संस्मरण : फोन व्यापारसँग जोडिएको त्यो हत्या

संस्मरण : फोन व्यापारसँग जोडिएको त्यो हत्या

केन्द्रबिन्दु
0
Shares

  • ईश्वरकुमार मैनाली –

एकादेशमा एउटा राजा थियो । त्यो राजाको नाम तारवाला टेलिफोन थियो । हो, राजा । किनभने त्यो बेला देशमा गणतन्त्र आइसकेको थिएन । हाम्रो गाउँको एउटा घरमा पनि यस्तै एउटा तार भएको टेलिफोन थियो । त्यो तारवाला टेलिफोन त्यो बेलाका देशका राजाजस्तै शक्तिशाली थियो । टेलिफोन आयो भनेर कसैले खबर गर्नेबित्तिकै जो जस्तो अवस्थामा छ, त्यो कुदेर हाजिर हुन पुग्दथ्यो ।

विक्रमको ६० सालतिरको कुरा, गाउँमा एकजना आफन्त पर्नेले गाउँमा पिसिओ जडान गरेका थिए । गाउँका सबै घरबाट कोही न कोही काठमाडौं बस्थे । गाउँमा फोन जोडिएपछि त्यसबाट फोन गर्नेहरूको ताँती नै लाग्न थाल्यो । मानिसहरूले भन्न थाले, काठमाडौंबाट किनेर ल्याएको एक हजारको फोन सेटले ती व्यक्तिले काठमाडौंमा जग्गा नै किने रे । काठमाडौंमा जग्गा किनेको कुरा पत्याउने धेरै भएनन् तर त्यो एकतल्ले घरले प्रत्येक वर्ष एक एक तला थपिने मौका पायो ।

म पनि यसो मौका पारेर सहरका आफन्तीलाई फोन गर्न त्यहाँ पुग्थेँ । गाउँमा उनको फोनबाट कसैलाई फोन नगर्नुको अर्थ थियो, सबैभन्दा पछाडि पर्नु । म त्यो चाहन्न थिएँ । त्यसैले चिनेजानेको नम्बर पाएपछि दशबीस रुपैयाँ भए पनि त्यो घरलाई दान दिन पुग्थेँ । चाहे त्यो पैसा बुबाको खल्तीबाट सुटुक्क निकाल्नु नै किन नपरोस् । फोन गर्न बस्दा सेतो रङ्गको फोनवालाको भित्ताबाट मिठो बास्ना आउँथ्यो । त्यो घरको भित्तो कमेरोले लिपिएको थिएन, गहुँको पिठोजस्तो सेतो धुलोले रङ्ग्याइएको थियो ।

त्यसपछि अचानक गणतन्त्र आयो । गणतन्त्रसँगै अनेक राजाहरू उत्पन्न भए, तारविहीन राजाहरू । धनी होस् अथवा गरिब सबैको सपना थियो त्यही राजा । थोरै मान्छेका लागि त्यो कामको भाँडो थियो, धेरै भने मसँग पनि फोन छ भनेर देखाउनकै लागि बोक्ने गर्थे । आफूलाई ठूलो देखाउन भए पनि फोन बोक्नुपर्दथ्यो । बरु खान नपुगोस्, सबैलाई त्यही छोटे राजा अर्थात् माबाइल फोन चाहिएको थियो ।

हातहातमा छोटे राजा देखिन थालेपछि बडे राजा अर्थात तारवाला फोनमा मानिसको भीड देखिन छाड्यो । त्यो घरमा असन्तोष, छटपटी र तिक्तता बढेको प्रस्टै देखिन्थ्यो । त्यो व्यक्तिले मात्र त्यो घरको मुस्कान देख्न पाउँथ्यो, जसको घरमा कसैले यो छोटे राजा नबोकेको होस् । तर गणतन्त्र कालमा बडेराजाको कुरामा कसले ध्यान देओस् । म पनि यो छोटे राजालाई एकपल्ट देख्न पाए, छुन पाए हुन्थ्यो भन्ने सोचिरहन्थेँ ।
एक दिन चैते बिदामा बुबा गोजीभरि तलब बोकेर सहर जानु भो । फर्कदा उहाँले पनि छोटे राजा बोकेर आउनुभयो । म जन्मँदा पनि मेरो घरमा त्यति खुसी छाएको थिएन होला, त्यति खुसी घरमा आयो ।

