नेपाली बौद्धिक सिर्जना र चिन्तनका अविचल यात्री : मदनमणि दीक्षित

नेपाली बौद्धिक सिर्जना र चिन्तनका अविचल यात्री : मदनमणि दीक्षित

केन्द्रबिन्दु
0
Shares

  • रमेश शुभेच्छु-

एकाएक खबर आयो मदनमणि दीक्षित रहनुभएन । यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितका विषयमा चिन्ताजनक समाचार आइरहेका थिए । उनी कार्यक्रममा निस्कन छाडेको धेरै भइसकेको थियो । घरमै पुगेर उनीसँग आशीर्वचन लिने क्रम छँदै थियो । पटक पटक अस्पताल र घर ओहोर दोहोर गरेको पनि थुप्रै भइसकेको थियो । उमेरजन्य कारणले कान सुन्ने क्रम निकै कमजोर भइसकेको थियो । भर्खरै अस्पतालबाट स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी अक्षरकै खेतिमा लागिरहेका थिए । शरीर कमजोर भए पनि लेखपढ गर्न सक्ने अवस्थामा थिए । आज २०७५ श्रावण २९ गते जनै पूर्णिमाको बिहान चार बजे आफ्नै निवासमा उनको देहावसान भयो ।

मदनमणि आम साहित्यकारहरूको भीडमा बहुमुखी एवम् विशिष्ट साहित्यकार हुन् । बौद्धिक साहित्यकार मात्र होइनन् बुद्ध र जनक भूमिका आधुनिक दार्शनिक पनि हुन् । उनका कृतिको सूक्ष्म अध्ययन विश्लेषण हुन सके नेपाली बौद्धिक धरातल एक सय वर्षसम्म सवलको सवल नै रहने छ । उनै महान् अग्रजको श्रद्धाञ्जली स्वरूप यो आलेख प्रस्तुत गरिएको छ ।

जन्म र जन्मस्थान

मदनमणि दीक्षितको जन्म पिता लक्ष्मणमणि आचार्य दीक्षित र माता विष्णुकुमारी आचार्य दीक्षितका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो । उनले आफ्नो पिताले विर्ता पाएको तराईको फराकिलो र शिक्षित वातावरणमा बाल्यकाल विताएका थिए । काठमाडौँको जन्म, तराईको हुर्काइ, वनारसको पढाइले उनलाई बाल्य एवम् किशोर वयमै अनेकांै अनुभव सँगाल्ने अवसर मिल्यो । थुप्रो आमा र भाइबहिनीहरूसँग हुर्किएका दीक्षितलाई बाल्य जीवनमै मानिसका जीवन अध्ययन गर्ने अवसर मिल्यो ।

साहित्य यात्रा

लामो समय पत्रकारिता गरेका दीक्षित क्रमश साहित्य क्षेत्रमा स्थापित बन्दै गए । उनका आख्यान नेपाली साहित्य जगत्मा कालजयी बनेर रहेका छन् । आख्यानका उपन्यास र कथा दुवै विधामा उनको कलम सशक्त रह्यो । माधवी उपन्यासलाई नेपाली साहित्यको पहिलो गद्य महाकाव्य भन्न सकिन्छ । ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

मदनमणि कथाकार हुन् । आखिरी मुस्कान शीर्षकको कथा समीक्षा पत्रिकामा २०१७ मै प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका दीक्षित पछिल्लो समयसम्म साहित्य सिर्जनानै गरिरहेका थिए । कथाबाटै साहित्यको प्रकाशन यात्रा आरम्भ गरेका दीक्षितका कसले जित्यो कसले हार्यो (२०२१), मेरी आमाको पत्रलाई आज जवाफ चाहिएको छ (२०२९), ग्याँस च्याम्बरको मृत्यु (१९८५), जेण्डा (२०५१), आख्यानका सन्दर्भमा पनि उनी मिथकीय विषय र सामाजिक सांस्कृतिक एवम् ऐतिहासिक विषयवस्तुलाई केन्द्रमा राखेर राचना गर्ने विशिष्ट प्रतिभा हुन् ।

