जया ओझालाई ७ प्रश्न

जया ओझालाई ७ प्रश्न

केन्द्रबिन्दु
0
Shares

कलाकारिता, शिक्षण र लेखनमा जया ओझाको विशिष्ट पहिचान छ । पहिल्लो समय शिक्षण र लेखनमा सक्रिय ओझाले ‘आवरण’ नामक उपन्यास लेखेकी छिन् । रोडियो नाटक तथा चलचित्रको स्क्रिप्ट लेखनमा समेत सक्रिय उनले अपराध, शंका, परिबन्ध लगायतका टेलिचलचित्रमा अभिनय गरेकी छिन् । उनै ओझासँग हामीले पुस्तक पठनका विषयमा केन्द्रित रही ७ प्रश्न सोधेका छौँ ।

१) तपाईंले पछिल्लो पटक कुन पुस्तक पढ्नुभयो ?

सुशीला पौडेलको उपन्यास तृषा मैले केही समयअघि पढी भ्याएँ ।

२) तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

पुस्तककी लेखिका सुशीलाजीसँग परिचय गीतकार संघमा भएको थियो । पछि शिखा बुक्सबाट उहाँले उपन्यास प्रकाशन गर्ने सोच बनाउनुभएको रहेछ । फिडब्याकका लागि मलाई पाण्डुलिपी पढ्न दिनुभएको थियो । पाण्डुलिपी हेर्न खासै समय दिन सकिन, पुस्तक प्रकाशित भएपछि राम्रोसँग पढ्छु भन्ने लागेको थियो उतिबेला । त्यसैले पुस्तक प्रकाशित हुनासाथ पढेँ ।

३) उक्त पुस्तकको सार के पाउनुभयो ?

पाश्चात्य सोचको प्रभावमा बढेको प्रेम सम्बन्धको नराम्रो परिणाम । हिजोआजका युवकले यौन चाहना र आर्थिक आवश्यकता पूरा गर्न विवाहित महिलालाई सहजै सिकार बनाउँछन् भन्ने उपन्यासको सन्देश छ ।

४) उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

हतपती मेरो मनलाई कुनै पनि कुराले छोइहाल्न सक्दैन । तैपनि कता कता अलिअलि केही सोचचाहिँ त्यो उपन्यासकी पात्र नै हो र उसको मनोदशा ।

५) पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो वा पुस्तकको कमजोरी के पाउनुभयो ?

मैले पाण्डुलिपी पढेपछि पनि यही कुरा भनेकी थिएँ । यो विषयमा राम्रो कथा हुन सक्छ, राम्रो उपन्यास हुन सक्दैन । यसको कमजोर पक्ष भन्नु नै झिनो कथावस्तुलाई जबरजस्ती तन्काउनु हो । थोरै पात्र, थोरै घटना र सीमित परिवेश छ जसले गर्दा केही नपुगेको हो कि भन्ने भान हुन्छ ।

६) यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

१२ जति दिन्छु । सम्पादन पक्ष राम्रो छ ।

७) हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

राम्रो भएर पनि सबै पुस्तक चर्चामा आउँदैनन् । चर्चामा आउने सबै पुस्तक उत्कृष्ट हुँदैनन् । चर्चा र पुरस्कारप्राप्तिको हिसाबले मात्र पुस्तक नपढ्नु होला । कुन पुस्तकले नेपाली साहित्यमा एउटा इट्टा थप्न सक्छ त्यस्ता कृतिलाई पनि पढ्नु उपयुक्त होला । यसमा पनि हरेक पाठकको रुचि र स्वभाव फरक हुने भएकाले अरूले भनेका आधारमा भन्दा आफ्नो रोजाइलाई प्राथमिकता दिनु जाती हुन्छ ।

Skip This
Logo