मकवानपुर । बागमती प्रदेशको राजधानीका रूपमा प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा व्यापारिक गतिविधि विस्तार हुँदै जाँदा हेटौंडा बसाइँसराइको प्रमुख गन्तव्य बन्दै गएको छ। पछिल्ला चार वर्षको तथ्यांकले पनि उपमहानगरमा जनसंख्या वृद्धि निरन्तर भइरहेको देखाउँछ।
हेटौंडा पछिल्ला वर्षहरूमा बसोबास, शिक्षा, रोजगारी, व्यापार तथा स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । यही कारण देशका विभिन्न जिल्लाबाट बसाइँ सरेर हेटौंडा आउनेको संख्या निरन्तर बढ्दै गएको छ । हेटौंडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांकले उपमहानगर क्षेत्रमा बसाइँसराइमार्फत जनसंख्या वृद्धि तीव्र बन्दै गएको देखाएको छ ।
शाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा १ हजार २४ परिवार, २०८०/८१ मा ९५९ परिवार, २०८१/८२ मा ८१९ परिवार र चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म ५९३ परिवार हेटौंडामा बसाइँ सरेर आएका छन् । चार वर्षको अवधिमा कुल ३ हजार ३९५ परिवार हेटौंडामा बसाइँ सरेर आएका छन् ।
सोही अवधिमा २०७९/८० मा ५६६ परिवार, २०८०/८१ मा ५८६ परिवार, २०८१/८२ मा ४८० परिवार र चालु आर्थिक वर्षको वैशाखसम्म ३५३ परिवार अन्यत्र बसाइँ सरेर गएका छन्। यसरी चार वर्षमा १ हजार ९८५ परिवार बाहिरिँदा पनि आउनेको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।
उपमहानगरपालिकाका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीलगायत तराईका जिल्लाबाट बसाइँ सरेर आउनेको संख्या सबैभन्दा बढी छ । बसोबासका लागि आउने अधिकांश परिवारले उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ७ र ८ लाई प्राथमिक गन्तव्य बनाउने गरेका छन् ।
बाराको निजगढबाट हेटौंडा–८ कमानेमा बसाइँसराइ गरी आएका बालकृष्ण न्यौपानेले अध्ययनका लागि हेटौंडा रोजेको बताए । पछि रोजगारीको अवसर प्राप्त भएपछि स्वास्थ्य, शिक्षा तथा अन्य सुविधासमेत आफ्नो जिल्लाभन्दा राम्रो लागेकाले परिवारसहित हेटौंडामै बसोबास गर्न थालेको उनले बताए ।
मकवानपुर बहुमुखी क्याम्पसका स्वास्थ्य, जनसंख्या तथा शिक्षा विभाग प्रमुख सहप्राध्यापक उमेश अर्यालका अनुसार हेटौंडामा बसाइँसराइ बढ्नुका पछाडि सामाजिक, आर्थिक र भौगोलिक कारणहरू छन् । उनका अनुसार तराई/मधेश आन्दोलनपछि हेटौंडालाई तुलनात्मक रूपमा सुरक्षित स्थान मानेर बसाइँ सर्ने क्रम बढे पनि पछिल्लो समय शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार तथा अवसरको खोजीमा आउनेको संख्या उल्लेख्य रूपमा बढेको छ ।
‘पछिल्लो समय नगरपालिका उपमहानगर हुनु र बागमती प्रदेशको राजधानी बनेपछि सम्भावनाको खोजी गर्दै आउनेको संख्या बढेको छ,’ उनले भने, ‘तराईका जिल्लाबाट विद्यालय तथा उच्च शिक्षाको अध्ययनका लागि आउने विद्यार्थी, व्यवसाय गर्ने उद्देश्यले आउने व्यापारी तथा सुरक्षित र व्यवस्थित बसोबास खोज्ने परिवारहरूका कारण पनि जनघनत्व बढिरहेको छ।’
अर्यालका अनुसार मौसमको हिसाबले पनि हेटौंडा अन्य धेरै क्षेत्रको तुलनामा अनुकूल मानिन्छ। तराई र पहाडको बीचमा अवस्थित भएकाले यहाँ अत्यधिक गर्मी वा अत्यधिक जाडो नहुने, भू-अवस्थिति र वातावरण पनि बसोबासका लागि उपयुक्त भएकाले मानिसहरूको आकर्षण बढ्दै गएको उनले बताए।
जनसंख्या वृद्धि र बसाइँसराइको बढ्दो प्रवृत्तिसँगै सहरी पूर्वाधार तथा सेवा प्रवाहमा दबाब बढ्ने चुनौती देखिए पनि हेटौंडा उपमहानगरपालिकाले त्यसअनुसार विकास र व्यवस्थापनका योजना अघि बढाएको जनाएको छ। मेयर मीनाकुमारी लामाले हेटौंडालाई बसोबासको गन्तव्य बनाएर आउने नागरिकको सेवा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन्।































प्रतिक्रिया