दीक्षित जति आख्यानकार हुन् त्यत्तिकै सशक्त निबन्धकार पनि हुन् । उनका लाखौँ शिशुहरू लिफ्ट मागिरहेछन् (२०३१), दशलाख हिरोसिमातिर (सन् १९८३), टुवार्डस मेगा हिरोसिमा (सन् १९८३), स्वर्ण मन्दिरको विहार (२०४५), बर्लिन डायरीका पाना (सन् १९८४), निबन्धहरू चरैवेति (२०४४) त्यो युग (२०४७), हाम्रा ती दिन (२०२९) म रुँदै बिर्सन्छु (२०२७), अमृत तत्व र कारुणिकता (सन् १९९७), नेपालीको सांस्कृतिक परिचय (२०५३), हिन्दू संस्कृतिको परिशीलन (२०५९), ऋग्वेदका केही प्रमुख सूक्त (२०६५) जस्ता चिन्तनप्रधान निबन्धले नेपाली मौलिक दर्शनको पतिपादन गरेका छन् । उनका निबन्ध कृतिको दार्शनिक अध्ययन विश्लेषण हुन आवश्यक छ । द्रौपदी र सीता (सन् १९९२), करुणाको दर्शन (२०५०), उद्दालक आरुणी विश्वका महिला वैज्ञानिक ( २०५३), हाम्रा प्राचीन नारी (२०५७), श्वेतकाली (२०५९)श्री सास्वत नारी (२०६६), महर्षि यज्ञवल्क्य (२०६९) उनले उठाएका पात्र र तिनका जीवन दर्शनसँगै आफ्ना दर्शनहरू पनि त्यत्तिकै प्रवाहशील बनेर आएका छन् । जीवन महाअभियान (२०६६), आनन्दमय जीवन (२०६९) आदि दार्शनिक पाठ्य सामग्रीहरू नेपाली बौद्धिक जगतका अमूल्य खुराक हुन् ।

माधवी (उपन्यास, वि.सं. २०३९) ले २०३९ को मदन पुरस्कार पाएर मात्र होइन कि सिर्जन सामथ्र्यका आधारमा पनि उनी महान् उपन्यासकार हुन् । उनका मेरी निलिमा (२०५२), त्रिवेदी (२०५०) र भूमिसूक्त (२०५८) उल्लेख्य कृति हुन् । दीक्षितको पहिलो उपन्यास माधवीले वैदिक कालको समयलाई उठाएको छ । ऋग्वेदको समय ई पू १ हजार ४ सय वर्षदेखि ईसापूर्व ६ सय वर्षसम्मलाई मानिएको छ । यो आठ सय वर्षको समयलाई उत्तर वैदिक कालका रुपमा परिभाषित गरिन्छ । त्यही समयको कुशिक प्रदेशका गुरु विश्वामित्रका शिष्य गालवको गुरुभेटीको प्रतिज्ञाबाट आरम्भ भएको यस उपन्यासमा माधवी र गालवको जीवन संघर्षलाई समेटिएको छ । चारवटा श्यामकर्ण घोडा खोज्न निस्किएको गालव जीवनभर त्यसकै खोजमा आफ्नी प्रेमिका लिएर घुमेको छ र अन्त्यमा प्रेमिकासँग पनि विछोड भई आआफ्नै जीवन बिताउँछन् । उनीहरूका आर्यवर्ती ऋषितुल्य जीवन यात्रामा अनेक वैदिक समाज र जीवन दर्शन बाहिर आउँछन् । अन्ततः प्रयागमा भइरहेको साझा यज्ञमा पुग्छन् । त्यहाँ चार सम्राटहरू वसुमना, प्रतर्दन, उषिनर र अष्टकले चतुष्टय यत्र गरिरहेका हुन्छन् । त्यही यज्ञमा माधवीले आफ्नो कथा बताई ती चारै राजाकी आमा म हुँ भन्ने पक्ष उद्घाटन गर्छे । माधवीको प्रेमी गालव हो भन्ने पर्दा पनि खुल्छ । यस एउटै उपन्यासका परिवेशमा निम्न समाजहरू रहेका छन् :

