संस्मरण : छाेटाे हुँदो रहेछ ९७ वर्ष पनि…

संस्मरण : छाेटाे हुँदो रहेछ ९७ वर्ष पनि…

केन्द्रबिन्दु
0
Shares

  • कमल ढकाल

पशुपतिनाथको परिसर फेरि उदास भयो । जीवनको इन्द्रेणी देखिने पशुपतिमा एक जीवन धुँवा बनेर उडिरहेको थियो । मदनमणि दिक्षितको धुँवाले जीवनको नयाँ परिभाषा पाइरहेको थियाे । सिर्जनशील, अनुशासित र असल जीवन भए लामो जीवन पनि छोटो लाग्दो रहेछ ।

मृत्युपछि हरेकले जीवनको संश्लेषण र विश्लेषण गर्छन् । आफूसँग मृत्यु भएको मान्छेलाई जोडेर हेर्दछन् । मदनमणिको दीर्घ साहित्यिक जीवनलाई युगौ युगसम्म जोडेर हेर्न सकिन्छ । मान्छेको मृत्युले मलाई सबैभन्दा बढी यस्ता प्रश्न जन्माउँछ । मान्छेले आफुसंग भएको अनुभवको पोको अक्षरमा छाडेर गयो कि गएन ? जीवनभर बनाएको आफ्नो ज्ञान अरूलाई बाढेर गयो कि गएन ? धेरैभन्दा धेरै मान्छेमा आफुले बनाएको जीवन दर्शन छाड्यो कि छाडेन ? हरेक मान्छे आफैमा अध्यात्म, विज्ञान, कला, शिक्षा, उद्योग, व्यापार र अनेकानेक हो । सबैभन्दा ठूलो कुरा हरेक मान्छे आफैँमा मानवशास्त्र हो । त्यो शास्त्र पढियो कि पढिएन ? पढे भने कतिले पढे ?

यो कुराले मृत्यु भएर मान्छे माथि गयो भन्ने भन्दा ठूलो पीर लाग्छ मलाई । चाहे सामान्य होस् वा असामान्य यी कुरा मान्छेले आफ्नो मृत्यु हुँदा छाडेर जानुपर्छ भनेर म लागिरहेको छु । आजकल त आमाबाबु नेपालमा छोराछोरी विदेशमा हुने समय छ । यो समयमा मान्छेले आफ्नो जीवनको कथा आफ्नै छोराछोरीलाई समेत भन्न पाएको हुँदैन । आफुले बनाएको जीवनकोशास्त्र आफ्नै छोराछोरीको लागि पढिने हुँदैन । घोष्ट राइटिङ नेपालले जीवन छँदै जीवनी बनाउन यसैकारण पर्छ भनेर लागिरहेको छ । आजकल बाबुआमा र छोराछोरीको भेटघाट फेसबुक, च्याट र लाइभमा हुन्छ । कति छोराछोरी मृत्युपछि एकैपल्ट रुन नेपाल आएका छन् । यस्तो अवस्थामा आज मदनमणि माड्साबका सत्तरी प्लसका छोराहरू घाटमै उभिएर बाबुको बारे मिडियामा बताइरहँदा मदनमणिले देशको लागि मात्र हैन आफ्नै परिवारको लागि पनि मानवशास्त्र छाडेर जानु भयो भन्ने लाग्यो ।

‘मेरो चिन्तनमा अस्पष्टता र अन्यौलता मेरो परिचय हो जसलाई लुकाउन सकिएन’ भन्ने मदनमणिले आफूलाई लेखनमा त्यसैगरि उभ्याउनु भयो । एक दिन मैले मनदमणि माड्साबलाई जीवनको प्रश्न गरेको थिएँ । उहाँको एक वरिष्ठ साहित्यकार जो यस संसारमा हुनुहुन्न सँग केही ठाकठुक थियो । वर्षाै अगाडि भएको त्यो घटनाको पात्रको नामै लिएर मैले सोधेथेँ, ‘माड्साप फलानु मान्छे ठ्याक्कै अगाडि आउँदा तपाइँ हाँसेर बोल्न सक्नु हुन्छ हुन्न ?’

माड्साबले भन्नुभएथ्यो, ‘झयाप्पै बोल्न त सक्दिन कि , घामबाट आएको आँखाले भित्र अन्धकार देखेजस्तै हुन्छ र एकछिनपछि फेरि देखिहाल्छु झै बोलिहाल्छु होला ?’

