काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उक्त भेटमा नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको भारतका प्रधानमन्त्री मोदीले बताएका छन् । भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाएका छन् ।
मोदी र लामिछानेबीच एक घण्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्।
भेटवार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार रास्वपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको बताएका थिए। मोदीले २१ फागुनको निर्वाचनमा रास्वपाले हासिल गरेको प्रभावशाली जितको प्रशंसा गरेका थिए।
मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका नेताहरू विपिन आचार्य र दीपक बोहोरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति थियो। बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिस्रीलगायत उपस्थित थिए।
पछिल्लो समयमा चर्चामा रहेका सीमालगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताए। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ।
भारतीय विदेश मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गरेका थिए।
भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिएका थिए। ‘तपाईंहरू पहिले आफ्नो प्राथमिकता तय गर्नुहोस्,’ मोदीले लामिछानेलाई भने, ‘हामी त्यसमा हरसम्भव सहयोग गर्छौं।’ नेपालको तीव्र आर्थिक विकासका लागि पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न मोदीले लामिछानेलाई सुझावसमेत दिएका थिए।
ती अधिकारीका अनुसार लामिछानेको भ्रमण र उच्चस्तरीय भेटघाटले भारत सरकार र सत्तारूढ भाजपा दुवै रास्वपा नेतृत्वको सरकारसँग सम्बन्ध बढाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन् ।
दिल्लीको रणनीतिक र कूटनीतिक वृत्तले लामिछानेको भ्रमण, जारी सीमा विवाद र त्यससम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्ति र नेपालको नयाँ सरकारअन्तर्गत द्विपक्षीय सम्बन्धलाई नजिकबाट नियालिरहेको थियो।मोदीले प्रधानमन्त्री शाहलाई शुभकामना पनि पठाएका छन्। ‘मैले उहाँलाई भारत भ्रमणको निम्तो पठाइसकेको छु र उहाँलाई दिल्लीमा स्वागत गर्न तयार छु,’ मोदीले लामिछानेसँग भनेका छन्।
रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग फलदायी वार्ता भएको भन्दै खुसी व्यक्त गरेका छन्। ‘विगतका असहजतालाई बिर्सेर नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्ने तपाईंको दृष्टिकोणमा म पनि सहमत छु। साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र अवरोधरहित कनेक्टिभिटीमा केन्द्रित भएर हामी साँच्चिकै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस्तै ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिला) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले जनाएका छन्। उनले नेपालसँगको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं।’
मोदीले सामाजिक सञ्जाल एक्समा साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने सभापति लामिछानेको चाहनालाई आफूले स्वागत गरेको जनाएका छन्। उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्छु।’





























प्रतिक्रिया