विश्वामित्रको गुरुकुल समाज,
माण्डलक जनपद समाज,
चौलामाताको मातृसत्तात्मक समाज,
अहिच्छत्रको दासयुगीन सामन्त समाज,
हर्यश्वको सामन्त समाज,
दिवोदासको भूदास र अद्र्धऔद्योगिक समाज,
शिवीको वर्गभेदहीन कृषि समाज,
चम्पाको सामूहिक जीवन प्रणालीको समाज,
सम्बालाको अम्मोहस्मि (विमुक्त) समाज ।

यस उपन्यासले महाभारतका उद्योग पर्वका १०६ अध्यायदेखि १२० अध्यायसम्मका १५ अध्यायको कथावस्तुलाई मूल कथाका रूपमा उठाएको छ । दास मोचनका लागि गालवसँग विश्वामित्रले ८०० वटा घोडा मागेको प्रसङ्गलाई यस उपन्यासमा चारवटाका विम्बमा उतारिएको छ । यस उपन्यासले पूर्वमा वंगालको पश्चिम भाग, पश्चिममा हरिद्वार, उत्तरमा शैवालिक (चुरे) प्रदेश र दक्षिणमा गंगाका किनारसम्मको विशाल भूगोल र जनजीवनलाई समेटेको छ ।

यो उपन्यास बहुपात्र, व्यापक परिवेश, बहुसामर्थ्यसम्पन्न बहुनायकको बृहत् कथायोजना र विशिष्ट वैदिक एवम् वौद्धिक भाषासमेटले बौद्धिक उपन्यास, बृहत् उपन्यास मात्र नभई नेपाली साहित्य परम्परामा पहिलो गद्य महाकाव्य भन्न सकिने कृतिका रुपमा प्राप्त छ । यस उचाइको गहन कृति न पहिला थियो न अहिलेसम्म नै हामीले पढ्न पाएका छौँ । यो एउटै कृतिका शब्दको शब्दकोष बन्न सक्छ र यस एउटै कृतिलाई अनेक दार्शनिक कोणबाट बहुकोणीय अध्ययन गर्न सकिन्छ ।

मिथकीय विषयवस्तुलाई उपन्यासमा महाकाव्यका शैलीमा उतार्ने दीक्षितको मेरी निलिमालाई एकालाप भनिएको छ । यो पनि माधवी जस्तै नारीप्रधान उपन्यास हो । तर विषयवस्तुमा माधवी र निलिमा भिन्न छन् । आकार र चिन्तनमा पनि भिन्न छन् । यस उपन्यासमा पनि आदिमताको संकेत भने छ । लेखकीयमा भनिएको छ :

यस रचनाकी निलिमालाई मैले सृष्टिकारी आदिम उर्जा, ती आदि माताका रुपमा प्रस्तुत गरेको छु । विज्ञानशालाको लामो स्पेक्ट्रमले देखाउने अल्फादेखि ओमेगासममका दृष्य र अदृश्य सप्तरंगी इन्द्रेणी र अल्ट्रा तथा इन्फा किरणहरूमा प्रस्तुत गरिएकी छ निलिमा यहाँ । त्यो शान्तिस्वरुपा छे । आदि जननी छे । विश्व नारी छे । गाउँकी सरल केटी छे । पत्नी र आमा छे । प्रेमी छे । ज्ञानी छे । मायालु छे । वात्सल्यले पूर्ण छे । आनन्द र जिज्ञासाले भरिपूर्ण छे । निलिमा भन्नु र नेपाल भन्नु एउटै हो । पृ .च

यत्ति सूचनाले पनि यस कृतिको गरिमा देखाउँछ र पाठकीय मनलाई आकर्षित गर्छ । यस कृतिको पनि बहुकोणीय अध्ययन हुन सक्छ । यस कृतिका भूमिकामा कमलमणि दीक्षितले भनेका छन् : यो त महाकाव्य हो गद्यको काव्य । समको आगो र पानी जस्तो काव्य ( पृ. ड) दीक्षितको यस मूल्याङ्कनले निलिमाको शैलीलाई पनि माधवीकै शैलीका तुल्य चमत्कारिक कृतिका रूपमा चिन्न सकिन्छ ।