आफूभित्र भएको कुरा जस्ताको तस्तै भन्ने असलपन त्यहीँ देखेथेँ मैले । त्यही भएर लेखनमा अस्पष्टता र अन्यौल मेरो परिचय भन्नुभएको होला ।
९७ बर्षको उमेरमा पनि जीवनको दृढ अनुशासन उहाँको गज्जब थियो । आहारमा शुद्धता अल्पहार नियमित व्यायाम लेखिरहने बोलिरहने मान्छेलाई बोलाइरहने भेटिरहने त्यो लोभलाग्दो मान्छे उहाँभित्र थियो । त्यसैले उहाँलाई बचाएको थियो । कर्मले उहाँलाई तानिरहन्थ्यो । आफू लेख्न छाडेको दशकाैँ भए पनि कसै न कसैलाई बोलाएर उहाँ लेखिरहनुहुन्थ्यो । पटक पटक अस्पताल बसे पनि मेरो यो कृति सक्नु छ मलाई चाँडै निको हुनुछ भन्ने आत्मविश्वास उहाँमा थियो ।

यो पाला सुमेरुमा अलिक बढी गाह्रो नै भयो । निमोनिया कसैगरि निको भएन । यो देशमा ठूल्ठूला हस्तीलाई लैजाने रोग निमोनिया नै भएको छ । माड्साबलाई पनि त्यसैले लग्यो ।

उहाँको जीवनको तीन काल थियो । कम्युनिष्ट जीवन, पत्रकारिता र साहित्य । अनवरत पत्रकारिता हुदै साहित्यमा लागेको कारण उहाँलाई अक्षर शिरोमणि भनियो । कुराकानीमा मसुक्क हाँस्ने बेला बेलामा लामो स्वास तान्ने कान नसुने पनि नयाँ नयाँ मान्छे भेटन मन गरिरहने जिज्ञासुपनले पनि माडसाबलाई बचाएको थियो ।

यो पाला त्यो पनि काम लागेन ।

माड्साबसँग म भूमिसूक्तको लेखनदेखि जोडिएको थिएँ । उहाँले लेखनको लागि मान्छे माग्नुभएको थियो पत्रिकामा । पत्रकारिता गर्दै गरेको म माड्साबको संगतमा बस्न पाए राम्रो लेखक हुन्छु भन्ने लोभले गएथेँ । २०५६ सालको त्यो संयोगले साच्चै मैले माड्साबबाट धेरै कुरा सिकेँ । उहाँ आँखा चिम्लेर बोल्ने म लेखिरहने यस्तै दैनिकी थियो । अपरान्हमा सुरु हुने त्यो लेखन कहिलेकहीँ साँझसम्म कायम रहन्थ्यो । लेखनको बीचमै कोही आए त्यो थाती रहन्थ्यो । उहाँका भाइ महेशमणि आइरहनुहुन्थ्यो । साहित्य सिक्न गएको मैले उहाँसंग जीवन सिकेँ । दाजुभाइको भेट हुँदा पनि परिवार साथीभाइभन्दा राजनीति, अर्थशास्त्र आइन्स्टाइनका कुरा हुन्थे । यसले मलाई जीवनमा छुन्थ्यो । प्रायः परिवारमा हुने सल्लाह भोलि यसो गर्ने, उसो गर्ने, उसले यसो भन्यो, उसो भन्यो, भन्ने नेपाली आम मानसिकताभन्दा फरक दाजुभाइको बौद्धिक विवेचना म छक्क परेर हेरिरहन्थेँ । महेशमणिको मृत्यु भएको धेरै वर्ष भयो । आज मदनमणि पनि जानुभयो । उहाँहरूले गरेको कुरा मेरो दिमागमा ताजै छ । लेखनमा लगाउँदा त्यसै लगाउन हुन्न भन्ने पनि मैले माडसाबबाट त्यतिबेला सिकेँ । म त्यसै गर्न चाहन्थेँ उहाँले तीन महिना लाउँदा मलाई पुग्ने मनग्यभन्दा बढीको चेक दिनु भएथ्यो । त्यसले मलाई कालिकास्थानको मम खान र मुलपानी घर जान मज्जाले पुगेर केही बच्थ्यो पनि ।

म पत्रकारितामा हुदै व्यापारमा लागेँ । माड्साबसँगको भेट पातलो भयो ।

आफ्ना प्रशंसकहरूका साथ मदनमणि दीक्षित

२०७१ देखि घोष्ट राइटिङ नेपालले साहित्यिक कक्षा पढाउन थालेपछि माड्साबसँग समयले फेरि नजिक्यायो । कहिले घोष्ट राइटिङ् नेपालमा त कहिले उहाँकोमा गइरहन्थेँ । उहाँकोमा जाँदा सोध्नुहुन्थ्यो ‘मलाई कहिले बोलाउनुहुन्छ ?’ उहाँले त्यसो भन्दा म आफैँलाई लाज लाग्थ्यो । र उहाँको नयाँ साहित्यकार बीचमा बाँच्न खोज्ने साहित्यकारको श्रद्धा जाग्थ्यो ।

