फोहोर फाल्न मिल्ने बन्याे, बन्चरेडाँडा

फोहोर फाल्न मिल्ने बन्याे, बन्चरेडाँडा

केन्द्रबिन्दु
0
Shares

केही समयदेखि फोहोर व्यवस्थापनको समस्या झेलिरहेको काठमाडौं उपत्यकाको फोहोर अब बञ्चरेडाँडामा फाल्न मिल्ने भएको छ। काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित बन्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्यान्डफिल साइटको सेल–१ निर्माण सम्पन्न भएकाले बञ्चरेडाँडामा अब फोहोर विसर्जन गर्न सकिने जनाइएको छ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट आयोजनाका प्रमुख कुमार घिमिरेले सेल–१ सञ्चालन गर्न सकिने गरी तयारी पूरा भएको बताए।

धादिङ र नुवाकोट जिल्लाको सीमानामा पर्ने बञ्चरेडाँडामा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको ल्यान्डफिल साइटमा सेल–१ बाट निस्किने दूषित पानी जम्मा हुने ट्याङ्की निर्माणको काम सम्पन्न भएसँगै अब फोहोर व्यवस्थापन गर्न मिल्ने शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले सेल वान सञ्चालनमा ल्याउन सकिने गरी तयारी पूरा भएको बताएको छ।

काठमाडौं उपत्यकामा फोहोर उठन नसकेपछि दीर्घकालिन फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइटलाई तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि विभागले तत्काल काठमाडौं महानगरपालिकासँग समन्वय गरी बन्चरेडाँडामा डिजाइन अप्रेसन म्यानुअलअनुसार फोहोर व्यवस्थापन गर्न तयारी थालेको छ।

फोहोर व्यवस्थापन गर्दा डिजाइन अप्रेसन म्यानुअलअनुसार मात्र गर्नुपर्नेमा जोड दिँदै उपमहानिर्देशक घिमिरेले भने,– ‘वैज्ञानिक प्रविधिको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्दा बन्चरेडाँडामा ४० वर्षसम्म फोहोर विर्सजन गर्न सकिन्छ।’

काठमाडौंबाट करिब २ घण्टाको दूरीमा रहेको ल्यान्डफिल साइट हाल फोहोर विर्सजन गरिँदै आएको सिसडोल नजिकै निर्माण भइरहेको छ। निर्माणाधीन ल्यान्डफिल साइटबाट स्थानीयवासीमा दुर्गन्ध फैलिन नदिन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको बताइएको छ।

यस्तो छ फोहोर व्यवस्थापन गर्ने विधि

काठमाडौं उपत्यकामा संकलन गरिएको फोहोर बोकेर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा पुगेको गाडीको निरीक्षण र तौल मापन गरी सो गाडीमा रहेको फोहोरको तौल यकिन गरेर अनलोडिङ गर्ने स्थलबाट सेल वानमा फोहोर विसर्जन गरिन्छ। खसालिएको फोहोरलाई ल्यान्डफिल क्षेत्रमा रहेको डोजरले मिलाएर खाँद्ने काम गरिन्छ र अन्तिममा १५ सेन्टिमिटर बाक्लो माटोले सो फोहोरलाई पुर्ने काम गरिन्छ।

यसले फोहोरलाई अन्यत्र छरिनबाट रोक्नुका साथै फोहोरबाट निस्कने दुर्गन्धलाई समेत काम गर्न मद्दत गर्छ। फोहोर कुहिने क्रममा निस्कने दूषित पानीबाट माटो तथा भूमिगत पानी प्रदूषित हुनबाट रोक्न ल्यान्डफिल क्षेत्रको जमिनमा पानी छिर्न नसक्ने गरी ५० सेन्टिमिटर मोटाइको माटो खादिएको छ । सो भन्दामाथि १ दशमलव ५ मिलिमिटर मोटाइको प्लास्टिक बिच्छयाइएको छ। उक्त दूषित पानी ल्यान्डफिल क्षेत्रमा राखिएको पाइपमार्फत संकलन भई ल्यान्डफिल क्षेत्रमा रहेको लिचेड ट्याङ्कीमा जम्मा हुनेछ।नेपाल समाचारपत्रबाट

Logo