अर्को उपन्यास हो भूमिसूक्त । यस उपन्यासलाई एउटा शास्वत र निरन्तर अनि सत् स्वरूप महाकालको शून्यतामा महाविस्फोटित सूर्य र पृथ्वीको अस्तित्वको समग्र इतिवृत्तलाई आफ्नो विशाल वक्षमा उपस्थित गर्ने काललाई महापात्रता प्रदान गरेर लेखिएको उपन्यासका रुपमा भूमिसूक्तको मूल्याङ्कन अग्रज समीक्षक राजेन्द्र सुवेदीले गरेका छन् । उनले नेपाली उपन्यास लेखन परम्परामा वैदिक र अझ प्राग्वैदिक विषयवस्तुलाई लिएर कलम चलाएका छन् ।

दीक्षित एकातिर स्रष्टा र अर्कातिर समीक्षक, पत्रकार र चिन्तकसमेत उभय मूल्यका व्यक्तित्व हुन् । यसै नाताले उनको सृजना आख्यान र प्रबन्ध क्षेत्रमा विभाजित भएको छ । गम्भीर लेखनमा केन्द्रित छ । उनका चिन्तनगत प्रबन्धमा म रुँदै बिर्सिन्छु (२०२७), दसलाख हिरोसिमातिर (२०४०), चरैवेति (२०४४) निबन्धहरू पाठकसामु आएका छन् । दार्शनिक चिन्तनमा केन्द्रितमा प्राचीन मिथकहरूमा आधारित त्यो युग (२०४६), सीता र द्रौपदी (२०४८), गार्गी (२०४९), आनन्दमय आकाश (२०५२), अमृतत्व र कारुणिकता (२०५३), उद्दालक आरुणि (२०५३) जस्ता चिन्तन प्रधान प्रबन्धहरू पनि प्रकाशमा आएका छन् । यी कृतिको पनि अनेकौँ दर्शनसापेक्ष अध्ययन गर्न सकिन्छ ।

कतै अन्तर्वार्ताका क्रममा दीक्षितले भनेका छन्m ‘मैले माधवीको बाह्र पटक पुनर्लेखन गरेँ ।’ त्यस्तै निलिमाको पटक पटक पुनर्लेखन गरेको पक्ष पनि उनले लेखकीय र अन्तर्वार्ताहरूमा बताएका छन् । भूमिसूक्त (२०५८) उपन्यासले पनि लेखनको आरम्भदेखि लिएर प्रकाशनको सूर्यदर्शनसम्मको अवधिमा झण्डै १८ वर्षको अवधि समेटेको पाइन्छ । यो उपन्यास प्राचीन आर्ष वाङ्मयको लामो समयावधिका आख्यान कण र सूत्र र कणिकालाई आफ्नो दृष्टिले सिर्जनात्मक कलामा सजाएर औपन्यासीकरण गरिएको विशिष्ट कृति हो । पहिलो उपन्यास माधवीमा ध्वस्त भएको नारी अस्मिताको क्षतिपूर्ति यस उपन्यासमा पुरुष अस्तित्वको ध्वस्तताबाट चुक्ता गरिएको छ ।

उक्त उपन्यासहरूकै चिन्तनको पुष्टिका रूपमा जीवन महाअभियान कृति आएको जस्तो देखिन्छ । ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.) पनि तिनै प्राच्य ज्ञान र दर्शनको खोजको कृति हो । यी कृतिलाई अनेक कोणबाट अध्ययन गर्न सकिने पक्ष संकेतसम् मगर्न सकिन्छ । यी कृतिहरूका आधारमा हेर्दा दीक्षित नेपाली साहित्य परम्परामा लेखनाथ, देवकोटा र समको बौद्धिक परम्पराका अर्को धुरी हुन् । नेपाली दार्शनिक चिन्तन, अनुचिन्तन र सिर्जन परम्पराका अर्का चुली हुन् । नेपाली गद्य साहित्य परम्पराका निबन्ध र आख्यान दुवैका साझा सप्तकोशी हुन् ।