नयाँ मान्छे भेटदा माड्साबको स्फुर्ति बढथ्यो । नयाँ नयाँ साहित्यिक सर्जकलाई म लगिरहन्थेँ । यसपाला पनि भन्दै हुनुहुन्थ्यो । ‘म एक सय दुई त बाँच्छु बाँच्छु त्यो भन्दा बढी भन्न सक्दिन ।’ उहाँको आत्मविश्वास देख्दा केही हँुदैनजस्तै लाग्थ्यो तर केही बढी नै भयो ।

लेखन सिक्न चाहनेहरूले पढ्ने घोष्ट राइटिंग नेपालको १२ औ ब्याचलाई दुई महिनाअघि मात्र घरमै लगेथेँ । उहाँले लेखनको अनुभव सुनाउँदा रिफ्रेस भएथेँ ।

भन्नुभएथ्यो ‘म कसरी लेखक भएँ ? यो कुरा मलाई नै थाहा छैन । डेढ वर्षको उमेरमा हामी मावली गयौं । मेरो मावली भारतको बनारस । मेरी ठूली आमा मलाई काखमा खेलाउनुहुन्थ्यो । उहाँले मलाई वाल्मीकि रामायणको एउटा श्लोक(जुन श्लोक रचना गरेका हुनाले वाल्मीकिले रामायण लेख्न सके) – ‘मा निषाद प्रतिष्ठांत्वमगम शाश्वति समा । यत्क्रौञ्चमिथुनादेकमवधि काममोहितम् ।।’ सुनाउनुभयो । ठूली आमाले मलाई त्यो श्लोक घोकाउने चेष्टा गर्नुभयो । म बोल्दै नबोल्ने मान्छे । म ‘आमा’ ‘बाबा’, ‘मामा’ जस्ता एकाध शब्दबाहेक अरू बोल्दिनथेँ । डेढ वर्ष नाघेपछि एक दिन आमाले मलाई काखमा खेलाइरहनुभएको थियो, उहाँले श्लोक भन्न मात्र लाग्नुभएको थियो, मैले पूरै श्लोक दोहोराइदिएँ । त्यसबाटै मैले लेखनको प्रेरणा पाएको हुँ भनेर भन्न त मिल्दैन, तर लेख्ने प्रवृत्ति ममा देखा परेको चाहिँ त्यसबेलै हो ।’

यस्तो मिहिन ढंगले बोलेको रेकर्ड छ तर माड्साबलाई अब सशरीर भेट्न नपाउने कुराको दुःख छ ।

उहाँले लेखनमा आफु लागेको थप्दै गएको कुरा रमाइलो लागेको छ । भन्नुभएथ्यो ‘विसं १९८८ सालमा भएको व्रतबन्धमा पढिने गायत्री मन्त्र, ‘संस्कृत अध्ययन ग्रन्थ माला‘ दुर्गा सप्तशति, ऋग्वेदको ऋचा, भगवतगीताको अनुवाद आमाबुबालाई सुनाउदा छोरो लेखक हुन्छ भनेको कुरा, अन्जानमा लेखिएको सात प्रेम पत्र, मोहन शमसेरको जन्मोत्सव मनाउन लेख्नै परेर लेखेको ‘दासत्व मोचन’ नाटक २००७ सालमा कम्यनिष्ट पार्टीमा लाग्दा दैनिक डायरी लेख्ने, हालखबर पत्रिकाको संवाददाता हुदै समीक्षाको सम्पादकले मलाई लेखक बनाउने गुदीहरू भरिरहे ।’

समीक्षा पत्रिकामाथि प्रतिबन्ध लगाउदा माड्साबको करिअर, परिवारमै चोट परेपछि उहाँले आत्मदाह गर्ने निर्णयमै पुग्नुभयो । २०३६ सालको मंसिर २९ गते उहाँले भयानक निर्णय लिनुभएथ्यो । उहाँको निर्णयमा प्रभाव पारेको थियो भियतनाम वारले । भियताममा अमेरिकाले गरेको ज्यादतिको विरोधमा भिक्षुहरूले आत्मदाह गरेको समाचारको कारण मदनमणि पनि राजदरवारको दक्षिण ढोकाअगाडि आफैलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने निर्णय गरेर सुत्नुभयो । विदेशी मिडियालाई पनि खवर गर्नु भयो । बिहान चार बजे बिउँझदा अर्कै भएर उठ्नुभयो । मिडियाले भने त्यही मदनमणि खोजेर कतिबेला आत्मदाह हुने भनेर चार बजेदेखि नै सोधे रे ।

