क्षणिक प्रभाव मात्र नपारी गहिरो प्रभाव छाड्ने पुस्तक उपयोगी हुन्छन् ।

क्षणिक प्रभाव मात्र नपारी गहिरो प्रभाव छाड्ने पुस्तक उपयोगी हुन्छन् ।

केन्द्रबिन्दु
0
Shares

ज्ञानु अधिकारी नेपाली साहित्यमा एउटा स्थापित नाम हो । नेपाली साहित्यको समालोचना क्षेत्रमा उहाँको उल्लेख्य भूमिका छ । यसपटक केन्द्रबिन्दु डटकमको नियमित स्तम्भ केवल सात सवालमा पुस्तकसँग केन्द्रित रहेर हामीले उहाँसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, केन्द्रबिन्दुकर्मी ज्ञानमणि नेपाल कालोटोपीले उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

१ तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

मैले पछिल्लो पटक साहित्यकार राजेन्द्र सुवेदीले सम्पादन गर्नुभएको समसामयिक नेपाली समालोचना कृति पढिरहेकी छु । यो भर्खरै मेरो हातमा परेको हो । आफूलाई समालोचना विधामा विशेष रुचि भएकाले यो पुस्तक पढेकी हुँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

सृजनाका किताबहरू छनोट गर्नु भन्दा समालोचनाका किताब छनोट गर्न सजिलो लाग्छ । विषय हेर्‍यो, त्यसले समेटेको विषयवस्तुको गम्भीरता र सान्दर्भिकता जाँच्यो अनि छान्यो ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

सृजना कृतिको जस्तो समालोचना कृतिको सार भन्ने हुँदैन । यस कृतिमा ३४ जना विद्वान समालोचकहरूको समालोचना समेटिएको छ । यी समालोचनाहरूले नेपाली साहित्यका सबै विधा प्रवित्तिहरूलाई प्राय: समेटेको छ । यस्ता कृतिहरू समालोचक र अनुसन्धाताले मात्र होइन, सबै विधाका स्रष्टाहरूले समेत पढ्नु जरुरी हुन्छ । यस पुस्तकले अहिलेको नेपाली साहित्यको अवस्था र स्थितिको बोध गराउनुका साथै रचना, कृतिहरूलाई अध्ययन गर्ने नवीन चेत पनि दिन्छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

यस कृतिमा समेटिएका समालोचना मध्ये केही समालोचनाले कृति विश्लेषणका नयाँ प्रारूपहरूका बारेमा चर्चा गरेका छन् भने केहीले साहित्यका नयाँ विषय र पद्धतिलाई उजागर गरेका छन् । मलाई यस कृतिको यही कुराले छोयो अर्थात आकर्षित गर्‍यो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

यस कृतिमा सम्पादकद्वारा छनोट गरिएका समालोचनाहरू समेटिएका छन् । प्राज्ञिक र ज्ञानमूलक कृति भएकाले सुधार गर्नुपर्नेभन्दा सिक्नुपर्ने कुरा धेरै छन् ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

यो पुस्तकलाई रेटिङ गर्न नै मिल्दैन ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न के कस्तो तरिका सुझाउनु हुन्छ ?

पाठकहरूलाई पुस्तक छनोटका लागि सुझाव दिनु पर्दा सबैभन्दा पहिले पाठक कुन उद्देश्यले, कुन भोकले किताब पढ्न खोजेको छ त्यसमा निर्भर रहन्छ । पाठक आफैंले आफ्नो रुचि र आवश्यकतामा स्पष्ट हुनु पर्छ । विषयको प्रकृति हेरेर त्यस्ता कृतिहरू छान्नु पर्दछ जसले क्षणिक प्रभाव मात्र नपारी गहिरो प्रभाव छाड्ने र केही नयाँ कुरा जान्न सकिने किसिमको होस् ।

Logo