दाम्पत्य जीवन

मदनमणिको विवाह तत्कालीन अवस्थाअनुसार कलिलो उमेरमा रीतासँग भएको थियो । रीता वीरगञ्जको एक खानदानी परिवारमा जन्मेकी हुन् । रीता र उनको बिहे भने बनारसमा भएको थियो । दीक्षितका ससुरा बुबा त्यहाँका गन्यमान्य जिम्दार थिए । घरमा १५–१६ वटा भैंसी पालेका सम्पन्न व्यक्ति थिए । उनले छोरीलाई सुखले हुर्काएकाले नौ वर्षका उमेरदेखि केटाको खोजी गर्दा पनि सुख देलाजस्तो केटो बार वर्षका उमेरमा मात्र फेला परेको कुरा कुनै अन्तर्वार्तामा रिता गुरुआमाले बताएकी छन् ।

तत्काल दीक्षित परिवारको वीरगञ्जमा ठूलो मौजा (जग्गा (जमिन) थियो, जसको रेखदेख गर्न एक पटवारीलाई जिम्मा दिएका थिए । तिनै पटवारीमध्ये एकले रीतालाई हेरेर मन पराएको र दुई जिम्दारहरूबीच सम्धीको नाता गाँसिने तय भएको थियो । मदनमणिका पिता लक्ष्मणमणिले छोराको बिहे बनारसमै गर्ने भन्दै रीताका परिवारलाई त्यहीँ आउन भने । केटाका परिवारको प्रस्ताव केटीका परिवारले काट्ने जमाना थिएन । त्यसैले झिटिगुन्टा कसेर रीताका परिवार बनारस पुगेका थिए । दीक्षित निवासभन्दा करिब पाँच सय मिटरको दूरीमा केटीको परिवार बस्ने व्यवस्था मिलाइयो । त्यही डेराबाट उनीहरूवीच धुमाधामले बिहे भयो । त्यो दाम्पत्य जीवन सन्तान र पारिवारिक सुखसहित आजसम्म सौहार्दपूर्ण रहिरह्यो । हामीले देखेका धेरै कार्यक्रममा मदनमणिसँगै रीता गुरुआमा पनि मञ्चमा देखिन्थिन् । चार वर्ष चेठकान्छा दीक्षित दम्पत्तिको जति लामो प्रेममय दाम्पत्य जीवन सायदै अरूले भोगे होला ।

दाम्पत्य जीवन आफ्नो खुसीका लागि मात्र होइन । दीक्षितको दाम्पत्य जीवन परिवार र सन्ततिका लागि पनि अभिप्रेरक रहयो । उनीहरूका सन्तति विनोद र इल्या भट्टराईले पनि दीक्षितको बौद्धिक एवम् सिर्जनशील घरानालाई निरन्तरता दिइरहेका छन् ।

जागिर, बसाइँसराइ र आर्थिक अवस्था

मदनमणिले बनारसमा पढे । उनी काशी हिन्दू विश्वाविद्यालयका दर्शनशास्त्रका स्नातकोत्तर हुन् । उनको जन्म वीरगञ्जमा भयो । शिक्षा दीक्षाका लागि वनारसमा बस्नु पर्यो । २०१३ सालमा उनी श्रीमती र छोराछोरीलाई लिएर वीरगञ्जबाट काठमाडौं आए । त्यतिबेला उनी वीरगञ्जमा छँदाखाँदाको हेडमास्टरको जागिर लात हानेर हिँडेका थिए । उनले २००७ सालमा कम्युनिस्ट पार्टीको टिकट लिएका थिए । उनलाई त्यहाँ हेडमास्टर भएर काम गरिरहन त्यति सजिलो पनि थिएन । जागिर छाडेर काठडमाडौँ आएदेखि राजनीतिमा लागे । राजनीतिमा लागेपछि उनको आम्दानीको बाटो प्रायः बन्द भएको थियो । त्यसपछिका धेरै वर्ष आफ्नो माइतीको सहाराले गुजारा गर्नुपरेको रीता बताउँछिन् ।

