पाइलटलाई पखाला लागेपछि निगमको दुबई उडान रद्द

पाइलटलाई पखाला लागेपछि निगमको दुबई उडान रद्द

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौँ–दुबई–काठमाडौँको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् ।

निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ ।

शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को-पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो ।

तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को-पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए। अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए ।

निगम स्रोतका अनुसार, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौँका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौँ आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ ।

निगम प्रवक्ता अर्चना खड्काका अनुसार, शनिबार राति ११:३० बजेको रद्द उडान आरए२२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौँ र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले बताइन् ।

अस्वस्थता कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौँ स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले बताए ।

Logo