस किसिमको पारिवारिक विषम परिस्थितिमा हुर्किएका कवि शेरचन १०/१२ वर्षको उमेरदेखि शिक्षाका लागि बनारसमा बस्न थालेका थिए । बनारसमा अध्ययन गर्ने क्रममा उनी माक्र्सवादी चिन्तनप्रति आकर्षित भएको पाइन्छ । उनी कम्युनिस्ट राजनीतिमा प्रतिबद्ध भएको पाइन्छ । उनले बनारसमै बसेर बी.ए. सम्मको औपचारिक शिक्षा पुरा गरेका थिए । भूपिको साहित्यतिर अभिरूचि २००६ सालबाटै देखिए पनि उनको पहिलो प्रकाशित रचना/कृति भने ‘परिवर्तन’ (२०१०) नाटक हो ।

भूपि वि.सं. २०१२ मा वैवाहिक बन्धनमा बाँधिएको पाइन्छ । यसै ताका भद्र अवज्ञा आन्दोलनमा भाग लिँदा उनी जेलमा समेत परेका थिए । वि.सं. २०२६ मा उनले दोस्रो विवाह गरे । वि.सं. २०२६ मै उनको “घुम्ने मेचमाथि अन्धो मान्छे”ले साझा पुरस्कार जित्यो । यसपछि भूपिका फुटकर रूपमा फाट्टफुट्ट कविता र अन्य रचना पत्रपत्रिकामा प्रकाशित भए पनि कृति भने प्रकाशनमा आएको पाइँदैन । वि.सं. २०३० तिर उनी चर्काे बिरामी परेका र बिरामीबाट तङ्ग्रिएपछि दम र मधुमेहको रोगसित लड्दै साहित्यिक संसारमा क्रियाशील भएका थिए ।

भूपि वि.सं. २०३६ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य बनेका थिए । प्रज्ञा प्रतिष्ठानको कुर्ची पदबाट भूपि सन्तुष्ट भने देखिँदैनन् । उनी “घुम्ने मेचमाथि पुगेपछि म आधा अन्धो मान्छेचाहिँ भएँ” भनी यसप्रति असन्तुष्टि व्यक्त गर्छन् । आठ सन्तानका पिता र दुई पत्नीका पति भूपि सङ्गीत, क्रिकेटमा रूचि राख्थे । वि.सं. २०४६ जेठ १ गते ५४ वर्षको उमेरमा उनको निधन भएको हो ।

Logo