दीक्षितले रोजेको पेसा पत्रकारिता थियो । उनी समीक्षा साप्ताहिक र हालखबर दैनिकका आफ्नो समयका चर्चित पत्रकार थिए । उनले पत्रकारिता गरेको समय राजनीतिक दृष्टिले उदार थिएन । ०१७ सालमा ‘समीक्षा’सहित सात वटा अखबारलाई प्रतिबन्ध लगाइएको इतिहास छ । दीक्षित समीक्षा पत्रिकाका सम्पादक थिए । त्यस बेलाको सरकारले समीक्षालाई राज्यविरोधी मानेको थियो । उनले कतै राजा विरेन्द्रले रानीलाई धर्मपत्री भनेकामा, ‘के भएको यो ? राजाले धर्मपत्नी भन्ने त कुरा आउँदैन । राजाको महारानी वा बडामहारानी हुन्छ । नेपालको परम्परालाई राजाले बिगारे ।’ भनेर लेखेवापत पनि जेल जानुपरेको पक्ष उल्लेख गरेका छन् । उनले जेलमै आत्महत्या गर्ने धम्की सम्म दिएर छुटेको कुरा पनि बताएका छन् ।

दीक्षित पत्रकारिता पेसामा रहँदा पटक पटक थुनामा परे । उनले आफूलाई बढी दुख दिने व्यक्तिहरूको नामनै अन्तर्वार्ताहरूमा किटेका छन् । त्यस्ता नामहरू तत्कालीन गृहमन्त्री देखि अञ्चलाधिस र सिडियो सम्म देखिन्छ । दीक्षितको पत्रकारिता पञ्चायत विरोधी भएकाले उनले उनलाई सहायक मन्त्रीमा आउनुस् भनेर पञ्चहरूले कर गरे पनि उनले एउटा कानले सुने र अर्को कानले उडाइदिएँ । उनलाई राज्यमन्त्रीसँगै अरु राजदूत आदि पदको प्रस्ताव आउने क्रम जारी रहे पनि उनले पत्रिकालाई नै निरन्तरता दिएका थिए । उनका भान्जा सैलेन्द्रकुमार उपाध्याय मार्फत रुसमा राजदूत भएर जानुस् भन्ने प्रस्ताव आए पनि उनले पत्रकारितालाई नै मूल पेसा मानेका थिए । त्यसबेला पत्रिका छोरा विनोदलाई जिममा लगाएका थिए । पछि छोराले दुलहीका गहना बन्दक राख्दा पनि र जग्गा बेच्ता पनि अखबार चल्न नसकेको कुरा उनले कुनै अन्तर्वार्तामा बताएका छन् ।

दीक्षितका पिता जिमीदार भए पनि उनको आर्थिक अवस्था त्यति सबल रहेन । बहुविवाह र अन्य कारणले पिताको सम्पत्तिले दीक्षितको जीवनमा सिँढी हाल्न सकेन । उनले आफ्ना थुप्रै अन्तर्वार्तामा यसबारे बताएका छन् । रीता गुरुआमाका बुवाले उनलाई आर्थिक समस्या नपरोस् भनेर वीरगञ्जमा चार कट्ठा घडेरी र १५ बिघा खेत दिएका थिए । त्यो सबै बेचेर ०२४ सालमा कालिकास्थानमा जीवनको अन्तिम घडीसम्म बसिरहेको घर किनेका थिए । २०२४ सालमा जम्मा २५ हजार रुपैयाँमा सो घर किनेको संस्मरण कतै दीक्षितले नै बताएका छन् । छोराछोरी ठूला भएर आफ्नो खुट्टामा उभिन थालेपछि भने दीक्षित आर्थिक संकट मुक्त थिए ।