बार्दलीको झ्यालछेउमा बाको ओछ्यान थियो । रात परेपछि ओछ्यानकै मास्तिर भित्तोमा जिरो वाटको चिमले हामीलाई उज्यालो देखाइरहन्थ्यो । पैसा बचाउन ठूलो बाटको बत्ती नराखिएको मैले धेरैपछि थाहा पाएँ । त्यो बत्तीको स्विच भने तल मझेरीमा थियो । तारवालाजस्तो यो सधैं चल्दैन, यसलाई बेला बेलामा चार्जको आवश्शयकता पर्छ भन्ने कुरा बुबालाई पनि थाहा रहेनछ । पुनः एक सातापछि उहाँले चार्जर लिएर आउनुभयो । अब बत्तीको स्विच झ्यालछेउ सर्यो । अनि झ्यालमा थपियो, नयाँ फोन चार्ज गर्ने नयाँ प्लगइन ।

नयाँ राजा आएसँगै त्यसको मानमनितो नै फरक भयो । बुबा बाहेक कसैले छुन नपाउने । फोन आयो भने सबैले उसलाई नै हेर्ने । आफ्नो फोनमा रिङ बजोस् भन्ने कामना बुबाको त हुन्थ्यो नै हाम्रो पनि हुन्थ्यो । त्यही रिङबाट नै आफ्नो घरमा पनि मोबाइल फोन भएको जानकारी दिन सकिन्थ्यो ।

बा स्कुल पढाउन जानुहुन्थ्यो । आमा मेला पात, दिउँसो घर शून्य हुन्थ्यो । पढाउन जाँदा त्यो राजालाई दराजमा जनतपूर्वक लुकाएर राखिन्थ्यो र साँझ आएपछि त्यसलाई बुबाको ओछ्यानको छेउमा चार्जमा राखिन्थ्यो । त्यसलाई छुने अधिकार बुबाको मात्रै भएकाले हामी परैबाट हेरेर त्यो नयाँ राजालाई स्वागत गर्दथ्यौं । तर मेरो उमेर नै त्यस्तै थियो, नछोई चित्तै नबुझ्ने ।

एक रात, बा भात खाएर पल्टिनुभएको थियो । आमा कोठामा पस्नुभएको थिएन, धन्धामा व्यस्त हुनुहुन्थ्यो । त्यसैले कोठा खुल्लै थियो । म बिरालोको चालले बाको ओछ्यानमा पुगेर थुचुक्क बसेँ । कम्ता आनन्द लागेन । टक्क छानोतिर आँखा पल्टाएर दुई हात सिरानी राखी एक छिन टोलाइरहँे । बुबाले सिरानीको छेउमा भित्तातर्फ त्यसलाई राख्नुभएको रहेछ । अब मिसनमा लाग्नु थियो ।

मैले सुटुक्क त्यसलाई झिकेँ र थिचेँ । कलरफुल बत्ती बल्यो । छाडेँ, एकछिनसम्म बलिरह्यो । बुबालाई हेर्दा आफैँ निभ्यो । फेरि थिचेँ, बल्यो । बाहिर निस्किएर त्यसलाई जताततै थिच्न थालेँ । अचानक ट्वाँ कराउँदै झ्याप्प निभ्यो । त्यसपछि थिचेँ, बलेन । फेरि थिचेँ, बल्दै बलेन । सातो गएजस्तो भयो । त्यही बेला बाले खोक्नुभयो । आमा भान्साबाट बाहिर निस्केर आँगनमा जानुभयो । मेरो मुटु निस्केलाजस्तो भयो ।

