कथा: भाइरस

कथा: भाइरस

केन्द्रबिन्दु
0
Shares

अचेल त भाइरस नै भन्छु म उसलाई । नाम त उसको रूपक भुजेल हो । ऊ मेरो निजी जीवनमा थाहै नदिई भित्रियो । म एक्लै थिएँ । सहारा बनि टोपल्यो । म गाउँकी नै भए पनि त्यति गोज्याङ्ग्री केटी त थिइन नै । भाइरसको अगाडि कस्को के लाग्दो रहेछ र ! दुरुस्तै माया गरी टोपल्यो क्यारे ! गर्नु के मैले ? यद्यपि, व्यवहार जतिसुकै निम्नस्तरको भए पनि ऊ आफ्नो बोलीचालीमा कुनै परिर्वतन ल्याउँदैनथ्यो । उसैले गरेको व्यवहार हो भन्ने नै नलाग्ने ।

उसको बोली सुनेर र उसको व्यवहार हेरेर कसैले पनि रत्तीभर अनुमान लगाउन सक्दैनन् उसले त्यस्तो पनि गर्नसक्ला भनेर । पहिलो–पहिलो भेटमा जस्तै माधुर्य कायमै राख्थ्यो ऊ । झुट हो भन्ने आफूले जान्दाजान्दै पनि एक किसिमको आत्मीय भेट्ने । श्रवण गरुन्जेल मीठो अनुभूति दिन्थ्यो । दुरुस्त हो जस्तै । नमीठो नबोलेरै पनि मान्छेलाई सिध्याउने कला थियो ऊसँग । आगो नसल्काई खरानी बनाइदिनसक्ने । अहिले बुझिरहेकी छु म । ऊसँग मान्छे आकर्षित हुने पनि उसको त्यही नरम बोलीले नै त हो । भिन्दै विशेषता भएको खास भाइरस थियो ऊ । म कहिल्यै बिर्सन्न उसलाई । अनेकथरी मान्छेलाई सम्झने बहाना अनेकथरी छन् यस ब्रह्माण्डमा । ऊसँग बोलचाल भने त्यस दिनपछिको केही दिनपछिदेखि भएको छैन मेरो ।

○○○

ऊ त्यो बेला कलेजको अन्तिम वर्षको पढाइ पढ्दै थियो । म भने कलेजको पहिलो वर्षकी विद्यार्थी थिएँ । घरबेटीलाई गाउँको नजिकको दाइ भनेर चिनाइदिएँ । आउन–जान कुनै छेकबार थिएन । म कोठामा भइन भने ऊ आएर पर्खिबस्थ्यो । मेरो कोठाको एउटा साँचो ऊसँग पनि थियो ।

ऊ मसँग भन्थ्यो पनि, कोही केटीको घर ठूलो देखेर, कोही केटी पैसावाल भएर सङ्गत गरेको भनेर । ‘तिनीहरू आउँछन् जान्छन् । तिमी त मेरो मनभित्र छौ ।’ उसको आशय, आफूलाई पैसाको अप्ठ्यारो परेको बेला काम लाग्छ भनेर तिनीहरूसँग सुमधुर सम्बन्ध बनाइराखेको थियो ।  म निश्चित थिएँ, मसँगको सङ्गतमा उसको केही स्वार्थ थिएन । मसँग कुनै भौतिक वस्तु थिएन जसको लोभले ऊ मसँग सङ्गत गरोस् ।

उसका अरू साथीभन्दा आफूलाई बढी नै भाग्यमानी ठान्थेँ । स्वार्थविनै ऊ मलाई मरिमेटेर माया गरिरहेको थियो । ऊ गाह्रोसाह्रो परेका साथीहरूलाई सहयोग गर्थ्यो । केटा–केटी बराबरले उसलाई हितैषी बनाउँथे । उसको अरुलाई सहयोग गर्ने बानीले नै मलाई ऊ मन परेको थियो । ऊ हाम्रो कलेजको स्ववियु सदस्य पनि त थियो । उसलाई एकछिन पनि फुर्सद हुँदैनथ्यो । तैपनि मेरा लागि कति जरुरी काम छोडेर भेट्थ्यो । म दङ्ग हुन्थेँ ।

म एसएलसीपछि काठमाडौं पढ्न आएकी थिएँ । कलेज नजिकै एउटा कोठामा बस्थेँ । मेरो आफ्नै सानोबुबाको छोरीज्वाइँको घर पनि यहीँ थियो । उनीहरूले आफ्नो घरमा बस्न भनेका थिए । म मानिन । आफन्तकहाँ पाहुना बन्न नै ठीक हुन्छ । सँगै बस्न होइन ।

ऊसँगको सामीप्यले सजिलो भएको थियो सुरूवाती दिनमा नै । बिहानको भात मैकहाँ खान्थ्यो । उसलाई पर्खेर सँगै भात खाँदा मलाई रमाइलो लाग्थ्यो । भात खाएर हामी सँगसँगै कलेज पुग्थ्यौँ । कलेजमा हामी बिल्कुलै औपचारिक बन्थ्यौं । यसो हुन उसैले सिकाएको थियो । उसले जे–जे भन्यो, त्यही–त्यही मान्थेँ म । एक किसिमले ऊ मेरो आँखा बनेको थियो, म उसले देखाएको बाटो मात्र देख्थेँ ।

