बाँदरले गरायो उठिबासः एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित

बाँदरले गरायो उठिबासः एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित

केन्द्रबिन्दु
0
Shares

बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन्।

भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदरले खेतीपाती मात्र होइन, भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थालेपछि दशरथचन्द नगरपालिका–८, धौल्याली गाउँका टेकराम टमाटा, चन्द्री टमाटा र शिवराम टमाटा लगायत दर्जनौँ परिवार भारत पलायन भएका हुन्।

बाँदर आतङ्कका कारण दशरथचन्द नगरपालिका–५,को पल्लाचौडाली वडा नम्बर ८ को धौल्याली, साङडी, पुजरगाउँ र वडा नम्बर १० को भटाला, झाका, बुड्डा, खडेनी, तिर, लगायतका गाउँबाट करिब एक हजार पाँच सयभन्दा बढी परिवारले गाउँ छाडेर हिँडेका छन्। यही कारण दशरथचन्द नगरपालिकाका पाँचवटा विद्यालय विद्यार्थी संख्या नपुग्दा बन्द भएको दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोसन नाथले बताए।

बाँदर आतङ्कका कारण गाउँलेहरु परिवारसहित विस्थापित भएपछि दशरथचन्द नगरपालिका–८, मा रहेका रणशैनी आधारभूत विद्यालयमा छ जना विद्यार्थी र आठ जना शिक्षक छन्। विद्यार्थी संख्या कम भएपछि उक्त विद्यालय जगदम्बा मावि रानी मुङ्गामामा समाहित भएको नाथले बताए। उनले भने, “विद्यार्थी संख्या नहुँदा शिक्षकले मात्र तलब खाएर बस्नुपर्ने भएपछि उक्त विद्यालय समायोजन गरिएको छ।”

शिक्षा शाखा प्रमुख नाथका अनुसार दशरथचन्द नगरपालिका–१०, को शान्तिप्रकाश आधारभूत विद्यालय, रणशैनी आधारभूत विद्यालय र ज्ञानेश्वर आधारभूत विद्यालय अन्य विद्यालयमा गाभिएका छन्। त्यस्तै वडा नम्बर ६ को जगन्नाथ आधारभूत विद्यालय, दनपा– ८, को रणसैनी आधारभूत विद्यालय र त्रिपुरासुन्दरी आधारभूत विद्यालय समायोजन भएका छन्।

भारतबाट हजारौँ सङ्ख्यामा हरिद्वारका बाँदर नेपाली सीमा नजिक झुलाघाटमा ल्याएर छाड्ने गरिएको छ। भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको मजिर काँडा ग्राम पञ्चायतको पूर्व सभापति सुरेन्द्र आर्यका अनुसार राज्य सरकारले राति राति गाडीका गाडी बाँदरहरु ल्याएर झुलाघाटको जङ्गलमा छाड्ने गर्छ। ‘‘यो खासमा नेपालको समस्या हैन”, उनले भने, ‘‘यो चुनौती हाम्रो चुनौती हो।” राज्य सरकारले राति सुतेका बेला गाडीका गाडी ल्याउँछ। नेपालको वैतडी र भारतको पिथौरागढ जिल्लाको सीमा जोडिएको छ।

बाँदरले दुःख दिन थालेपछि दशरथ चन्द नगरपालिका–१० बुड्डा गाउँका २० परिवारले गाउँ छाडेको स्थानीय स्वास्थ्य स्वयंसेविका मञ्जु चन्दले बताइन्। बाँदरकै कारण आफूले विगत दुई वर्षदेखि खेतीपाती गर्न छोडेको चन्दले बताइन्।

हरिद्वारका बाँदरले गाउँमा लगाएको खेतीपाती सखाप पार्न थालेपछि हुनेखानेहरु तराईतिर झरेको र गरिब बिपन्न परिवार भारत गएपछि स्थानीय कैलपाल आधारभूत विद्यालयमा विद्यार्थी नहुँदा स्कुल बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक लक्ष्मण थापाले बताए।

बाँदरका कारण दरशथ चन्द नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र १० को गाउँका किसानले खेतीपाती लगाउन छोडेर परिवार बसाइँ सर्न थालेपछि दशरथ चन्द नगरपालिकाले बाँदर धपाउन १० लाख रुपियाँ बजेट खर्च गरेको उपप्रमुख मीना चन्दले बताइन्। उपप्रमुख चन्दले भनिन्, “बाँदर धपाउन १० लाख बराबरमा मेसिन ल्यायौं तर भगाउन सकेका छैनौं।”गाेरखापत्रबाट

Logo