कथावाचक साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

कथावाचक साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैले फिल्मको घोषणा गरे।

शिशिर खातीले निर्देशन गर्ने फिल्म प्लानेट थ्री फिल्मस्ले निर्माण गरेको छ। प्लानेट थ्रीले यसअघि फिल्म ‘रङ्गेली’ निर्माण गरेको थियो। फिल्ममा अर्जुन सुवेदी कार्यकारी निर्माता छन्।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो उपन्यास ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ।

एक हजार बढी दर्शकमाझ आयोजित कार्यक्रममा फिल्म घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए। उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले अडियो नोभेल तयार पारेको खुलाए। फिल्ममा सुजन चापागाईं र उनको टिमले तयार पार्नेछ। तर यो गीत फिल्ममा हुनेछैन।

‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो फिल्म बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो’, उनले भने, ‘मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ। उहाँले हुँदैन भन्दै ‘मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौति हुन्छ त्यही गर्न चाहन्छु’ भन्नुभयो।’ मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ। अब तपाईँको प्रेमले सफल हुनेछ।’

पहिलो पटक फिल्म निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यानमध्ये एक रहेको बताए। ‘मैले लगातार सात–आठ महिना देखि चलचित्रको विषयलाई लिएर पिछा गरिरहेको थिएँ। धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन। एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो। म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा चलचित्र रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी चलचित्र बनाउनेछु,’ शिशिरले भने।

शिशिरले दर्जनौं म्युजिक भिडियोहरू र फिल्मका गीतमा कोरियोग्राफी गरेका छन्। कार्यकारी निर्माता सुवेदीले यसअघि फिल्म ‘रङ्गेली’ निर्देशन गरेका थिए। वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको फिल्मका कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन। फिल्मका निर्माण नियन्त्रक मनोज जोशी हुन्।

Logo