पैतृक सम्पत्तिले भरथेग गर्न नसक्नुको एउटा गुह्य कारण पनि छ । दीक्षितका आमा मात्र सातजना थिए रे । दीक्षितलाई पनि बहुविवाहका लागि दवाव थियो रे । तर उनले रीता गुरुआमाबाहेक अर्की नारीलाई भित्र्याएनन् । उनले कम्युनिस्ट पार्टीको टिकट लिनुपूर्व पिताको जस्तै जीवनलाई आदर्श मानेका भए पनि पछि उनको जीवनको आदर्श फरक बन्यो । दर्शनशास्त्रको आचार्य भएकाले पनि उनको जीवन जगत्लाई हेर्ने दृष्टिकोण फरक र उदार बन्यो ।

मदनमणि २०५२ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा उपकुलपति भएका थिए । उनी त्यस प्रतिष्ठानको गरिमाअनुसार काम गर्न चाहन्थे । उनले आफ्नो सदस्य सचिवको रुपमा डा. वासुदेव त्रिपाठीलाई प्रस्ताव पठाएको कुरा त्रिपाठीले कुनै अन्तर्वार्तामा भनेका छन् । त्रिपाठीले विश्वविद्यालयको नेपाली विभागकै नेतृत्वलाई महत्व दिएर नगएको बताएका बताएका छन् । दीक्षितको कार्यकालमा तिलविक्रम नेम्बाङ, योगेन्द्रप्रसाद यादव,रमेश विकल, ज्ञानमणि नेपाल, गोविन्दबहादुर मानन्धर (धुस्वाँ सायमी), शशी शाह, उत्तम नेपाली, नरराज ढकाल र अशेष मल्ल प्राज्ञ परिषद् सदस्य थिए । डा. ध्रुवचन्द्र गौतम त्यही कार्यकालका सदस्य सचिव थिए । त्यस कार्यकालमा केही विवाद भए पनि अधिकांश प्राज्ञहरू प्राज्ञिक उचाइसम्पन्न देखिन्छन् । त्यस कार्यकालको प्राज्ञ सभामा दौलतविक्रम विष्ठ, देवकुमारी थापा, नोवलकिशोर राई, नगेन्द्रराज शर्मा, हेमाङ्गराज अधिकारी, दधिराज सुवेदी, मुकुन्दशरण उपाध्याय, द्रोणप्रसाद रजौरिया, गणेशमान गुरुङ, त्रिरत्न मानन्धर, चन्द्रराज शर्मा, हरिप्रसाद रिमाल, मनुजबाबु मिश्र, ठाकुरप्रसाद मैनाली, प्रमिला गिरी, सुदर्शनराज तिवारी, रामनिवास पाण्डेय, भानुभक्त पोखरेल, वसन्तजङ्ग रायमाझी, गणेशबहादुर भण्डारी र नरराज ढकाल जस्ता विशिष्ट साहित्यकार एवम् कलाकारहरू थिए । आज आएर हेर्दा नेपाली प्राज्ञिक जगत्लाई त्यसै कार्यकालका प्राज्ञहरूले निरन्तरता दिँदै आएको जस्तो देखिन्छ । उनलाई त्यस संस्थाले २०६० सालपछि आजीवन सदस्यका रुपमा आदर गर्यो । यस संस्थाका विकासमा पनि दीक्षितको योगदान त्यत्तिकै रहेको छ । यस संस्थामा रहँदा कगरेका कामकै विषयमा पनि लामो लेख बन्न सक्छ । उनले अन्य संघसंस्थामा रहेर पुर्याएको योगदान पनि त्यत्तिकै उल्लेख्य छ

मान, सम्मान र पुरस्कार

दीक्षितले दीर्घजीवि स्रष्टाहरूमध्ये माधव घिमिरे र सत्यमोहन जोसीको जस्तो मानसम्मान त पाएनन् तर उनका समवयी सहकर्मी वसन्तकुमार शर्मा नेपाल, वालकृष्ण पोखरेलको भन्दा बढी नै मान, सम्मान र प्रतिष्ठा पाए । शान्ति पुरस्कार (ई.१९७५), मदन पुरस्कार (२०३९), साझा पुरस्कार (२०३९), सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५१), गोरखा दक्षिण वाहु दोस्रा (२०५५), आदिकवि भानुभक्त पुरस्कार (२०५७), लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, गोपालदास श्रेष्ठ पत्रकारिता पुरस्कार, देवकोटा स्मृति सभा सम्मान –इ. १९९३), दण्डपाणि स्मृति पुरस्कार (२०६५) लगायतका पुरस्कार सम्मान र पदक पाएका थिए । उनलाई अक्षर शिरोमणिको नाममा सममान पनि गरिएको थियो । दर्जनौँ संघसंस्थाले सम्मान गरे पनि उनलाई राज्यकातर्फबाट नेपाल प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यबाहेक अन्य ठोस सम्मान दिइएको देखिँदैन । उनको स्वभाव पनि पुरस्कारका पछाडि दौडने भन्दा निस्काम कर्ममा लागिरहने नै थियो ।