अनेकतिर थिचे पनि त्यो बल्दै बलेन । अब पर्यो फसाद ! हतार हतार कोठाभित्र छिरेँ सिरानीतिर फुत्त फ्याँकेर बाहिरिएँ । आफ्नो कोठामा गएपछि पनि मेरो मुटुको धड्कन चल्न बन्द भएन । आमा कोठामा छिरेर ढोका लगाएको सुनेँ । चालमारेर भित्र कुनै आवाज आउँछ कि भनेर सुनेँ तर एकक्षणपछि बा घुरेको आवाज आउन थाल्यो । कसैगरी पनि मन शान्त भएन, रुन मात्र मन लागेर आयो ।

भोलिपल्ट बिहान चाल मारेर कोठामा पस्दा बा मोबाइल चलाउँदै हुनुहुन्थ्यो । त्यसको बत्ती बल्न थालेको थियो । बुरुक्क उफ्रन मन लाग्यो तर उफ्रन सकिन ।

बिस्तारै हाम्रो घरमा फोन भएको कुरा गाउँमा फैलियो । छिमेकीहरू पनि हाम्रोमा फोन गर्न आउन थाले । त्यो बेला बडो सानका साथ भन्नुहुन्थ्यो, ‘जा ईश्वर, गएर फोन लाइदे । म पनि फूर्तिका साथ बाको कोठामा छिर्थें र सानो राजालाई सानका साथ बोकेर उनीहरूका अघि हाजिर गराउँथँे । त्यसपछि त गाउँमा मेरो छुट्टै महत्व बढ्दै गयो । फोन उठाउन र राख्न जान्ने भएँ । चार्ज सकिएको थाहा पाउन थालेँ । यति गरेपछि म फोन चलाउन जान्नेमा कहलिन थालेँ । गाउँमा कसैको फोनमा केही समस्या आयो कि मसम्म आइपुग्थे ।

त्यहीँबाट सुरु भयो, मेरो व्यापारको सिलसिला । मोवाइल अफ मात्र भएको हुन्थ्यो, तिनीहरू आत्तिन्थे । म पाँच रुपियाँ लिन्थेँ अनि एक घण्टामा आउनु भनेर उनीहरूलाई पठाउँथेँ । यसरी मैले गाउँमा दुई चार रुपैँया कमाउन थाले । अब मसँग चकलेट र चाउचाउ किन्ने पैसा थियो र त्यही पैसाको बलले म साथीहरूका अघि विशेष हुन थालेँ ।

अर्कोपटक बा सहर जानुभयो । यसपटक उहाँले रंगिन टेलिभिजन ल्याउनुभयो । गाउँमा यो पहिलो रंगिन टेलिभिजन थियो । अब ध्यान किताबमा होइन, टेलिभिजनमा जान थाल्यो । मोवाइलको व्यापार टेलिभिजनमा पनि सुरु गरेँ । घरमा कोही टेलिभिजन हेर्न आउन थाल्यो भने एक घन्टाको दुई रुपैंया लिन थालेँ । शनिवार नेपाली चलचित्र आउँथ्यो । त्यसका लागि पाँच रुपैयाँ लिन्थेँ । पाँच रुपैयाँ तिरेर मेरो घरभरि टेलिभिजन हेर्नेको भीड लाग्दथ्यो ।

मेरा दिन यसैगरी बित्न थाले । म आफूले कमाएको पैसामध्ये धेरैजसो आमालाई राख्न दिन्थेँ । फेरि माग्ने आवश्यकता थिएन, किनभने टेलिभिजन र मोवाइलले बेलाबेलामा आम्दानी दिई नै रहन्थ्यो । उल्टै बचत पैसा आमालाई नै राख्न दिन्थेँ । मोबाइल र टेलिभिजन नयाँ राजा थिए । ती राजालाई हेर्न र समस्या सुल्झाउन गाउँका मानिस मसँग आउँथे र मलाई धनी बनाउँथे । हेर्दा हेर्दा म पो राजा जस्तो हुन थालेँ ।