मैले सोचेको काठमाडौं, मान्छेले वर्णन गरेको काठमाडौं, किताबमा पढेको काठमाडौं, म बसेको काठमाडौं, मैले मेरै आँखाले देखेको काठमाडौं अलि भिन्दै हो कि हो कि झैँ लाग्थ्यो मलाई । न त किताबको जस्तो थियो न त सुनेको जस्तो नै थियो । म काठमाडौंसँग रत्तिएकी थिएँ । नयाँ ठाउँमा छिट्टै मन बस्नुको कारण पनि रूपक भएर नै सम्भव भएको लाग्थ्यो मलाई । भारी–भारी कृतज्ञ हुन्थेँ म ऊदेखि । बिदाको दिन घुमाउन लैजान्थ्यो । कहिले सिनेमा देखाउन पनि लैजान्थ्यो ।

हामी अँध्यारोमा मात्रै अलग हुन्थ्यौं । होइन भने बिहानदेखि साँझसम्म सँगै हुन्थ्यौँ । उसको घर मेरो कोठानजिकै छ भने पनि मैले देखेकी थिइन । ऊसँग हिँड्दा सुरुसुरुमा सङ्कोच लाग्थ्यो । आफन्तहरूले देखे के भन्लान् भन्ने लाग्थ्यो । चिनेका मान्छेले देखेर घरमा कुरा लगाइदेलान् भन्ने डर लाग्थ्यो मलाई । पछि यस्तो लाग्न छोड्यो । बसमा टाँसिएर बस्थ्यो मसँग । दुवैको भाडा म तिर्थें । बसमा सँगै बस्ने मान्छेहरू हामीलाई के–के ठान्दा हुन् भन्ने अनुमानैले मलाई लाज लाग्थ्यो । तैपनि एक किसिमको निर्धक्क हुन्थेँ म ऊ साथमा हुँदा ।

○○○

एक दिन
‘म तिमीकहाँ आउँदै छु । मलाई पनि भात पकाएर राख है ।’
‘ग्याँस सकियो । भात पकाएकी छैन । नयाँ सिलिन्डर भन्नेबित्तिकै पाइँदैन भन्छ ग्याँसवाला । के गर्ने होला ?’ रुन्चे स्वरमा भनेँ ।
‘पीर गर्नु पर्दैन । दुई–चार दिन यसो–उसो गरुँला त्यसपछि म मिलाउँछु । म तिम्लाई केही खाने कुरा लेराइदिन्छु चिन्ता नगरी बस ।’
यति भनेर फोन राख्यो । मलाई ग्याँस नै कोठामा आइपुगेझैँ चैन मिल्यो । जाडो महिना भएकाले घाम ताप्दै बसेँ ।
घरबेटी आन्टी आँगनमा झरेका फूल र रुखका पात बढार्दै हुनुहुन्थ्यो । कुकुर मेरो खुट्टामा टाँसिएर बसेको थियो ।

‘भात खायौ ?’ ‘छैन । मेरो ग्याँस नै सकियो ।’
‘लौ, अघि नै भन्नु पर्दैन त ? तिम्लाई पुग्ने जति त भात होला माथि, हिँड ।’
‘पर्दैन आन्टी ! दाइले ल्याइदिन्छु भनेको छ ।’

‘ए, भैहाल्यो नि, जसरी पनि खान पाए त । भोकैचाहिँ नबस्नू ।’ भन्दै घरबेटी आन्टी माथि उक्लिनुभयो ।
रूपकलाई पर्खंदापर्खंदै बिहान बित्यो । दिन पनि ढल्केर साँझ पर्न थाल्यो । फोन गर्दा सम्पर्क हुन सकेन मात्रै भन्छ । साँझ त पक्कै आउँछ होला भनेर पर्खिरहेँ । रात पर्यो । चिसो हावा चलेर झन् जाडो बढेको छ । मन एकतमाससँग एकोहोरियो । आँखाबाट ताता आँसु बग्न थाले । भोकले छटपटी बनाएको छैन मलाई । आफैदेखि उदेक लाग्यो । रूपक ! यस्तो मनमा अलिकति पनि हरि नभएको मान्छेसँग कसरी सङ्गत गरे हुँला ? कोही मान्छे यस्तोसम्म पनि हुन सक्छ ? हुँदा रहेछन् । नचिनेको भए बरु सधैं उस्तै भलाद्मी र सद्दे ठान्थेँ म उसलाई ।

○○○

घरबाट आउने बेला आमाले ‘आँत बलियो हुन्छ’ भन्दै आफ्नो कानको ‘सुन’ दिनुभएको थियो मलाई । ‘पुग नपुग दुई तोलाको छ है नानी !’ भन्नुहुन्थ्यो । मलाई त्यसले कुनै झन्झट नदिए पनि खुसी तुल्याएको थिएन त्यो बेला ।

