रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

केन्द्रबिन्दु
0
Shares

त्रिवेणी (रुकुमपश्चिम)। राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड स्तरोन्नतिको कामले तीव्रता पाएको छ। राजमार्गअन्तर्गत जिल्लाका विभिन्न तीन ठाउँमा सडक स्तरोन्नति जारी छ। यसअघि मुख्य सडकखण्डअन्तर्गत पर्ने राजमार्ग स्तरोन्नति नहुँदा यातायातका साधनलाई समस्या हुने गरेको थियो।

राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका-४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताए। उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालेपत्र गरिएकाले यातायातका साधनलाई सहज भएको पुनले बताए।

‘पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन आवजजावत गर्न मिलेको छ, स्तरोन्नतिका काम बाँकी रहेका ठाउँमा केही समस्या भए पनि स्तरोन्नति भएका ठाउँमा सहज भएको छ’, उनले भने।

राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुमपश्चिमको मुसीकोट नगरपालिका-४ सोलावाङबाट शीतलपोखरीसम्म छ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म छ किलोमिटर गरेर २२ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए।

उनका अनुसार काम सञ्चालन भएका तीनवटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र आवश्कता भएमा सडक चौडा बनाउने काम भइरहेको छ । राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न कन्टेक निर्माण सेवा प्रालिले रु २१ करोडमा सम्झौता गरेको छ । उक्त सडकखण्डको विसं २०७८ चैत १७ गतेदेखि काम सुरु भएको हो। सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख शर्माले जानकारी दिए।

उक्त सडकखण्ड विसं २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ। त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका-४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म छ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ । विसं २०७९ फागुनदेखि यती बिल्डर्स निर्माण कम्पनीले सडक निर्माणको काम सुरु गरेको थियो। उक्त निर्माण कम्पनीले हालसम्म ७० प्रतिशत भौतिक प्रगति देखिएको छ। सडकखण्ड स्तरोन्नतिका लागि रु २१ करोडमा जिम्मा पाएको निर्माण कम्पनीले उक्त सडकखण्ड आगामी वर्षको भदौ मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ।

जिल्ला सदरमुकाम नजिकसमेत रहेको मुसीकोट नगरपालिका-४ शीतलपोखरीबाट सोलावाङसम्मको छ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली निर्माणको काम जारी छ। उक्त सडकखण्डको निर्माण गर्न प्यागोडा निर्माण कम्पनीले रु छ करोडमा ठेक्का लिएको छ। सो सडकखण्डको ५० प्रतिशत भौतिक प्रगति भएको र विसं २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहेको चौरजहारी सडक डिभिजन कार्यालयले जनाएको छ।

Logo