अर्कोपल्ट बा पुनः सहर जानुभयो । फर्कदा अरू धेरै सामग्रीका साथ रंगीन र फोटो खिच्ने मोवाइल लिएर फर्कनुभयो । त्यसपछि म अझ ठूलो मान्छे भएँ । स्कुल जाँदा पुटुक्क गोजी पारेर बस्थेँ । शिक्षकहरूलाई आधुनिक प्रविधिको ज्ञान दिन्थेँ । शिक्षकहरू छक्क परेर मेरा कुरा सुन्नुहुन्थ्यो । मेरो मोवाइल विशेष थियो र त्यसका बारेमा अल्पज्ञान थियो । मेरो कुरा सुन्दै त्यसलाई छुने र हेर्ने तिर्सना विद्यार्थीमा मात्रै होइन, शिक्षकमा अझ बढी देखिन्थ्यो । अब गाउँका ‘ठूलाबडाका मोबाइलमा आएका सबै समस्या मैले नै समाधान गर्नुपर्ने अवस्था सिर्जना भयो ।

त्यसपछि मैले घरपछाडि आफ्नै मेहेनताले एउटा सानो कटेजजस्तो बनाएँ । जहाँ म मेरो व्यवसाय गोपनीय र महँगो मूल्यका साथ गर्न थालेँ । गाउँका हुर्केबढेका दिदीहरूका प्रेमीहरूलाई फोन लगाइदिने, कुराकानी गराउने र त्यसको राम्रै मूल्य लिने गर्न थालेँ । तर थाहा भएन, मेरा ग्राहकमध्ये जमुना दिदी, जसको कारण मैले जीवनमा सबैभन्दा धेरै रकम कमाएको थिएँ, उनलाई दुप्चेको जात्रामा भेटिएको सहरिया ठिटोले फसाएछ ।

ती दिदी रातभरि मेरो फोनबाट ती प्रेमीसँग फोन गर्थिन् । बदलामा सहरबाट उसले मेरो मोवाइलमा दैनिक सय रुपैयाँको चार्ज हालिदिन्थ्यो । बदलामा उनी घरबाट अनेक बहाना बनाएर मलाई पैसा बुझाउँथिन् । पैसा भएका बेला थप पाँचदस रुपियाँ उसै दिन्थिन् । सायद घरमा भनिदिन्छ भन्ने डर पनि हुँदो हो ।

एक दिन त्यो सहरिया ठिटोले दिदीलाई भगाउने नै भयो । मेरै फोनले झाँगिएको उनीहरूको प्रेमको सूत्रधार मै थिएँ । मबाट यो कुरा लुक्नसक्ने कुरै थिएन । यसबाट फाइदा नलिने कुरै भएन ।

गाउँबाट जमुना दिदी भाग्ने तरखर हुँदै गर्दा अरूको प्रेम पनि यसैगरि चल्दै थियो र मेरो आम्दानी पनि बढ्दै थियो । चार जोडीले मेरै फोनका कारण नयाँ संसारको निर्माण गरे ।

तर छोटे राजाको यो राज धेरै चलेन । गाउँमा फोनको सङ्ख्या बढ्दै जाँदा मेरो कालोबजारीको पोल पनि खुल्दै गयो । मिस कल गरेको पैसा, कल गरेको पैसा, गेम खेलाएको पैसा, फोन चार्ज गरेको पैसा, फोन अफ भएकोलाई अन गरेको पैसा, नयाँ रिङ टोन हालेको पैसा, साउन्ड सानो बनाएको, ठूलो बनाएको सबैको पैसा लिएको कुरा खुल्दै गयो ।