‘मलाई के काम त्यो सुनको ?’ टेबुलमा त्यतिकै राख्थेँ म । ‘सुन जस्तो कुरा पनि यसरी फालेर राख्ने हो ? दुःख पर्दा काम लाग्छ । जतन गरेर राख ।’ रूपकले भन्नासाथ बेडको घर्राभित्र जतन गरेर राखें । जतन गरेर राखेको केही दिनपछि नै त्यो सुन हरायो । त्यो सुनलाई लिएर मैले कुनै सपना देखेकी थिइन । हराएपछि त हजारौं सपना टुक्रा–टुक्रा भएझैं भयो । ‘पुरानो भएर के हुन्थ्यो त त्यो बेचेर पैसा बैंकमा राखेको भए कति मज्जा हुन्थ्यो । अहो ! चार–पाँचवटा औंठी नै बन्थ्यो, बनाएको भए ।’ अनेकौं कुरा आए मनमा । के–के हुन्थ्यो त्यो सुन नहराएको भए…,म त खुब पैसावाल हुन्थेँ पनि लाग्यो । त्यो सुनलाई जति माया कसैलाई पनि गर्दिन रहिछु जस्तो भयो । असाध्यै माया लाग्यो त्यो हराएको सुनको ।

रूपक आयो । ऊ आएपछि नै सुनको आधा पीर त घटेको थियो मेरो ।
‘हराएको छैन होला, राम्रोसँग खोज न, भेटिन्छ ।’
‘यति सानो कोठामा खोज्ने ठाउँ नै कहाँ छ र खोज्नु ? सबै खोजिसकेँ । कहीँ पनि छैन ।’ रुन्चे स्वरमै भनेँ ।
‘भैगो दुःख नमान पैसा भएको बेला किनौंला त्यस्तै अर्को सुन ।’
‘त्यस्तो त म लगाउँदिन ।’
‘हुन्छ अर्को नयाँ डिजाइनको नै बनाऔंला । भात पस्क भोक लागिरा’छ ।’
तत्काल भात पस्किएँ ।
खै, कस्तो मोह हो यो ? उसले मीठो मानेर खाना खाँदा मलाई हुनसम्मको सन्तुष्टि प्राप्त हुन्छ । तन्मयसँग हेर्छु म उसले खाइरहेको ।
‘सिरानीमुनि चामल राखेर सुत, भोलि बिहान म आखत हेर्दिन्छु ।’
‘ओहो ! तपाईंलाई आखत हेर्न पनि आउँछ ?’ म सत्र वर्षकी पुंगे । रूपक सत्ताईस वर्षको । मभन्दा दस वर्षले ठूलो छ त्यसैले ‘तपाईं’को सम्बोधन गर्छु म । ऊ त मलाई कहिले ‘तँ’ नै पनि भन्छ ।
‘आउँछ त, कसले लगेको हो, त्यो मान्छेको फोटोे नै देखिन्छ ।’

मेरो कोठाबाट निस्कने बेलामा भनेको थियो । उसको कुराले म त एकदमसित रोमाञ्चित भएकी थिएँ, चोर देख्न पाइने भो भनेर ।
भोलिपल्ट आखत हेर्ने काम सम्पन्न भएको थियो । कोठाभरि चोखो पानी छर्कियो । सिरानीमुनि राखेको चामलले मलाई छुवाउँदै रूपकले भनेको थियो, ‘यो बाहिरको मान्छेले लगेको रै’छ । भित्रको मान्छे होइन ।’

‘बाहिरको मान्छे त कोही आएकै छैन । बाहिरकै चोर आएको भए यो घर्रामा अरू चाँदी पनि थिए, त्यो पनि लग्नुपर्ने नि !’
‘अब आखतमा त्यस्तै देखिन्छ त म के भनूँ ?’
उसको अनुहार अचानकसँग परिवर्तित भएको देखेर पनि नदेखेझैं गर्दै भनेँ, ‘जसले लगे पनि त्यो मान्छेलाई अप्ठ्यारो परेरै त लग्यो होला । त्यो सुनको जरुरी मलाईभन्दा त्यो चोर्ने मान्छेलाई थियो । मैले त्यत्तिकै राखिरहेकी थिएँ । त्यो मान्छेलाई काम पर्यो  होला लग्यो ।’

○○○

केही दिनपछि नै मैले सुनको कुरा बिर्सिएँ । सुन हराएपछि रूपक मकहाँ पहिलेजस्तो दिनहुँ आउन छोड्यो । रूपकको अनुपस्थितिमा शून्य लाग्थ्यो । मनमनै अचम्म मानिबस्थेँ म । जुनसुकै बेला ऊ आउँँछु भनेपछि अधैर्य भएर पर्खन एकदमै मज्जा लाग्थ्यो । मलाई नरमाइलो लागेको थियो ।

‘तिमीसँग त अब सुन पनि छैन । किन आउनु तिम्रो कोठामा ?’ रूपक यसै भन्थ्यो मसँग । म फिस्स हाँसिदिन्थेँ मात्र ।

यी कुरा सम्झँदै गर्दा कतिखेर आँसु रोकिएछन् कुन्नि ! भोक पो बिछट्टले लाग्दै थियो मलाई ।

Skip This
Logo