स्थानीय निर्वाचन: यी चार युवा जो पुगे पालिकाको कार्यकारी पदमा (भिडियाे)

स्थानीय निर्वाचन: यी चार युवा जो पुगे पालिकाको कार्यकारी पदमा (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

स्थानीय निर्वाचनको मतगणना जारी छ । देशभरका ७ सय ५३ पालिकामध्ये ६ सय पालिकाको नतिजा आइसकेको छ । नतिजा आएको पालिकामध्ये केही पालिकामा रोचक नतिजा आएको देखिन्छ ।

यो निर्वाचनको नौलो पक्ष के भने यो निर्वाचनबाट ४ जना ३० वर्ष मुनिका युवाहरू पालिका प्रमुखको रूपमा निर्वाचित भएका छन् । डडेलधुरामा २८ वर्षीय युवा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् भने पूर्वी नवलपरासीमा २८ वर्षे इञ्जिनयर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै पर्सामा २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने सर्लाहीमा २२ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

कालिमाकाईमा २१ वर्षे वशिष्ठ बने गाउँपालिका अध्यक्ष

पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचन लडेका वशिष्ठकुमार कलवाललेक नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मतको झिनो अन्तरले पराजित गरेका हुन् । वशिष्ठले ३ हजार ७ सय १९ मत ल्याए भने अजयले ३ हजार ६ सय ५ मत प्राप्त गरे । 

एमबिएको तयारीमा रहेका वशिष्ठकुमार जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा हुन्। उनी अहिले २१ वर्ष २ महिना मात्रै पुगेका छन् । 

२०७४ सालको निर्वाचनमा यो पालिकामा नेपाली जनता दलका नाथुनीप्रसादले अध्यक्ष जितेका थिए भने तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)ले उपाध्यक्ष जितेको थियो। अध्यक्ष नाथुनीप्रसादको कोरोनाका कारण निधन भएको थियो। 

रामनगरमा २२ वर्षे राजाबाबु बने गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले आफ्नै काकालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । संविधानसभा सदस्य शिवपुजन राय यादवका छोरा राजाबाबु बुबाको विरासत सम्हाल्न राजनीतिमा होमिएका हुन् । काठमाडौंमा बीबीएस पढिरहेका उनलाई बुबाले गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिन लगाएका थिए । 

बुलिङटारमा २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा २८ वर्षीय दीपेन्द्र सुनारी मगर अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले कांग्रेसका शशी किरण बस्ताकोटीलाई १ सय ५९ मतले पराजित गरेका हुन् । सुनारीले ४ हजार ५९ मत प्राप्त गरेका छन् भने बस्ताकोटीले ३ हजार ९०० मत ल्याए । बस्ताकोटी अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । 

२०४८ सालदेखिको लगातार स्थानीय निर्वाचन जित्दै आएको कांग्रेसको गढ तोड्दै बुलिङटाङटारमा २८ वर्षीय युवाले अध्यक्षमा निर्वाचित भएका हुन् । 

गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । दीपेन्द्रले काठमाडौंको थापाथली इञ्जिनियरिङ क्याम्पसबाट मेकानिकल इञ्जिनियरिङ गरेका छन् भने चीनको हाउझोङ युनिभर्सिटीबाट मेकानिकल इञ्जिनियरिङमै मास्टर्स गरेका छन्। 

पढाइका क्रममा गाउँ भन्दा टाढा बस्दै आएका दीपेन्द्रका लागि कोरोना भाइरसको महामारी गाउँमा समय बिताउने अवसर बन्यो । सोही क्रममा उनले गाउँको समस्या बुझ्ने मौका समेत पाए । उनको बुबा २०५४ र २०७४ मा वडा अध्यक्ष उठे पनि पराजित भएका थिए । बुवाकै कारण राजनीतिमा होमिएका उनलाई कोरोना महामारीको बहाना बन्यो गाउँको नेतृत्व सम्हाल्ने । 

परशुराममा २८ वर्षे युवा बने मेयर

डडेलधुराको परशुराम नगरपालिकाको प्रमुखमा २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छन्। कांग्रेसको तर्फबाट उम्मेदवार भएका उनले ५ हजार ९४१ मत ल्याएर माओवादी केन्द्रका शेरसिंह माललाई पराजित गरेका हुन् । मालले ५ हजार ८०५ मत प्राप्त गरेका थिए ।  

नगर प्रमुखमा विजयी भएर जोशीले युवा नेतृत्व स्थापित गरिदिएका छन्। कांग्रेसको १४ औँ महाधिवेशनबाट नगरपालिकाको सभापतिमा समेत निर्वाचित भएका जोशी पार्टीको नगरको निर्वाचनमा पूर्व जिल्ला उपसभापति धर्मनन्द भट्टलाई पराजित गरेका थिए। 

वायुमण्डली भौतिक शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका जोशीले काम गरेर देखाउने प्रतिबद्धता गरेका छन्। कोरोनाकालमा मात्रै चीनबाट गाउँ फर्किएका जोशीले सन् २०१६ देखि २०१९ सम्म चीनमा अध्ययनरत थिए। उनले नगरपालिकामा सामाजिक र पूर्वाधार विकासको एजेन्डा अघि सारेका छन्। उनी २०६८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको सदस्य समेत भएका थिए।  

 

Logo