स्वाभाविक थियो, मेरो व्यापार पनि घट्दै गयो । र, एक दिन यही धन्दाले मलाई अप्ठ्यारोमा पारिदियो ।

भयो के भने, मसँगै पढ्ने साथी जीवनले एक दिनका लागि मसँग मोबाइल भाडामा दिन आग्रह गर्यो । प्रस्ताव आकर्षक थियो, पाँच सय । एक दिनमा पाँच सय कमाइ हुन्छ भने फोन नदिने कुरै थिएन । ऊ साँझ फर्कन्छु भनेर गयो । ऊ जानुको कारण कञ्जन नामकी केटी थिई । उनीहरूको चक्कर चलेको भन्ने सुनेको थिएँ । तर मलाई व्यापारसँग मतलब थियो, बाँकी कुरा बुझ्ने मलाई फुर्सद थिएन ।

साँझ पर्यो, ऊ आएन । बिहान भयो तर आएन । एक दिन बित्यो, दुई दिन बित्यो तर ऊ आएन । घरमा फोनको खोजी हुन थाल्यो । अनेक बहाना बनाएर टार्दै थिएँ, ठीक यही बेला एकाएक सनसनपूर्ण समाचार फ्याँक्यो रेडियोले । समाचार थियो, अन्दाजी १६ वर्षकी गोरी कद भएकी एक केटीको बेवारिसे लास जङ्गलमा भेटिएको छ । उसको हत्या भएको हुन सक्ने आशङ्का गाउँभरि व्याप्त थियो । मेरो मुटुले ठाउँ छाड्यो । यता मोबाइल लिएर जीवन जानु अनि स्कुलमा कञ्चन नदेखिनु । जीवनले कञ्चनलाई बिहे गर्न जबरजस्ती कर गरेको थियो रे । उमेर सानै छ अहिले बिहे गर्दिन भन्दा उसले तँलाई मार्दिन्छु भनेको थियो रे । यस्तो हल्ला गाउँको सिरानदेखि पुछारसम्म चलिरहेको थियो ।

एकैक्षणपछि खबर आयो, मृतक कञ्चनको नजिकै प्रहरीले एउटा फोन भेटाएको छ । मेरो संसार डुब्यो । मेरो पैताला भासिएको अनुभव भयो । अब भाग्नु बाहेक विकल्प छैन भन्ने लाग्यो । म तुरुन्तै गाडी चढेर भागेँ । बीचमा खाजा खान रोक्ने ठाउँमा गाडी रोक्दा झल्लास्स भएँ । यसरी भागेँ भने म त झन् फस्छु । गल्ती नगरी किन भाग्नु, बरु साँचो कुरा बताउँछु । म अर्को गाडीबाट फरक्क फर्किएँ ।

घर पुग्ने बेलामा अचानक मैले हत्यारा ठानेको मेरो साथी उसको आमासँग कतैबाट आइरहेको छ । मैले उसलाई अचानक कराएँ, कहाँ गएको थिस्, मेरो मोबाइल ले ।

उसले गोजीबाट सरक्क मोबाइल झिकेर दियो । मैले अविश्वास गर्दै मोबाइल पल्टाउँदै हेरेँ । साँच्चै नै त्यो मेरो मोबाइल थियो ।

उसले त आफूले मन पराएको केटीको बारेमा केही पनि थाहा पाएकै रहेनछ । ऊ रुन थाल्यो । म भने मोबाइल बोकेर घरतिर कुदेँ । घरमा बा कान थापेर रेडियो सुनिरहनुभएको थियो । रेडियोले भन्दै थियो, जंगलमा मृत अवस्थामा भेटिएकी युवतीको हत्यामा संलग्न काठमाडौं बानेश्वर घर भई हाल मनमैजु बस्ने प्रकाश थापा घटनास्थल नजिकैको होटेलमा बसिरहेको अवस्थामा पक्राउ …. ।

Logo