एक्कासि निर्णय बदलियो चार बजे र फेरि सुत्नुभयो । एकै पल्ट आठ बजे उठ्नुभयो र आफैलाई प्रश्न गर्नुभयो । हरेकले आफैलाई गर्ने प्रश्नले नै आफैलाई अर्काे बनाउँछ । मदनमणिलाई पनि यस्तै भयो ।

म किन मर्ने ? समीक्षा चलाउने म अपराधी हो र बन्द गर्ने पो अपराधी हुन भन्ने उहाँलाई लागिरहयो । उनीहरूले मेरो कलम खोस्लान मेरो कलमको शक्ति खोस्न सक्दैनन भन्ने कुराले घनले दिमागमा हानेभन्दा बढी हान्यो । उहाँलाई यस्तो लाग्यो अब कसैैले नलेखेको बैदिक साहित्यमा कलम चलाउँछु । त्यही दिउँसो चार बजेदेखि लेख्न सुरु गरेको ग्रन्थको नाम थियो माधवी ।
माधवीले मदनमणिलाई घनघोर ढंगले स्थापित गर्यो ।
लेखनमा आफुलाई जीवनभर समर्पण गर्ने मदनमणिलाई अक्षर शिरोमणि पनि भनिन्छ । दर्जनांै पुस्तकहरू लेख्नुभयो । समीक्षा साप्ताहिकले पाएको ख्याति लेखनकै कारण थियो । आफूलाई सार्थक जीवन बाँचे भन्ने मदनमणि माड्साबले आफनो जीवनलाई सार्थक बनाउने सूत्र पनि दिनुभएको छ । आफ्नो दीर्घ जीवनको ठूलो शक्ति सार्थक जीवन भएको बताउने मदनमणिको जीवन सार्थक बनाउने सिम्पल सुत्र थियो । मान्छेले गल्ती र अपराध गर्छ त्यसलाई सुधार्दै सार्थक बनाउनु पर्छ । रक्सी र चुरोट दुवै खाने मदनमणिले कुलत भएको कारण दुवै छाडेको घटना पनि रोचक छन् ।

रक्सी खान्न भन्दाभन्दै पूर्व परराष्ट्र मन्त्री शैलेन्द्र कुमार उपाध्यायले कर गरेर खुवाउँदा बानी परेछ मदनमणिलाई । भन्नुभएथ्यो ‘एकरात मातृभूमि साप्ताहिक’का सम्पादक र म बालाजु गएका थियौं, पिएको मुडमा, राती एघार बजे फर्कंदा पुलमा ठोक्किएर हामी लड्याँै पनि त्यही दिन छाडछु भनेर छाडे पनि केही दिनपछि फेरि खाइयो तर रक्सी खान ठ्याम्मै छाडेको पनि २० वर्ष भयो ।’
यो दुई महिनाअघिको कुरा थियो ।

चुरोटको कुरा पनि यस्तो रहेछ मदनमणिकै भनाइमा । ‘हेर्नुस् ढकालजी, कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन पुस महिनामा पाटनमा भएको थियो, भूमिगत रूपमा । पाटनको एउटा घरको आँगनमा पराल ओछ्याएर खुला आकाशमुनि सुत्नुपरेको थियो । जाडोले ज्यान लुगलुग कामिरहेको थियो । एउटाले चुरोट खाएको देखेँ । न्यानो हुन्छ कि भनेर मागेर एक सर्को तानेँ । बानी परिहाल्यो । चुरोटले खराब गर्यो भनेर धेरैपल्ट छाड्न खोजँे र मैले २०२३ सालदेखि चुरोट खान ठ्याप्पै बन्द गरिदिएँ ।’

दृढ निश्चय नै मदनमणि माड्साबको विशेषता थियो । सिर्जनशीलता उहाँको सचेतता थियो । यही सिर्जनशीलता, सचेतता र दृढताले नै उहाँको जीवन ९७ हुदा पनि केही हुन्छ जस्तै लाग्दैनथ्यो । त्यही भएर त उहाँको जीवन ९७ बर्ष भएर पनि हामीलाई पुगेन । कस्तो काल नै नआई जानुभयो जस्तो लागिरह्यो । लागिरहेको छ ।

अल बिदा मदनमणि माड्साब । जीवनमा धेरैलाई धेरै कुरा सिकाएर जानुभयो ।

 

Skip This
Logo