दीक्षित जस्तो जीवन बाँचे त्यस्तै लेखेर गए । उनले आफ्नो आत्मकथा आनन्दमय आकाश (२०५३) बाट जीवनलाई पनि छर्लङ्ग ऐना जस्तै छोडेर गएका छन् । उनका प्राय कथा र निबन्धका पात्रमा एवम् उपन्यासका नायकमा उनको जीवन भेट्टाइन्छ । जीवनमा कम्युनिस्ट पार्टीको टिकट लिएर क्रान्तिकारी विचार र व्यवहारसँग हेलिनका साथै एकपटक सन्यासी भएर हिँड्ने मनसायसम्म राखेका दीक्षितको जीवन त रहेन तर उनका चेतनाले नेपाली समाजलाई सय वर्ष सम्म अभाव हुन दिने छैन । उनको दार्शनिक चेत आजका वौद्धिक मष्तिस्कमा थोरै थोरै पुग्न सके पनि नेपाल चेतनाका दुनियाँमा अग्रगन्य बन्ने थियो । उनको कृति अनुवाद गरेर समयमा विश्व बजारमा पठाउन सकेको भए विश्व साहित्यले नेपाली साहित्यलाई सम्मान गरिसक्थ्यो । त्यो पहल भएन । अब पनि उनका सबै कृतिको पुन प्रकाशन, समग्र ग्रन्थावली प्रकाशन, उनका नामको अध्ययन केन्द्र र ती कृतिको विमर्श हुन सके नेपाली समाज लाभान्वित हुने छ । दीक्षित आम मानिस जस्तै मानिस भए पनि वर्तमान युगका युगपुरुष हुन् । घोषण नगरे पनि विचार र उमेर दुवैले शताव्दी पुरुष हुन् । हामीले कसै विदेशीलाई देखाउनु पर्यो भने चमक नलगाई देखाउन मिल्ने साहित्यिक प्रतिमान र दार्शनिक हीरा हुन् । राज्य र समाजका लागि उनको योगदानलाई चिन्न नसक्नु पछुतोबाहेक केही हुने छैन । उनकै माधवीको मन्त्र छ : ‘सङ्गच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’

यही मन्त्र गुनगुनाउँदै गालव बाटधानतिर हिँडिरह्यो हिँडिरह्यो ।“(माधवी)

ठीक यसरी नै अक्षरका पंक्तिहरूमा दीक्षित हिँडिरहे हिँडिरहे । वैदिक वाङ्मयका नेपाली महर्षिका रूपमा हिँडिरहे हिँडिरहे । नेपाली अक्षरकर्मीमध्ये अक्षरशिरोमणिका रूपमा देखिए । महर्षितुल्य यी अग्रजको निधनबाट नेपाली वाङ्मयमा अपूरणीय क्षति भएको छ । माधवीदेखि भूमिसूक्तसम्म दीक्षित कहीँ पनि आफ्नो बौद्धिकतामा लर्खराएका छैनन् । प्राच्य ज्ञान विज्ञानको अनुचिन्तन र चिन्तनमा चुकेका छैनन् । नेपाली बौद्धिक सिर्जना र चिन्तनका अविचल यात्रीले कहीँ कतै थकाइ मारेका छैनन् । उनको त्यस महान् वौद्धिक यात्रालाई यिनै शब्दको सलाम ।

उनको ऋषितुल्य साधनाप्रति यिनै शब्दश्रद्धाञ्जली ।

Skip This
Logo